09 Ashwin, 2080 / 26 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

पत्रपत्रिकाबाट


 परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता


काठमाडौं, १५ चैत । परराष्ट्रमन्त्री डा नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच श्रीलंकाको राजधानी कोलम्बोमा भेटवार्ता भएको छ ।

बिमस्टेक मन्त्रीस्तरीय बैठकको साइडलाइनमा उनीहरुले भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री खड्का बिमस्टेकको १८औं मन्त्रीस्तरीय बैठकमा सहभागी हुन सोमबार कोलम्बो पुग्नु भएकाे हाे ।

भेटवार्तामा अप्रिल १ बाट सुरु हुने प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारीका विषयमा छलफल भएको परराष्ट्रले जानकारी दिएको छ ।


प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङ यी बीच भेटवार्ता

प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङ यी बीच भेटवार्ता



काठमाडौं, १३ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र  चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटावार्ता भएको छ  ।  

चिनियाँ विदेशमन्त्रीलाई भेट्न प्रचण्ड मेरियट होटलमा पुगेका हुन् । प्रचण्ड मेरियट पुग्दा पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र यीबीचके भेट चलिरहेको थियो ।

तीन दिने नेपाल भ्रमणमा नेपाल आएका यीले यसअघि आइतरबा नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए । 


मिलनबिन्दु भेटाउन प्रचण्डलाई सकस

मिलनबिन्दु भेटाउन प्रचण्डलाई सकस


सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आइतबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक एकाएक स्थगित भयो । आन्तरिक गृहकार्य नपुगेको भन्दै बैठक स्थगित गरेर सोमबार बस्ने सूचना माओवादीले जारी गर्‍यो । 

बैठक स्थगित गरेर विभिन्न विषयमा सहमति जुटाउने प्रयास अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिरहेका छन् । तर, सहमति जुटाउन उनी असफल भएका छन् । नेताहरूको व्यवस्थापन तथा समितिलाई समावेशी बनाउने गृहकार्य गरिरहेका अध्यक्ष प्रचण्डले अझै सहमतिको मिलनबिन्दु भेटाउन नसकेको माओवादी स्रोतको दाबी छ ।

शुक्रबारदेखि सुरु भएको बैठकमा एमसीसी, पदाधिकारी चयन, केन्द्रीय समितिलाई पूर्णता दिने, स्थायी समिति गठन, पोलिटब्युरो, नेताहरूको जिम्मेवारी बाँडफाँट, स्थानीय तहको निर्वाचनलगायतका विभिन्न एजेन्डामा छलफल भइरहेको छ । यी एजेन्डामा सहमति जुट्न नसकेपछि शनिबार र आइतबार बैठक बस्न सकेन ।

 

‘एमसीसी प्रचण्ड कमरेडका लागि गलपासो भएको छ । पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो समितिका साथै जिम्मेवारी बाँडफाँटमा अझै सहमति जुट्न सकेको छैन । उहाँ सहमतिमै अगाडि बढ्न खोजे पनि सबैको चित बुझाउन नसक्ने अवस्था छ, प्रचण्ड कमरेड अहिले धेरै तनावमा हुनुहुन्छ,’ माओवादी केन्द्रका एक नेताले भने । आजको राजधानी दैनिकमा समाचार छ ।


माओवादी केन्द्रको बन्दसत्र आजबाट

माओवादी केन्द्रको बन्दसत्र आजबाट



काठमाडौं, १२ पुस । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गतको बन्दसत्र आजबाट सुरु हुँदै छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवन कमलादीमा बिहान ११ बजेदेखि बन्दसत्र सुरु हुने माओवादी नेता जनार्दन शर्माले जानकारी दिए ।

आइतबार प्रज्ञा भवनमै माओवादीको महाधिवेशनको उदघाटन समारोह सम्पन्न भएको थियो । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदनहरु पेस हुने र ती प्रतिवेदनहरुमा समूहगत छलफल हुने छ । समूहगत छलफलका लागि महाधिवेशन प्रतिनिधिहरुलाई २० भन्दा बढी समूहमा बिभाजन गर्ने तयारी छ ।


माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले पारित गरेको विधानमा १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव छ । एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहने प्रस्तावलाई महाधिवेशनले अनुमोदन गर्नेछ ।

राजनीतिक र विधान पारित भएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । माओवादी केन्द्रको अध्यक्षमा निर्विकल्प प्रचण्ड नै दोहोरिने निश्चित छ । अन्य पदहरुमा भने आकांक्षी धेरै छन् । सकेसम्म सहमतिमा नभए निर्वाचनबाट कार्यसमिति चयन गर्ने माओवादीको तयारी छ ।


एमसिसी अस्वीकार गरे वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

एमसिसी अस्वीकार गरे वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी


अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससिसी) की उपाध्यक्ष फतिमा सुमारले नेपालले एमसिसी अनुदान अस्वीकार गरे वैदेशिक सहयोग रोकिने चेतावनी दिएकी छन्। नेपालमा एमसिसी आयोजनाबारे चर्को विवाद भइरहेको बेला गत बिहीबार नेपाल आएकी सुमारले मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसिए) का पदाधिकारीसँगको छलफलमा यस्तो चेतावनी दिएकी हुन्। आफ्नो चारदिने भ्रमणमा सुमारले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दल एमालेका नेता केपी शर्मा ओलीलगायत सबै दलका प्रमुखसँग छलफल गरेकी थिइन्। यही क्रममा एमसिसी आयोजना अगाडि बढाउने जिम्मेवारी लिएको संस्था एमसिएका पदाधिकारीसँगको छलफलमा सुमारले नेपाली नेताहरूले अमेरिकालाई खेलाचीका रूपमा लिएको भन्दै आक्रोश पोखिन्।

उक्त छलफलमा सहभागी एक अधिकारीका अनुसार करिब आधा घण्टा धाराप्रवाह बोलेकी सुमारले एमसिसी अनुदान अस्वीकार गरे नेपालले आगामी दिनमा वैदेशिक ऋण र अनुदान प्राप्तिमा समस्या भोग्नुपर्ने चेतावनी दिएकी थिइन्। ‘नेपालले अहिलेसम्म कसरी र कुन स्रोतबाट वैदेशिक सहयोग लिएको छ’, प्रश्न गर्दै सुमारले भनिन्, ‘कुल वैदेशिक सहयोगको ६० प्रतिशतभन्दा धेरै हिस्सामा प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पार्न सक्ने हैसियत अमेरिकासँग छ।’

उपाध्यक्ष सुमारले विश्व बैंक र अमेरिकाको सम्बन्ध के हो, एसियाली विकास बैंकलगायत अन्य दातृ निकाय र संस्थामा अमेरिकाको पहुँच कस्तो छ भन्दै अमेरिकाले चाहे नेपालले लिँदै आएका अधिकांश सहयोगमा तत्कालै प्रभाव पार्न सक्ने बताइन्।

 

यो समाचार आजको नागरिक दैनिकमा छ ।


कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन


आगामी वर्ष कतारको दोहामा आयोजना हुने विश्वकप फुटबललाई मध्यनजर गरेर कतार सरकारले कतार प्रहरीमा नेपाली युवालाई काम दिने घोषणा गरेपछि अहिले म्यानपावर व्यवसायीबीच पैसाको चलखेल तीव्ररूपमा अगाडि बढेको छ ।

कतारको गृह मन्त्रालयले झन्डै १० हजारको संख्यामा नेपाली युवालाई ५ वर्षका लागि कतारमा काम दिने घोषणा गरेपछि म्यानपावर व्यवसायीले करिब ३ सय युवालाई कतार प्रहरीमा काम दिलाइदिने भन्दै मनपरी शुल्क असुलेर त्यता पठाइसकेका छन् ।

सरकारले विदेशमा कामदार पठाउँदा १० हजारभन्दा बढी शुल्क लिन नपाउने बताए पनि अहिले म्यानपावर कम्पनीलाई १२ लाख रुपियाँसम्म तिरेर युवाहरू कतार पुगेका छन् ।

काठमाडौंको लाजिम्पाटस्थित अल ताक्वेत ओभरसिज नेपालले अहिले कतार प्रहरीमा काम गर्न जान चाहनेसँग अन्तर्वार्ता लिइरहेको जानकारी प्राप्त भएको छ । सो म्यानपावर कम्पनीले एजेन्टमार्फत पैसा उठाएर गोप्यरूपमा अन्तर्वार्ता लिइरहेको र कम्पनीले प्रतिव्यक्ति १० देखि १२ लाख रुपियाँ उठाइरहेको एक पीडित युवाले नेपाल समाचारपत्रलाई बताएका छन् । तर, नेपाल सरकारले भने चर्को शुल्क असुलेर नेपाली युवालाई कतार पठाउँदा समेत वास्ता गरेको छैन ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ । 


सत्ता गठबन्धन बैठक :  टुङ्गाे लागेन मन्त्रिपरिषद् विस्तार

सत्ता गठबन्धन बैठक : टुङ्गाे लागेन मन्त्रिपरिषद् विस्तार



काठमाडौं, २७ भदौ । सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको हो ।
नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले मन्त्रिपरिषद् विस्तारको विषयमा केही टुङ्गो नलागेको बताए । महामन्त्री खड्काले बैठकमा अध्यादेश, मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भएको बताए । 
उनका अनुसार बैठकमा सैद्धान्तिक विषयमा सहमति भए पनि प्राविधिक विषयमा टुङ्गो लाग्न बाँकी छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेता सहभागी थिए । 


बिपी कोइरालाको १०८औँ जन्मजयन्ती

बिपी कोइरालाको १०८औँ जन्मजयन्ती


काठमाडौं, २४ भदौ ।  प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०८औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ। नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो।

जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो। निर्वासनमै बिपीले भारतको स्वतन्त्रता सङ्ग्राममा भाग लिनुभयो। भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उनी त्यो आन्दोलनमा सक्रिय भएका हुन्। 

भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासनको अन्त गर्न विसं २००३ मा बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भयो। प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्णशम्शेरको नेतृत्वमा विसं २००६ मा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसका बीच एकता भएपछि विसं २००७ को क्रान्ति सफल भयो।

क्रान्तिको सफलतापछि मोहनशम्शेरको नेतृत्वमा बनेको राणा–कांग्रेस सरकारमा बिपी गृहमन्त्री बने। विसं २०१५ को आमनिर्वाचनमा कांग्रेसले दुईतिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे। प्रधानमन्त्रीत्वकालमा उनले बिर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम लागू गराए।

विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो। एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा सारियो।

विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताए। भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठवटा ज्यान मुद्दाको पर्वाह नगरी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनी स्वदेश फर्किए। उनले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ।


कांग्रेस संसदीय दलको बैठक बस्दै

कांग्रेस संसदीय दलको बैठक बस्दै


काठमाडौं, २२ भदौ । सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसदको हलमा काँग्रेसको संसदीय दलको बैठक आव्हान गरिएको संसदीय दलका सचेतक पुष्पा भुषालले जानकारी दिइन् ।
बैठकमा भोलि बस्न लागेको संसद अधिवेशन, बजेट, अध्यादेशलगायतका विषयमा छलफल हुने जनाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि भदौ २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आव्हान गरेकी छन् ।


काठमाडौं उपत्यकामा 'रेकर्ड ब्रेक वर्षा' : जमिनले सोस्न नभ्याउँदा बाढी

काठमाडौं उपत्यकामा 'रेकर्ड ब्रेक वर्षा' : जमिनले सोस्न नभ्याउँदा बाढी


काठमाडौं उपत्यकामा सोमबार बिहान १ बजेदेखि ८ बजेर ४५ मिनेटबीचको समयमा १ सय २१ दशमलब ५ मिलिमिटर वर्षा भएको छ। मौसमविद्ले यसलाई रेकर्ड ब्रेक वर्षा भनेका छन्। सेप्टेम्बर महिनामा काठमाडौंमा सरदर १ सय ९९ दशमलब ८ मिलिमिटर वर्षा हुन्छ तर यसपटक एकै दिन १ सय २१ दशमलब ५ मिलिमिटर वर्षा भएको छ। ‘यो भनेको ऐतिहासिक वर्षा हो। यस्तो वर्षा बिरलै हुन्छ’, वरिष्ठ मौसमविद् निराजन सापकोटाले भने। काठमाडौंमा यसअघि २००८ को सेप्टेम्बर १२ मा ८४ दशमलब ३ मिलिमिटर वर्षा भएको थियो। सेप्टेम्बर मनसुन कम्जोर हुँदै अन्त्य हुने महिना हो। बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावासँग स्थानीय तहबाट विकसित भएको वायु मिसिएपछि भारी मात्रामा वर्षा भएको मौमसविद्ले जनाएका छन्। सोमबार बिहान मेघ गर्जनसहित वर्षा भएको थियो। मनसुन सुरु हुने बेला र सकिने बेला चट्याङ पर्ने र हावाहुरी आउने मौसमविद् बताउँछन्। एउटा मनसुन प्रणाली सकिएर अर्को मनसुन प्रणाली सुरु हुँदा पनि चट्याङ पर्ने गर्छ। आइतबार रातिबाट नयाँ मनसुन प्रणाली सुरु भएको मौसमविद्को भनाइ छ।

भारी मात्रामा वर्षा हुँदा काठमाडौंका नदी खोलामा सोमबार बिहान बाढी आयो। ‘काठमाडौंको जमिनले पानी सोस्न भ्याएन’, वरिष्ठ मौसमविद् सापकोटाले भने, ‘त्यसपछि पानी ओभर फ्लो भई बाढी आयो।’ काठमाडौंको अधिकांश भूभाग घरले ढाकेको, बाँकी भाग पनि पिच सडक तथा ढलान गरिएको हुँदा जमिनले पानी सोस्न नसकेको वातावरणविद्हरूको तर्क छ।

यो समाचार आजको नागरिक दैनिकमा छ ।



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom