20 Baishak, 2081 / 2 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

राजनीति


लोकसेवाको विज्ञापनमा ४५ प्रतिशत सभावेशी हुनुपर्छ, करारमा कर्मचारी नराख : कांग्रेस

लोकसेवाको विज्ञापनमा ४५ प्रतिशत सभावेशी हुनुपर्छ, करारमा कर्मचारी नराख : कांग्रेस


काठमाडौं, जेठ ३० । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लोकसेवाको विज्ञापनमा ४५ प्रतिशत समावेशी हुनुपर्ने र करारमा कर्मचारी नराख्ने पक्षमा पार्टी रहेको बताएको छ । बिहिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले संविधानअनुसार लोक सेवाको विज्ञापन ४५ प्रतिशत सभावेशी हुनुपर्ने र करारमा कर्मचारी राख्ने पक्षमा पार्टी नरहेको बताएका हुन् । 

प्रवक्ता शर्माले भने, ‘करारले भविष्यमा समस्या निम्त्याउँछ, कर्मचारी लोक सेवाबाट नै राख्नुपर्छ तर त्यसका लागि विज्ञापन समावेशी हुनुपर्यो ।’ उनले स्थानीय तहका लागि आयोगले जेठ १५ मा गरेको विज्ञापन समावेशी नभएकोले रद्द गर्ने पक्षमा पार्टी रहेको बताए ।

लोक सेवा आयोगको विज्ञापन स्थगित गर्न लगाएर पार्टीहरूले निर्वाचित जनप्रतिनिधिका भाई, भतिजा, छोराछोरी, आफन्त र आसेपासे करारमा राख्न लागेको आरोप लागेका बेला कांग्रेसले करारको पक्षमा पार्टी नरहेको बताएको हो ।

आयोगले स्थानीय तहका लागि पदपूर्ति गर्न नौ हजार एक सय ६१ आवेदन मागेकोमा अहिलेसम्म करिब एक लाखले आवेदन दिइसकेका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले आयोगको विज्ञापन समावेशी नभएको देखिएकोले स्थगित गर्न निर्देशन दिएको छ भने तत्काल कर्मचारी आवश्यक परे करारबाट लिन सकिने भनेको छ । आयोगको विज्ञापनलाई निरन्तरता दिनुपर्ने र रद्द गर्नुपर्नेमा मत बाझिएका छन् । यसैक्रममा कांग्रेसले समावेशी नभएको विज्ञापन रद्द गर्न आयोगलाई आग्रह गरेको हो । 


संविधान संशोधन नभए सडक संघर्षमा उत्रने राजपाको चेतावनी

संविधान संशोधन नभए सडक संघर्षमा उत्रने राजपाको चेतावनी


काठमाडौं, जेठ ३० । राजपाका सांसद लक्ष्मणलाल कर्णले संविधान संशोधन र संविधान कार्यान्वयनमा सरकार प्रतिवद्ध नभए संसद छोडेर सडक संघर्षमा उत्रने चेतावनी दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् ।  

संविधान संशोधनको माग गर्नेहरु अहिले सरकारमा पनि र प्रतिपक्षमा पनि रहेको भन्दै उनले विगतको प्रतिवद्धतालाई नभुल्न चेतावनी दिए । उनले भने, ‘हामीलाई संसदबाट नधकेल्नुस् । हामी संसद बाहिर जाँदाको समयको याद होला तपाईलाई ? यही ठाउँबाट हामी गएका हौं बाटोमा । फेरि हामी बाटोमा गयौं भने यो देशको स्वास्थ्य राम्रो रहन नसक्ला भन्ने म चिन्ता जाहेर गर्न चाहन्छु । सरकारलाई अबिलम्ब यसबारेमा चिन्तन गर्न र अन्य पार्टी पनि सरकारमा खुसी भएर नबस्नुहोस् यो विषयमा तपाईहरु पनि अगाडि बस्नुहोस् भन्ने अनुरोध गर्न चाहन्छु ।’

काठमाडौको माईतीघर मण्डलामा दिनहुँ आन्दोलन र जुलुश भईरहेको भन्दै उनले संविधानको कार्यान्वनयमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराए । उनले सरकार र संबैधानिक निकायले संसदको मर्यादा र गरिमाको उपहास गर्ने काम गरेको आरोप लगाए । संसदको गरिमा कायम नहुने र सांसदको आवाजको सुनुवाई नहुने हो भने संसदमा उभिएर बोल्नुको अर्थ नरहेको भन्दै उनले संसद र संसदिय समितिका निर्देशन पालना गरेर संसदको मर्यादा र गरिमा कायम राख्न आग्रह गरे । 

त्यसैगरी, सांसद कर्णले लोकसेवा आयोगले खुलाएको विज्ञापनसम्बन्धमा आयोगले संसदीय समितिको निर्देशनलाई नमानेको भन्दै आपत्ति जनाएका छन् । उनले भने, ‘समितिको निर्देशनलाई आयोगका अध्यक्षले मान्दिन भनिरहेका छन् । यो संसदको उपहास हो कि होइन ? संसदले निर्देशन जारी गर्ने सरकारले नमान्ने, सम्बन्धित मन्त्रीले पनि नमान्ने, लोकसेवा आयोग पनि नमान्ने भन्या छ भने लोकसेवा आयोग माथि अर्को कुनै संस्था छ कि यही संसद हो ? यही संसदले निगरानी गर्ने बाहेक अन्य कुनै संस्था बन्या छ ?’ संविधान प्रदत्त अधिकारको माग गर्दा दिनहुँ लाठी चार्ज गर्ने गरिएको भन्दै उनले ‘संविधानलाई के बनाउन खोजेको’ भनी प्रश्न गरे । 


सङ्घीय सरकारको निर्णयबाट सुरक्षाकर्मी हटाइएयो

सङ्घीय सरकारको निर्णयबाट सुरक्षाकर्मी हटाइएयो


विराटनगर, जेठ ३० । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय सरकारको पत्रअनुसार अतिविशिष्ट व्यक्तिको मृत्युपश्चात निवासमा रहेका सुरक्षाकर्मी हटाउने निर्णयअनुसार विराटनगरस्थित कोइराला निवासमा रहेका सुरक्षाकर्मी हटाएको बताएका छन् ।

प्रदेश नं १ प्रदेशसभाको विभिन्न मितिमा सदस्यहरूले शून्य समयमा राखेका सार्वजनिक महत्वको प्रश्नको जवाफ दिँदै उनले स्व गिरिजाप्रसाद कोइरालाको निवासको महत्वलाई ध्यानमा राखी विशिष्ट व्यक्तिका लागि आवश्यक सुरक्षा कायम राख्न आवश्यक नीति तर्जुमा गर्ने र सुरक्षाकर्मी राख्ने सोच प्रदेश सरकारले बनाएको जानकारी दिए ।

कानूनमन्त्री कार्कीले इटहरी महानगरपालिकाका प्रमुखको घटनाबारे प्रदेश सरकार जानकार रहेको उल्लेख गर्दै सबैको पहलबाट समस्या समाधान भएको र आगामी दिनमा यस्ता घटना पुनः दोहोरिन नदिन सरकार सचेत रहेको बताए ।

उनले धरान क्षेत्रमा फैलिएको डेङ्गु नियन्त्रण गर्न प्रदेश सरकारले आवश्यक व्यवस्था मिलाएको र अन्य क्षेत्रमा फैलिन नदिनका लागि सम्पूर्ण संयन्त्र प्रयोग गरेको जानकारी दिए । यो रोगबाट पीडित बिरामीलाई निःशुल्क उपचारको व्यवस्था प्रदेश सरकारले मिलाएको उनले जानकारी दिए ।

यसअघि शून्य समयमा प्रदेशसभा सदस्यहरूले झापाको १० निर्वाचत क्षेत्रमा सांसद तथा प्रदेश निर्वाचन विकास कोषबाट १४९ योजनामा उल्लेखनीय कार्य भइरहेको, मोरङको केराबारी राजमार्ग आसपासमा डेङ्गु नियन्त्रणमा ध्यान दिनुपर्ने, वैज्ञानिक वनको नाममा ६३ स्थान अवैध फडानीलाई रोक्नुपर्ने, मोरङको खोलामा ६७ हजार ९० घनमिटर खोला उत्खनन गर्ने स्वीकृति पाएकामा एक लाख ५२ हजार मिटर भएकाले आवश्यक छानबिन गर्नुपर्ने माग गरेका थिए ।

यसैगरी मेचीको कचनवलमा भारतीय पक्षले दशगजा क्षेत्रमा सडक निर्माण गर्दा नेपाली क्षेत्र डुबान भएको, मेची नदीको कटानबाट स्थानीय बासिन्दा विस्थापित हुने भएकाले नदी नियन्त्रण गर्नुपर्ने, प्रादेशिक यौन हिंसा नियन्त्रण कानून ल्याउनुपर्ने, सडक सुशासनअन्तर्गतका सडकको अनुगमन गर्नुपर्ने, सङ्घीय सरकारको सडकलाई प्रदेश सरकारले आवश्यक मर्मत गर्न बजेटमा सम्बोधन गर्नुपर्ने, असिनापानीबाट घरबारविहीन भएका ताप्लेजुङका २९२ परिवारलाई आवश्यक राहत उपलब्ध गराउनुपर्ने उनीहरूले माग गरेका थिए ।
 


व्यवस्थित गर्ने नाममा प्राधिकरणको नाम दिएर निजी गुठीलाई नियन्त्रण गर्न खोजियो : सांसद सिंह 

व्यवस्थित गर्ने नाममा प्राधिकरणको नाम दिएर निजी गुठीलाई नियन्त्रण गर्न खोजियो : सांसद सिंह 


काठमाडौं, जेठ २९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले सरकारले गुठीलाई व्यवस्थित गर्ने नाममा प्राधिकरणको नाम दिएर निजी गुठीलाई नियन्त्रण गर्न खोजेको भन्दै आपत्ति जनाएका छन् । आज प्रतिनिधिसभा बैठक सुरु हुनासाथ प्रतिपक्षी कांग्रेसका सांसदहरुले उठेर विरोध गरेपछि सभामुख कृष्णबहादुर महरालले सांसद सिंहलाई बोल्न समय दिँदा उनले यस्तो आपत्ति जनाएका हुन् । 

आफ्नो धारणा राख्दै नेता सिंहले संविधानले समेत निजी सम्पत्ति, गुठी, संघ–संस्थालाई जोगाउने ग्यारेन्टी गरेको भए पनि सरकारले आगामी दिनमा निजी सम्पत्तिलाई राज्यको नियन्त्रणमा राख्ने प्रयास गरेको बताए । सरकारले ल्याएको गुठी विधेयकले गुठीको मूल मर्ममा प्रहार गरेको भन्दै सांसद सिंहले गुठी विधेयक तत्काल फिर्ता लिएर सरोकारवालाहरुसँगको छलफल पछि मात्र ल्याउन आग्रह गरे ।


राजपाले लोकसेवा आयोगलाई समेत विज्ञापन खारेज गर्न दियो दबाब

राजपाले लोकसेवा आयोगलाई समेत विज्ञापन खारेज गर्न दियो दबाब


काठमाडौं, जेठ २९ । राष्ट्रिय जनता पार्टी नेपालले स्थानीय तहमा कर्मचारी नियुक्तिका लागि खुलाइएको विज्ञापन तत्काल खारेज गर्न लोकसेवा आयोगलाई समेत दबाब दिएको छ । उक्त विज्ञापन रद्द गर्न संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले आयोगलाई दिएको निर्देशनको समर्थन गर्दै राजपाले दबाब दिएको हो । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राजपाका नेता अनिलकुमार झाले सो विज्ञापन तत्काल खारेज गर्न आयोगसँग आग्रह गरेका हुन् ।

सो विज्ञापन खारेज नगरे त्यसले सरकार, देश, व्यवस्था र मुलुकको अवस्था कसैलाई पनि फाईदा नगर्ने नेता झाको भनाई छ । उनले संविधानले जनजाति, दलित, मधेशी, महिला, पिछडिएका क्षेत्रलाई आरक्षणको व्यवस्था गरेपनि त्यसअनुसार सो विज्ञापन नखुलाइएकाले आफ्नो पार्टीले विरोध गर्नुपरेको बताए । उनले समावेशी सिद्धान्तमा आधारित रहेर सो विज्ञापन पुनःखुलाई आवश्यक व्यवस्था मिलाउनसमेत सरकारको ध्यानाकर्षण गराए । 


लोकसेवाको विज्ञापन खारेज नगर्न भन्दै साझा विवेकशील पार्टी उत्रियो सडकमा

लोकसेवाको विज्ञापन खारेज नगर्न भन्दै साझा विवेकशील पार्टी उत्रियो सडकमा


काठमाडौं, जेठ २९ । लोक सेवा आयोगको विज्ञापन खारेज नगर्न भन्दै यतिबेला साझा विवेकशील पार्टी सडकमा उत्रेको छ । संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले लोक सेवा आयोगले स्थानीय तहका लागि हालै गरेको विज्ञापन रद्द गर्न आयोगलाई दिएको निर्देशनविरुद्ध उक्त पार्टी आज सडकमा उत्रेको हो ।

आज राजधानीको माइतीघरमा आयोजित विरोध प्रदर्शनमा पार्टीका संयोजक रवीन्द्र मिश्रले भने, ‘आउनुस् घरमा स्टाटस लेखेर बस्ने र हामीलाई सुन्ने साथीहरू, यो विषय हाम्रो छोराछोरीसँग जोडिएको हो ।’ उनले राज्य व्यवस्था समितिले दिएको निर्देशन जायज रहेको कटाक्ष गर्दै संवैधानिक निकाय लोक सेवा आयोगलाई सो निर्देशन नमान्न सबैले दबाब दिनुपर्ने आग्रह गरे । उनले समितिले दिएको निर्देशन आयोगले मान्नु पर्ने बाध्यता नरहेको पनि प्रष्ट पारे । 

पार्टीले मंगलबार पनि समितिले दिएको निर्देशनविरूद्ध विरोध प्रदर्शन गरेको थियो । साथै, पार्टीले संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिसँग उक्त विज्ञापन रद्द गर्न दिएको निर्देशन तत्काल फिर्ता लिन माग गरेको छ । 

आयोगले पाँच सय १५ स्थानीय तहका लागि नौ हजार एक सय ६१ पदमा आवेदन खोलेको थियो । सोहि विज्ञापनलाई लिएर समितिले गत सोमबार मन्त्री लालबाबु पण्डितसँगको छलफलपछि विज्ञापन रोक्न निर्देशन दिएको थियो । संसद् सचिवालय सिंहदरबारमा बसेको बैठकले आयोगको विज्ञापन समावेशी र समानुपातिक सिद्धान्त विपरीत रहेको ठहर गर्दै रोक्न निर्देशन दिएको थियो । 


विद्यालय जागिर खाने ठाउँ होइन, देश बनाउने ठाउँ हो : शिक्षामन्त्री पोखरेल

विद्यालय जागिर खाने ठाउँ होइन, देश बनाउने ठाउँ हो : शिक्षामन्त्री पोखरेल


खोटाङ, जेठ २८ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालय जागिर खाने ठाउँ नभई देश बनाउने ठाउँ भएको बताएका छन् ।

कतिपय शिक्षक विद्यालयलाई जागिर खाने थलोको रूपमा मात्र लिएर विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने गरेको भन्दै उनले सिकाई केन्द्रित भएर विद्यालयमा काम गर्न शिक्षकलाई निर्देशन दिए ।

खोटाङको रावाबेँसी गाउँपालिका–२ खार्पास्थित शारदा माध्यमिक विद्यालयको ६७औँ वार्षिकोत्सवको उद्घाटन कार्यक्रममा सोमबार उनले विद्यार्थीमा भएको प्रतिभा प्रस्फुटित गराउने काम शिक्षकको भएको बताए । ‘सबैभन्दा राम्रा मान्छे शिक्षण पेशामा आउने हो’, उनले भने, ‘सक्नुहुन्छ भने शिक्षण पेशा गर्नुहोस्, यदि सक्नुहुन्न भने शिक्षण पेशा छाडेर अन्य पेशा अपनाउनुहोस् ।’

विभिन्न कार्यक्रमका लागि आफ्नो गृहजिल्ला खोटाङ आएका शिक्षामन्त्री पोखरेलले शिक्षकले विद्यार्थीको भविष्यमाथि खेलवाड गर्नु भनेको देशमाथि खेलवाड गर्नु भएकाले सबै शिक्षकले ध्यान दिनुपर्ने बताए । ‘अबको शिक्षा सीपयुक्त शिक्षा हुनेछ’, उनले भने, ‘१२ कक्षा उत्तीर्ण गरेका विद्यार्थीले कम्तीमा एउटा पेशा अँगाल्न गक्नेगरी सीप हासिल गराउने योजनामा सरकार लागिपरेको छ ।’

शिक्षामन्त्री पोखरेलले परम्परागत शिक्षाले देशमा बेरोजगार मात्र उत्पादन गरेको भन्दै सरकारले पछिल्लो समय प्राविधिक शिक्षामा जोड दिएको बताए । उनले भने, ‘आगामी दिनमा विद्यार्थीको इच्छा, चाहना र क्षमताको आधारमा अध्ययन गराउने गरी शिक्षा योजना बनाउने काम भइरहेको छ ।’

आफ्नो क्षेत्रमा सञ्चालित विद्यालयमा रिक्त रहेका शिक्षक पदपूर्ति गर्दा शिक्षक सेवा आयोग उत्तीर्ण गरेका व्यक्तिलाई मात्र भर्ना गर्न उनले स्थानीय सरकारलाई आग्रह गरे । 

देशमा राहत शिक्षकको पनि महत्वपूर्ण योगदान रहेको उल्लेख गदै उनले राहत शिक्षकका लागि निश्चित मापदण्ड बनाएर स्थायी गर्ने प्रक्रियामा लाने तयारी गरिएको बताए । शिक्षामन्त्री पोखरेल आज दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा स्थापना गरिएको महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालयको उद्घाटन कार्यक्रममा सहभागी हुनेछन् ।


चन्द समूहमा विश्वकर्माको ‘हाबी’

चन्द समूहमा विश्वकर्माको ‘हाबी’


काठमाडौं, जेठ २७ । नेत्रविक्रम चन्द समूहको दोस्रो वरीयताका नेता हुन्– खड्गबहादुर विश्वकर्मा । ठीक ढंगले काम नगरेको भन्दै केही समय पार्टीको आन्तरिक निगरानीमा परेका विश्वकर्मा अहिले फेरि प्रवक्ताका रूपमा बाहिर देखापरेका छन् ।

पार्टीभित्र उनको यस्तो पकड छ कि महासचिव चन्दसमेत गुमराहमा परेका छन् । जसकारण पार्टीमा असन्तुष्टि चुलिँदै गएको छ । भ्रातृ संगठनहरूमा विश्वकर्माको पकड छ ।

उनले मुख्य नेतृत्वलाई गुमराहमा राखेर एकलौटी ढंगले पार्टीका गतिविधि चलाएको र फरक मत राख्नेलाई सफायाको नीति लिएको एक पोलिटब्युरो सदस्यले बताए । ‘नेतृत्वलाई गुमराहमा राखेर जुनसुकै संगठनलाई भताभुंग बनाएका छन्,’ ती सदस्यले भने, ‘जसले उहाँ (विश्वकर्मा) सँग बोल्ने आँट गर्छ वा फरक मत राख्छ, या त पार्टी छोड्न बाध्य हुनुपर्छ या कारबाही भोग्नुपर्छ ।’

तीन साताअघि विश्वकर्माले पार्टीभित्र पर्याप्त छलफल नगरी राजधानीमा विस्फोटको योजना बनाउँदा क्षति बेहोर्नुपरेको भन्दै अहिले चन्द समूहमा असन्तुष्टि चुलिएको छ । गत वर्ष राजधानी छिर्ने क्रममा पक्राउ परेपछि उनले वार्तामार्फत अघि बढ्ने रणनीति बनाए । यस विषयमा नेतृत्वसँग भने छलफल गरेका थिएनन् ।

आफ्नै मर्जीमा उनले तत्कालीन पोलिटब्युरो सदस्य पदम राईलाई वार्ताका लागि गोप्य रूपमा परिचालन गरे । नेताहरूका अनुसार विश्वकर्माले आफू पक्राउ परेका बेला सभामुख कृष्णबहादुर महरालाई भेट्न राईलाई पठाएका थिए । सरकारले गठन गरेको सांसद सोमप्रसाद पाण्डे नेतृत्वको समूहसँग पनि वार्ताका लागि केही नेता पहँुचमा पुगे ।

सरकारी टोलीसँग वार्ताका लागि आफ्ना नेता परिचालन गरेको बारे चन्दलाई विश्वकर्माले सूचना दिएका थिएनन् । चन्दले राई वार्तामा परिचालित भएको थाहा पाएपछि पोलिटब्युरोबाट कारबाही गरे ।

राईबारे हाइकमान्डलाई विश्वकर्माले सूचना नदिएकै कारण उनी पार्टी छाडेर हिँड्ने अवस्था आएको भन्दै विवाद भइरहेको छ । राई नेकपा प्रवेश गरिसकेका छन् ।

‘राईजस्ता कैयौं इमानदार साथी पाखा लाग्दै गएका छन्,’ ती नेताले भने, ‘यसले पार्टीलाई ठूलो क्षति भयो, कार्यकर्ताको मनोबल पनि घट्दै गएको छ ।’ विश्वकर्माले विद्यार्थी, मजदुर, युवा, जनस्वास्थ्यकर्मी, पत्रकारलगायत संगठनको नेतृत्वमा आफ्नो इच्छाअनुसारका व्यक्तिलाई ल्याएका छन् । विगतमा सशस्त्र विद्रोहमा सामेल भएकालाई पाखा लगाएर शान्तिवार्तापछि पार्टी प्रवेश गरेकालाई विश्वकर्माले अघि बढाउन खोजेको बुझाइ पार्टीभित्र छ ।

‘महासचिवले पार्टीका संगठनदेखि आर्थिक जिम्मेवारी प्रवक्ताज्यूलाई छोड्नुभएको छ,’ एक नेताले भने, ‘त्यसको गलत फाइदा उनले उठाएका छन् ।’ गत वर्ष दाङ महाधिवेशनमा युद्धकालीन कार्यकर्ता पाखा लगाएर चिरञ्जीवी ढकाललाई अध्यक्ष बनाइएपछि विद्यार्थी संगठनमा विवाद छ । विश्वकर्माले ढकालमार्फत काठमाडौं विश्वविद्यालय एकाइको मात्र नेतृत्व गरेका आफ्ना छोरा नरेन्द्रलाई सिधै केन्द्रीय कोषाध्यक्ष नियुक्त गर्न लगाएको एक विद्यार्थी नेताले बताए ।

विद्यार्थीको उपत्यका इन्चार्जसमेत रहेका अध्यक्ष प्रत्याशी दीपेन्द्र चलाउनेलाई भूमिकाविहीन बनाइयो । कनिष्ठलाई नेतृत्व दिइएको भन्दै जनयुद्धकालदेखि विद्यार्थी संगठनमा काम गरेका सुनीता बम, गणेश रैकाललगायत नेता बाहिरिएको खबर आजको कान्तिपुर दैनिकमा छ । विश्वकर्माले पत्रकार संगठनभित्र पनि फरक मत राख्नेलाई पार्टी सदस्यतासमेत नरहने गरी कारबाही गरे ।

जनयुद्धदेखि पार्टीसँग आबद्ध पत्रकार जन्मदेव जैशी, प्रभात चलाउने, बाबुराम भुसाल, कमल बुढा र सुदीप बर्देवालाई कारबाही गरे । शान्तिवार्तापछि जोडिएका प्रकाश डुम्रेलाई अध्यक्ष र हिम विष्टलाई महासचिव नियुक्त गरे । त्यसपछि असन्तुष्ट पत्रकारले डिल्लीराज रावतको नेतृत्वमा समानान्तर कमिटी गठन गरे ।

‘कम्युनिस्ट पार्टीको सिद्धान्तअनुसार स्पष्टीकरण, निलम्बन अनि कारबाही गर्ने चलन छ,’ ती सदस्यले भने, ‘साथीहरूलाई प्रक्रिया नपु¥याई सिधै कारबाही गरियो ।’ त्यसैगरी मजदुर संगठनमा उनले मोहन वैद्य र चन्द नफुट्दैदेखि हस्तक्षेप गरेको आरोप छ । मजदुर संगठनका अध्यक्ष अमर झाँक्री रहेपनि उनले प्रेम दर्नालमार्फत अघोषित रूपमा कार्यक्रम सञ्चालन गर्दै आएका छन् । हाल झाँक्रीलाई सरुवा गरिएको छ । संगठन पनि निष्क्रियजस्तै छ ।

विश्वकर्माले जनस्वास्थ्य संगठनअन्तर्गत बुद्धिजीवी फाँटमा टीका कँडेललाई अध्यक्ष बनाए । अध्यक्ष डम्बर रावललाई पाखा लगाएर उनले कँडेलको नाम सिधै स्थायी कमिटीबाट अनुमोदन गर्न लगाए । ‘बृद्धिजीवी फाँटसमेत चलाउन नसकेका कँडेललाई ल्याएर जनस्वास्थ्यको अध्यक्ष बनाए,’ पार्टीका एक केन्द्रीय सदस्यले भने, ‘कँडेलबाहेक कोही छैन भने र महासचिवलाई गलत ब्रिफिङ गरेर विश्वकर्माजीले अध्यक्ष बनाए ।’

त्यसपछि युद्धकालमा जनस्वास्थ्यकर्मीको उपाध्यक्षसमेत रहेका प्रमोद योगीले समानान्तर कमिटी गठन गरे । त्यसैगरी दलित मोर्चामा समेत उनले अध्यक्ष डम्बर नेपालीविरुद्ध उचाले रकाम गर्न नदिएको ती सदस्यले आरोप लगाए ।


सरकार कुहिरोको कागजस्तै भएको छ : नेता पौडेल

सरकार कुहिरोको कागजस्तै भएको छ : नेता पौडेल


काठमाडौं, जेठ २६ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार कुहिरोको कागजस्तै भएको आरोप लगाएका छन् । नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानअन्तर्गत तनहुँ जिल्लामा सञ्चालित पहिलो चरणको एक महिने कार्यक्रमको शनिबार दमौलीमा समापन गर्दै वरिष्ठ नेता पौडेलले त्यस्तो आरोप लगाएका हुन् ।

नेता पाडेलले सरकारले विकासको प्राथमिकता छुट्याउन नसकेको बताएका छन् । विकास र समृद्धिको मेरुदण्ड लोकतन्त्र र सुशासन भएको भन्दै उनले अहिले देशलाई लोकतन्त्र र सुशासनको आवश्यकता परेको बताए । साथै, कांग्रेसको नीतिले गर्दा मुलुक आज यो अवस्थामा आइपुगेकोसमेत उनले बताए । 

गाउँमा नै बसौँबसौँ बनाउने कांग्रेसको अभियान अझै पूरा हुननसकेको बताउँदै उनले गाउँमै रोजगारी र आम्दानीको अवसर सिर्जना गर्न सके मानिस गाउँबाट पलायन नहुने विचार राखे । जनतालाई साथमा लिएर कांग्रेसले भ्रष्टाचार र कुशासनविरुद्धको आन्दोलन शुरु गर्ने बताउँदै पौडेलले त्यसका लागि जनता जागरुक हुनुपर्ने बेला आएको बताए । उनले भने, ‘दोस्रो चरणको अभियान प्रचारमुखी होइन, संगठनमुखी हुनुपर्छ, तल्लो तहदेखि नै कांग्रेसलाई मजबुत बनाउने सशक्त अभियान दोस्रो चरणमा आउँदैछ ।’

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले देशको नेतृत्व गर्न सक्ने सक्षम पार्टीको रुपमा कांग्रेस पुनःजीवित हुने दाबी गरे । बैशाख २५ गतेदेखि शुरु भएको जागरण अभियानअन्तर्गत तनहुँका १० स्थानीय तहमा कार्यक्रम सम्पन्न भएको थियो । 

त्यसैगरी, कार्यंक्रममा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले सरकारले जनाताको अभिमतको कदर गर्न नसकेको बताए । कांग्रेसले सञ्चालन गरेको एक महिने राष्ट्रिय जागरण अभियानको बागलुङमा शनिबार समापन गर्दै इतिहासमै बढी जनमत प्राप्त गरेको सरकारले मतको सदुपयोग गर्न नसकेको आरोप लगाए । पूर्व वनमन्त्रीसमेत रहेका भण्डारीले सरकारको गतिविधिको कारण लोकतन्त्र खतरामा परेको जिकिर गरे । नेपालमा समृद्धि आउन नदिने शक्तिबाट सरकार परिचालित भएको उनको दाबी थियो । 

जागरण अभियानका लागि केन्द्रीय प्रतिनिधिको रूपमा एक महिनाका लागि बागलुङ आएका भण्डारीले जिल्लामा घुम्दा बागलुङ जिल्ला कृषि, पर्यटन, जलविद्युत्को प्रशस्तै सम्भावना रहेकाले त्यसको सदुपयोग गर्न सके स्थानीयस्तरमै रोजगारी सिर्जना हुने विचार व्यक्त गरे । 

कांग्रेसको बैशाख २५ गते देशभरि एकसाथ शुरु भएको जागरण अभियान शनिबार सरकारविरुद्ध प्रदर्शन गर्दै समापन भएको छ । पहिलो चरणको एक महिने जागरण अभियानका क्रममा जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएर टोलस्तरसम्म भेला, सदस्यता वितरण, प्रशिक्षण, अभिलेख संकलन, पार्टीका अग्रजको सम्मान, शहीदका घर परिवारसँग भेटघाट र सुझाव संकलन गरेको छ ।
 


कैलाली र कञ्चनपुरका हावाहुरीपीडितको राहतमा जुट्न कांग्रेसको आग्रह

कैलाली र कञ्चनपुरका हावाहुरीपीडितको राहतमा जुट्न कांग्रेसको आग्रह


काठमाडौं, जेठ २४ । नेपाली कांग्रेसले कैलाली र कञ्चनपुरका हावाहुरीपीडितको राहत र उद्धारमा जुट्न आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्तिमार्फत बिहीबार साँझ कैलाली र कञ्चनपुरमा आएको हावाहुरीका पीडितको राहत र उद्धारमा नेता तथा कार्यकर्तालाई जुट्न आग्रह गरेका हुन् । 

हावाहुरीका कारण दुई जनाको मृत्यु र एक सयभन्दा बढी व्यक्ति घाइते, अङ्गभङ्ग तथा भौतिक संरचनाको क्षति एवं जनजीवन प्रभावित भएको घटनाप्रति कांग्रेसले दुःख व्यक्त गरेको छ । प्राकृतिक विपद्का कारण अकालमै निधन भएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति कांग्रेसले समवेदनासमेत प्रकट गरेको छ । 

त्यसैगरी, कांग्रेसले विपद्मा परी घाइते भएकालाई तत्काल उद्धार गरी आवश्यक सम्पूर्ण उपचारको व्यवस्था गर्न र अकालमा ज्यान गुमाएका पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । पार्टीले सञ्चालन गरेको ‘हिमाल, पहाड तराई–मधेश राष्ट्रिय जागरण अभियान’ जेठ २५ मा समापन गर्ने केन्द्रको परिपत्र भए पनि कैलाली र कञ्चनपुरमा हावाहुरीका कारण हुन पुगेको मानवीय र भौतिक क्षतिको संवेदनशीलतालाई आत्मासात् गर्दै समापन कार्यक्रमभन्दा राहत र उद्धारमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ ।