20 Baishak, 2081 / 2 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

राजनीति


उपराष्ट्रपति पुन स्वदेश फिर्ता

उपराष्ट्रपति पुन स्वदेश फिर्ता


काठमाडौं, जेठ १८ उपराष्ट्रपति नन्दबहादुर पुन अष्ट्रियाको भियनामा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी ‘आर–२० अष्ट्रियन विश्व सम्मेलन’मा सहभागी भइ आज स्वदेश फर्किएका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई सभामुख कृष्णबहादुर महरा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले स्वागत अभिवादन गरेका थिए ।

उपराष्ट्रपति पुनको स्वागतका लागि नेपाल सरकारका उच्च पदस्थ अधिकारी र सुरक्षा निकायका प्रमुख विमानस्थल पुगेका थिए । सो अवसरमा उपराष्ट्रपतिको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मानगारत अर्पण गरेको थियो ।    

अष्ट्रियामा रहँदा उपराष्ट्रपति पुनले त्यहाँका विशिष्ट व्यक्तिहरुसँग भेटघाट गर्नुका साथै इन्सब्रुकमा आयोजित सगरमाथा दिवस कार्यक्रममा सहभागी भएका थिए । सो सम्मेलनमा सहभागी हुन उनी यही जेठ १२ गते  त्यसतर्फ प्रस्थान गरेका थिए ।

भ्रमण टोलीमा धर्मपत्नी हस्तमाली पुन, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत सहभागी रहेको थियो।


केपी ओलीले नै पाँच वर्षसम्म सरकार चलाउनुहुन्छ : अध्यक्ष प्रचण्ड

केपी ओलीले नै पाँच वर्षसम्म सरकार चलाउनुहुन्छ : अध्यक्ष प्रचण्ड


धरान, जेठ १८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरण ताका भएको गोप्य सहमतिलाई मिडियाले फरक ढङ्गले व्याख्या गरिदिएको भन्दैं गुनासो व्यक्त गरेका छन् ।  

सुनसरी क्षेत्र नं–१ का कार्यकता प्रशिक्षण तथा भेटघाट कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले सहमति जे भए पनि सहमतिमै केपी ओली नै पाँच वर्षसम्म सरकार चलाउन सक्ने बताएका हुन् ।

उनले भने, ‘हामी निरन्तर संवादमा छौं । पाँच वर्ष नै केपी जीले सरकार चलाउन सक्नुहुन्छ । सरकार सञ्चालन हामी सहमति गरेर पाँच वर्षसम्म चलाउँछौं । मिडियाका पछि नलाग्न म अनुरोध गर्दछु ।’

उनले करीब पाँच मिनेट मात्र कार्यकर्तालाई सम्बोधन गरेका थिए । अध्यक्ष दाहालले पार्टीका विस्तृत कुरा बुझेर मात्रै धारणा बनाउन कार्यकर्तालाई सुझाएका थिए । सम्बोधनको क्रममा उनले पार्टी एकीकरणका बाँकी रहेका विषयलाई दुई दिनभित्रमा टुङ्ग्याउने पनि जानकारी गराए । किरात राई यायोक्खा सुनसरीको आयोजनामा उभौलीको समापन गर्न धरान आएका अध्यक्ष दाहालले पहिले कार्र्यकर्तासँग १२ बजे भेटघाट गरेर उभौलीको समापन गरेका थिए । 


प्रचण्डलाई ओलीको व्यंग्यात्मक जवाफ : सरकार ४–५ दिनमै ढल्छ

प्रचण्डलाई ओलीको व्यंग्यात्मक जवाफ : सरकार ४–५ दिनमै ढल्छ


काठमाडौं, जेठ १८। प्राय व्यंग्य बिनोदी भावमा प्रस्तुत हुने प्रधानमन्त्री केपी शर्मा ओली यस पटकको यात्रामा खिन्नझैं देखिन्थे ।

प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्डलाई व्य‌ग्यात्मक जवाफ दिएका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको सपथग्रहण समारोहमा भाग लिन दिल्ली ओर्लिएदेखिका २४ घण्टा उनी बढी सोचमग्न देखिए ।

शुक्रबार बिहान बाह्रखम्बास्थित नेपाली दूतावासमा केहीबेर नेपाली संवाददाताहरुसँग कुरा गर्दा पनि उनी गम्भीर थिए । तपाईँको पार्टीमा अर्का अध्यक्ष प्रचण्डले भर्खरै अन्तर्वार्तामा भनेअनुसार त तपाईँको कार्यकाल एक वर्षमात्र बाँकी छ नि भनेर सोधिएको थियो ।

जवाफमा प्रधानमन्त्री ओलीले, ‘मेरो कार्यकाल एक वर्ष हैन, चार–पाँच दिन मात्र बाँकी छ’ उनले व्यंग्यमिश्रित शब्दमा भने । आलोपालो सरकार चलाउने सहमति पूरानै भएको उल्लेख गर्दैै उनले यो कुनै गोप्य दस्ताबेज नभएको उल्लेख गरेको खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रचण्डले एक अन्तर्वार्तामा पार्टी एकीकरणको क्रममा आलोपालो सरकार चलाउने सहमति भएको भन्दै दायाँबायाँ गरिए कोही नटिक्ने बताएका थिए ।


वर्तमान सरकारबाट मुलुक अगाडि बढ्न सक्दैन : डा.भट्टराई

वर्तमान सरकारबाट मुलुक अगाडि बढ्न सक्दैन : डा.भट्टराई


भैरहवा, जेठ १७ । पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालको संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले वर्तमान सरकारबाट मुलुक अगाडि बढ्न नसक्ने बताएका छन् । आज भैरहवामा सामाजवादी पार्टीले आयोजना गरेको प्रदेशस्तरीय अभिमुखीरण कार्यक्रमलाई सम्बोधन गर्नुपूर्व पार्टीद्वारा आयोजित पत्रकार भेटघाटमा उनले मुलुकमा दुई तिहाईको कम्युनिष्ट सरकार भए पनि जनतालाई केही दिन नसकेको भन्दै यस्तो बताएका हुन् ।

नेता भट्टाराईले अहिलेको सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन् । उनले बुढीगण्डकी, बाइडबडी, ललिता निवास जग्गा काण्डलगायतका भ्रष्टचारको उदाहरण दिँदै उनले एकपछि अर्को गर्दै भ्रष्टाचारको सीमा नाघेकोले सरकारले मुलुकमा कुनै पनि ढंगले सुशासन कायम गर्न नसकेको दाबी गरे । अर्कोतिर निर्मला पन्त प्रकरणलगायतका उदाहरण दिँदै उनले सरकारले मुलुकमा शान्तिसुरक्षा समेत कायम गर्न नसकेको आरोप लगाए । 

आफ्नो पार्टी सरकारमा रहे पनि सरकारको खुलेरै विरोध गरेको भन्दै नेता भट्टाराईले आफ्नो पार्टी संघीयता, सुशासन, सम्बृद्धि र समाजवादलाई लिएर वैकल्पिक शक्तिको रुपमा आएको बताएका छन् । साथै, उनले वर्तमान सरकारबाट मुलुक अगाडि बढ्न नसकेको उल्लेख गर्दै दुई तिहाई सरकारले ल्याएका दुबै बजेटबाट आमूल परिवर्तन, आर्थिक सामाजिक रुपान्तरण तथा औद्योगिक क्रान्ति सफल हुन नसक्ने पुष्टि भएको जिकिर गरे ।

त्यसैगरी, नेता भट्टाराईले कांग्रेस र कम्युनिष्ट ब्राण्डका पार्टीले मुलुकका लागि अब केही गर्न नसक्ने टिप्पणी गर्दै ती पार्टीहरुले विश्राम लिनुपर्नेसमेत बताए ।


विराटनगरमा गिरिजाप्रसाद कोइराला संग्रहालय निर्माण हुँदै

विराटनगरमा गिरिजाप्रसाद कोइराला संग्रहालय निर्माण हुँदै


मोरङ, जेठ १६ । मोरङस्थित विराटनगरमा शिखर पुरुष गिरिजाप्रसाद कोइराला संग्रहालय शिलान्यान हुने भएको छ । स्व.गिरिजाप्रसाद कोइरालाको नाममा विराटनगर महानगरपालिका–७ कोइराला निवास क्षेत्रमा संग्रहालय निर्माण हुने भएको हो । 

जिपी कोइराला फाउण्डेशन प्रदेश नं.१ का अध्यक्ष इन्दिरा थापाका अनुसार सो भवन चारतले हुने र यसका लागि सङ्घीय सरकारले ४० लाख,  प्रदेश नं.१ सरकार स्वास्थ्य विभागले २० लाख, विराटनगर महानगरपालिकाले १५ लाख, सामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा विभागले दुई लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । भवन कूल तीन करोड २२ लाख रुपैयाँ लागतमा निर्माण हुने भएको छ ।    

नेपालको प्रजातान्त्रिक आन्दोलनमा अनवरत सङ्घर्ष गरेर देशमा राजनीतिक परिवर्तन गराउन सफल र पटक÷पटक मुलुकको प्रधानमन्त्री बन्न सफल कोइरालाको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय छवि रहेकाले नै सो सङ्ग्रहालयको निर्माण गर्न लागेको जनाइएको छ । विराटनगरलाई कर्मभूमि बनाएर मजदूर आन्दोलनबाट राजनीतिमा होमिएका कोइराला नेपाली काङ्ग्रेस पार्टीका महामन्त्रीदेखि पार्टी सभापतिसम्म बनेका थिए । 

नेपाली राजनीतिको इतिहास बुझ्न र जान्न जो कोहीलाई मद्दत पुग्ने उद्देश्यले सङ्ग्रहालय बन्न लागेको फाउण्डेशनका सदस्य हरिनारायण चौधरीले जानकारी दिए । 

काङ्ग्रेसका केन्द्रीय सदस्य एवं फाउण्डेशनका केन्द्रीय अध्यक्ष सुजाता कोइरालाले निर्माण हुने भवनको आज शिलान्यास गर्दै नेपालमा राजनीतिक चेतना र सामाजिक जागरणमा गिरिजाप्रसाद कोइरालाको भूमिका अग्रणी रहेको बताइन् । 

कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.घनश्यामलाल दास, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, प्रदेश सभासदस्य केदार कार्की र प्राध्यापक कृष्णप्रसाद पोखरेलले कोइरालाको योगदान बारेमा चर्चा गरेका थिए । 
 


ओली सरकार संघीयता विरोधी भएको देउवाको दाबी

ओली सरकार संघीयता विरोधी भएको देउवाको दाबी


काठमाडौं, जेठ १६ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको सरकार संघीयता विरोधी भएको दाबी गरेका छन् । आज आयोजित एक कार्यक्रममा सभापति देउवाले बजेटमा संघीयता प्राथमिकतामा नपरेको भन्दै यस्तो दाबी गरेका हुन् । 

संविधानले प्रदेशमा दिएको अधिकार समेत सरकारले खोस्न खोजेको आरोप लगाउदै सभापति देउवाले भने, ‘ओली सरकार संघीयताकै पक्षमा छैन । संघीयताको विरोधमा छ ।’ उनले ओली सरकार अधिनायकवादी भए अर्को आन्दोलन गर्नुपर्ने अवस्थासमेत आउने बताएका छन् ।


‘कम्युनिष्ट सरकारले संविधान विरोधी काम मात्र गरेको छ’

‘कम्युनिष्ट सरकारले संविधान विरोधी काम मात्र गरेको छ’


रामनारायण यादव
राजविराज, जेठ १० । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधीले दुई तिहाईको कम्युनिष्ट सरकार संविधान विरोधी काम मात्र गरेको आरोप लगाएका छन् ।

सप्तरीको रुपनी गाउँपालिकास्थित कटैयामा शुक्रबार क्षेत्रिय कार्यसमिति चारद्वारा आयोजना गरीएको जागरण अभियानलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले भने ‘सबै परिवर्तन र जनताको आकांक्षा अहिलेसम्म कांग्रेसकै नेतृत्वमा भएको दावी गरे ।’ पार्टीले थालेको जागरण अभियानलाई सफल पार्न मजबुती भएर अघि बढि रहेको बताए ।

नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य डाक्टर लिला संग्रौलाले ओली सरकार काण्डै काण्डमा फसेको बताइन् । उनले भनीन् ‘निर्मला काण्ड, सुनकाण्ड, सबै काण्डहरुको समाधान ओली सरकारले गर्न सकिरहेको छैन ।’ मधेसवादी भनेका दलहरु अब मधेसवादी रहेन, कांग्रेसले नै मधेसका माग अनुसार संविधान संशोधन गराउने बताइन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं अभियानकालागि सप्तरीका केन्द्रीय प्रतिनिधि महेन्द्र यादवले मधेसवादी भनेका दलहरु जनताको लाशमाथि राजनीति गरेर सत्तामा पुगेको आरोप लगाएका छन् । मधेशी नेताहरु मधेसमा आएर पहाडीलाई गाली गर्ने र त्यही नेताहरु पहाडीसँग बसेर सत्तामा लिप्त रहेको बताए ।
लोकतन्त्रसमेत खतरामा रहेकाले आफूहरु लोकतन्त्र जोगाउन फाँसी चढ्नबाट पनि पछाडी नहटने बताए । केन्द्र र प्रदेश २ सरकारका मन्त्रीहरु भ्रष्टाचारमा चुर्लुम डुबेका भन्दै प्रदेश २ मा अझ नाम र राजधानी तोक्न नसकेको बताए ।


भारतमा फेरि मोदीकै वर्चस्व

भारतमा फेरि मोदीकै वर्चस्व


काठमाडौं, जेठ १० । बिहीबार बिहान ८ बजे सुरु मतगणनाको पछिल्लो परिणामअनुसार एनडीएले ३४९ सिट जित्न सफल भएको छ । पाँच वर्षअघि उसले ३३६ सिट जितेको थियो ।

५४३ सदस्यीय लोकसभामा बहुमतका लागि २७२ सिट आवश्यक पर्छ । ११ अप्रिलदेखि १९ मेसम्म सात चरणसम्म चलेको चुनावमा भाजपा एक्लैले ३०० भन्दा बढी सिट जित्न सफल भएको छ । विपक्षी भारतीय राष्ट्रिय नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन ९० र अन्य दलहरूले १०३ सिट जितेका छन् ।

यो चुनावी नतिजासँगै नरेन्द्र मोदी फेरि एकपटक प्रधानमन्त्री बन्ने पक्काजस्तै भएको छ । भाजपा नेतृत्वको एनडीएले ऐतिहासिक जित हासिल गर्दैगर्दा विपक्षी भारतीय राष्ट्रिय कंग्रेसले फेरि एकपटक नराम्रो धक्का बेहोरेको छ ।

पार्टी अध्यक्ष राहुल गान्धी कंग्रेसको गढ मानिँदै आएको उत्तरप्रदेशको अमेठीमा भाजपाकै स्मृति इरानीबाट पराजित भए । यसअघि सोही सिटबाट गान्धी तीनपटक लोकसभाका लागि चुनिएका थिए ।

गान्धी परिवारको परम्परागत सिट अमेठीबाट हारे पनि उनले केरलाको वायनाड सिटबाट भने चुनाव जितेका छन् । अन्तिम चरणको मतदान हुँदासम्म पनि निकै प्रतिस्पर्धात्मक ठानिएको यो चुनावमा एनडीएलाई यो स्तरको जित दिलाउन विहार, गुजरात, कर्नाटक, मध्यप्रदेश, पश्चिम बंगाल, महाराष्ट्र, राजस्थान, उत्तरप्रदेशको नतिजाले महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ । यी ८ राज्यबाट मात्र एनडीएले २६४ सिट जितेको छ ।

राजस्थान र गुजरातमा पाँच वर्षअघि जस्तै शतप्रतिशत नतिजा आएको छ । त्यो मात्र विगतमा खासै प्रभाव नभएका पश्चिम बंगाल, उडिसा र तेलंगनालगायत राज्यहरूमा पनि एनडीएले यसपटक उल्लेख्य सफलता हात पारेको खबर आजको कान्तिपुरले मुख्य पृष्ठमा प्रकाशित गरेको छ ।
राजनीतिक विश्लेषकहरू भाजपा र एनडीएको जितका पछाडि विभिन्न कारण रहेको बताउँछन् ।

राजनीतिक विश्लेषक तथा सञ्चार अध्येता आनन्द प्रदानले भने, ‘यति ठूलो जित पछाडि एउटा मात्र कुरा हुँदैन । हिन्दुत्व र राष्ट्रवाद, राष्ट्रिय सुरक्षा, पाकिस्तान, सरकारका कार्यक्रम, राष्ट्रिय मुद्दा र विपक्षीहरूको कमजोरी सबैको योगदान छ ।’

यस अतिरिक्त चुनावको मुखमा मोदी सरकारले किसानलाई वितरण गरेको अनुदान, विपन्न लक्षित खाना पकाउने ग्यास, घर र शौचालय योजनाले पनि यस्तो नतिजा हासिल गर्नमा त्यतिकै भूमिका खेलेको देखिन्छ । सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमहरूलाई परिचालन गर्ने सवालमा पनि भाजपा अन्य पार्टीभन्दा निकै अगाडि रह्यो ।

पार्टी र सरकारविरुद्ध सामाजिक सञ्जालमा कुनै पनि टिप्पणी देख्नासाथ त्यसविरुद्ध पार्टीको ठूलो पंक्ति खनिन पुग्थ्यो ।
प्रधानमन्त्री मोदीको सार्वजनिक छवि उँचो बनाउन मूलधारका छापामाध्यमदेखि टीभीमा बलिउडका कलाकारलगायत सेलेब्रिटीलाई अन्तर्वार्ता लिन लगाइएको थियो । ती अन्तर्वार्ता मोदी सरकारको पाँचवर्षे शासनभन्दा पनि उनको जीवनशैलीमा ज्यादा केन्द्रित थिए । मोदीलाई आमजनतासँग जोड्न त्यसो गरिएको भाजपाकै नेताहरूले समेत स्विकारेका थिए ।

भाजपाका लागि विपक्षीहरूको कमजोर गठबन्धन र रणनीति पनि अनुकूल साबित भयो । विपक्षीहरूबीच भाजपालाई सत्ता बाहिर राख्नुपर्छ भन्नेमा एकमत भए पनि त्यसअनुरूप सहकार्य र गठबन्धन बन्न सकेन । त्यसको गतिलो उदाहरण हो, उत्तरप्रदेश र दिल्ली । उत्तरप्रदेशमा समाजवादी पार्टी र बहुजन समाज पार्टीले अन्तिम समयमा आएर कांग्रेसलाई गठबन्धन बाहिर राखे । जसले गर्दा भाजपाविरोधी ब्राहमण र मुस्लिम मतदाता विभाजित भए । त्यसको प्रत्यक्ष फाइदा भाजपालाई भयो । दिल्लीमा पनि त्यस्तै भयो ।

दिल्लीको निम्न र मध्यम वर्गमा राम्रो पकड रहेको आमआदमी पार्टी  र कंग्रेसबीच चुनावी तालमेलका लागि लामो समय रसाकस्सी चले पनि अन्तिममा पार्टी अध्यक्ष राहुल गान्धीले चाहँदा चाहँदै पूर्वमुख्यमन्त्री शिला दीक्षितलगायतको असहमतिका कारण गठबन्धन बन्न सकेन ।

यसले भाजपालाई पूरै सातवटा सिट हातपार्न धेरै मिहिनेत गर्नुपरेन । विहारमा कांग्रेसलगायतका विपक्षीबीच गठबन्धन बने पनि त्यसको प्रभाव मतदाताको स्तरसम्म पुग्न पाएन । गठबन्धनमा टिकटबाँडफाँट अपेक्षाकृत सहज नहुँदा त्यसको प्रत्यक्ष लाभ भाजपालाई नै भयो ।

भाजपाले भने एनडीएलाई थप फराकिलो र बलियो बनाउन रणनीतिअनुरूप आफ्ना क्षेत्रीय साझेदार दलहरूको चित्त बुझाउन खुला मन देखाएको देखिन्छ । पाँच वर्षअघि एक्लैले ४० मध्ये २२ सिट जितेकामा यसपटक गठबन्धनलाई एकढिक्का बनाउन भाजपाले १७ सिटमै चित्त बुझाएर अघिल्लो पटक दुई सिट मात्र जितेको मुख्यमन्त्री नितिश कुमारको जनता दल युनाइटेडलाई बराबर १७ सिट दियो । महाराष्ट्रमा पनि भाजपाले यस्तै रणनीति अख्तियार गरेको देखिन्छ ।

चुनाव घोषणा हुनुअघिसम्म पनि शिवसेना प्रमुख उदय ठाकरेले मोदी सरकारविरुद्ध सार्वजनिक रूपमा कडा अभिव्यक्ति दिंदै आएका थिए । तर, बारम्बारको प्रयासपछि भाजपा अध्यक्ष शाह ठाकरेलाई गठबन्धनका लागि मनाउन सफल भए । गठबन्धनमा सहमति भएपछि अघिल्लो चुनावमा ४८ सिटमध्ये भाजपाले २३ र शिवसेनाले १८ सिट जितेका थिए ।

यसपटक शिवसेनालाई फकाउन भाजपाले २५ सिटमा मात्र उम्मेदवारी दिएको थियो ।

मतगणनाको परिणामले पनि उक्त निर्णयसहित साबित गरेको छ । भाजपा–शिवसेना गठबन्धनले ४८ मध्ये ४१ सिट जितेर क्लिनस्विप गरेको छ । कांग्रेसले शरद पवारको राष्ट्रवादी कंग्रेस पार्टीसँगको तालमेल गरे पनि अन्तिम समयमा आएर वञ्चित बहुजन अगाडि ९भीबीए० दलसँग चुनावी गठबन्धन नगर्दा त्यसको ठूलो मूल्य चुकाउनुपरेको छ ।


कार्यकर्ताको हत्या आरोपमा विप्लव समुहद्वारा नेपाल बन्दको घोषणा 

कार्यकर्ताको हत्या आरोपमा विप्लव समुहद्वारा नेपाल बन्दको घोषणा 


काठमाडौं, जेठ ९ । केपी ओली नेतृत्वको सरकारले आफ्नो कार्यकर्ताको हत्या गरेको भन्दै नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जेठ १३ गते नेपाल बन्दसहितको चरणबद्व संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ । महासचिव विप्लवले केपी ओली नेतृत्वको सरकारलाई सामाजिक फाँसीवादी सरकारको संज्ञा दिँदै एक विज्ञप्तिमार्फत यहि जेठ १० र ११ गते भण्डाफोर, कोणसभा, १२ गते देशव्यापी मसाल जुलुस र १३ गते नेपाल बन्द कार्यक्रमको घोषणा गरेको हो ।

भोजपुरको ट्याम्के मैयुम गाउँपालिका–१ स्थित मैयुमडाँडास्थित जङ्गलमा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गत मंगलबार राति भएको गोली हानाहानमा घाइते भएका विप्लव कार्यकर्ता भोजपुरका ३२ वर्षीय तिर्थराज घिमिरेको हिजो मृत्यु भएको थियो । सोहि घटनालाई लिएर प्रहरीले गिरफ्तार गरी आफ्ना कार्यकर्ताको हत्या गरेको भन्दै विप्लव समुहले आज एक विज्ञप्ति सार्वजनिक गरेको छ । 

विप्लवले युवा संगठनका घिमिरेलाई केपी ओली सरकारको ठाडो आदेशमा सुरक्षा फौजले गिरफ्तार गरी दोहोरो भीडन्तको नाममा हत्या गरेको भन्दै आपत्ति जनाएका छन् । साथै, सरकारको मनपरीविरुद्ध सबै क्षेत्रबाट जनआक्रोश देशव्यापी बढिरहेको भन्दै यही अवस्थामा आफ्नो पार्टीप्रति जनताको आकर्षण, विश्वास र भरोसा बढ्दै गएको पनि महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

त्यसैगरी, विप्लवले ओली सरकारको यस्तो निकृष्ट हर्कतको सबै मानवअधिकारकर्मी, नागरिक समाज, पत्रकारले डटेर विरोध गर्नुका साथै तीर्थराज घिमिरेको हत्या घटनाको सत्यतथ्य छानविन गरी सार्वजनिक गर्न माग समेत गरेका छन् ।


मत परिणाम नआउँदै मोदीलाई ओलीको बधाई, भाजपाको अग्रता कायमै

मत परिणाम नआउँदै मोदीलाई ओलीको बधाई, भाजपाको अग्रता कायमै


काठमाडौं, जेठ ९ । भर्खरै सकिएको २०१९ को लोकसभा निर्वाचनको मत परिणाम नआउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । भारतमा भएको लोकसभा निर्वाचनको प्रारम्भिक मतगणनामा भारतीय जनता पार्टी (भाजपा)ले उत्साहजनक मतपरिणाम ल्याएपछि प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई अपराह्न १२ बजेर ३८ मिनेट जाँदा ट्विट गर्दै बधाई दिएका हुन् । 

प्रधानमन्त्री ओलीको ट्वीटमा ‘लोकसभा निर्वाचनमा उत्साहजनक नतिजा हासिल भएकोमा म प्रधानमन्त्री नरेन्द्र मोदीलाई हार्दिक बधाई दिन चाहन्छु, पूर्ण सफलताका साथै आगामी दिनमा तपाईँसँग मिलेर कामगर्न तत्पर छु’, लेखिएको छ ।

चलिरहेको मतगणनाको ताजा अवस्थामा मोदीको दल भाजपाले अग्रता कायम गरेको छ । कूल पाँच सय ४२ संसदीय क्षेत्रमा मोदीको दलले बहुमत हासिल गर्ने देखिएको छ । मतगणनाको अन्तिम नतिजा भने केही समयमा नै सार्वजनिक हुने जनाइएको छ ।