20 Baishak, 2081 / 2 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

राजनीति


राजपाका केन्द्रीय सदस्यद्वय यादव र मण्डललाई कारागार चलान

राजपाका केन्द्रीय सदस्यद्वय यादव र मण्डललाई कारागार चलान


♦ रामनारायण यादव

राजविराज, जेठ ६ । किर्ते उपभोक्ता समिति गठन प्रकरणमा पक्राउ परेका राष्ट्रिय जनता पार्टी (राजपा)का दुई केन्द्रीय सदस्य पुर्पक्षका लागि कारागार चलान भएका छन् । सप्तरी जिल्ला अदालतले राजपाका केन्द्रीय सदस्य बीपी यादव र हरि मण्डललाई सोमबार पुर्पक्षका लागि राजविराज कारागार पठाउन आदेश दिएको हो । 

न्यायाधीश उमेश कोइरालाको इजलाशले उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । त्यसैगरी, सोही प्रकरणमा पक्राउ परेका पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजकुमार गोइत चार लाख धरौटीमा पुर्पक्षका लागि तारेखमा रिहा भएका छन् ।

पक्राउ परेका रुपनी गाउँपालिका वडा नं.६ का रामानन्द ठाकुर र सोही ठाउँका दिलिप दाससँग अदालतले साढे दुई लाख धरौटी माग गरेको छ । उनीहरुमाथि प्रदेश–२ को भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सप्तरी जिल्लामा सञ्चालित योजनाको रकम हिनामिना गरेको गाउँपालिका तथा वडा कार्यालयको लेटरप्याड तथा दस्तखत किर्ते गरी सडक निर्माण उपभोक्ता समिति बनाएको आरोप छ । 

अग्नीसाइर कृष्णासवरण गाउँपालिका २ र ३ मा पर्ने सडकमा माटो तथा ग्राभेल गर्न स्वीकृत २५ लाख रुपैयाँको योजना हिनामिना गरेको, नागरिकतामा समेत केरमेट गरी प्रमुख प्रशासकीय अधिकृत र वडा अध्यक्षहरुको किर्ते हस्ताक्षर गरी किर्ते उपभोक्ता समिति गठन गरिएको प्रहरीको भनाई छ । 


कांग्रेसले गठन गर्यो छाँया सरकार, कसको भागमा कुन मन्त्रालय ?

कांग्रेसले गठन गर्यो छाँया सरकार, कसको भागमा कुन मन्त्रालय ?


काठमाडौं, जेठ ६ । आज प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छाँया सरकार गठन गरेको छ । कांग्रेसका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका ‘जनहित विपरितका कामलाई खबरदारी र निगरानी’ गर्न कांग्रेसले छाँया सरकार गठन गरेको हो । 

सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई समेटेर आज विभिन्न मन्त्रालयको छाँया मन्त्रीको जिम्मेवारी दिएका छन् । देउवाले संसदीय दलको विधानको धारा ९ को उपधारा (५) (क) बमोजिमको छाँया सरकारको रुपमा क्रियाशिल रही कार्य सम्पादन गर्नका लागि मन्त्रालयस्तरीय समन्वय समिति गठन गरेको हो । 

कांग्रेस संसदीय दलले पुस २४ गते छाँया सरकारमा रहन इच्छुक सांसदलाई मन्त्रालय खुलाएर नाम दिन आग्रह गरेको थियो । नाम मागेको पाँच महिनापछि गठन भएको सरकारमा २१ वटै मन्त्रालयपिच्छे संयोजक(मन्त्री) र सदस्यहरु तोकिएका छन् । छाँया सरकारका मन्त्रीहरूलाई आफ्नो मन्त्रालयअन्तर्गत भए गरेका कामकारबाहीको विवरण राखेर त्यसमा भएका गल्ती कमजोरी औंल्याई सार्वजनिक बहसको विषय बनाउने जिम्मेवारी हुन्छ । छायाँ सरकारमा प्रधानमन्त्री भने तोकिएको छैन ।

अधिकांश मन्त्रालय हेर्न एक संयोजक(छाँया मन्त्री) र दुई सदस्य छन् । यी सदस्यले मन्त्रालयले गर्ने कामकारवाही नजिकबाट निहाल्नेछन् र संयोजकलाई जानकारी दिनुपर्नेछ । सबै संयोजकहरुले सभापति देउवालाई संसदीय दलको बैठकमा विवरणबारे बेलाबेला जानकारी गराउनु पर्नेछ । छाँया मन्त्रीकै प्रतिवेदन र विवरणका आधारमा कांग्रेसले दुबै सदनमा सरकारका कामकारबाहीबारे प्रश्न उठाउने तयारी गरेको हो । 

छाँया सरकारमा कसको भागमा कुन मन्त्रायय ? :—

१. उर्जा, जलस्रोत तथा सिंचाई
१) ज्ञानेन्द्र बहादुर कार्की, संयोजक
(२) सत्यनारायण खनाल 
(३) ज्ञानकुमारी छन्त्याल

२. परराष्ट्र मन्त्रालय
(१) नारायण खड्का, संयोजक
(२) अमेरश कुमार सिंह
(३) दिव्यमणी राजभण्डारी

३. अर्थ मन्त्रालय
(१) मिनेन्द्र रिजाल, संयोजक
(२) मीना पाण्डे
(३) विनोदकुमार चौधरी

४. गृह मन्त्रालय
(१) दिलेन्द्रप्रसाद वडू , संयोजक
(२) रमेशजंग रायमाझी 
(३) महेन्द्र कुमारी लिम्वू

५. शहरी विकास मन्त्रालय
(१) उमाकान्त चौधरी, संयोजक
(२) मीनाक्षी झा 
(३) रामबहादुर बिष्ट

६. युवा तथा खेलकुद मन्त्रालय
(१) किशोरसिंह राठौर, संयोजक
(२) रंगमति शाही
(३) दुर्गाप्रसाद उपाध्याय

७. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
(१) मीनबहादुर विश्वकर्मा, संयोजक 
(२) बिन्दा देवी आले राना
(३) कर्मा घले

८. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
(१) गगनकुमार थापा, संयोजक
(२) उमेश श्रेष्ठ 
(३) नमिता कुमारी चौधरी

९. खानेपानी मन्त्रालय
(१) सुजाता परियार, संयोजक
(२) मिना सुब्बा 
(३) नागेन्द्रकुमार राय

१०. स्वास्थ्य तथा जनसंख्या 
(१) पार्वता डि.सी. चौधरी, संयोजक
(२) सीताराम महतो
(३) मोहन आचार्य

११. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
(१) देवेन्द्रराज कण्डेल, संयोजक 
(२) प्रकाश स्नेही रसाइली
(३) प्रमिला राई

१२. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
(१) डिला संग्रौला पन्त, संयोजक
(२) प्रकाश पन्थ

१३. सञ्चार तथा सूचना प्रविधि
(१) बहादुर सिंह लामा, संयोजक
(२) सूर्यबहादुर केसी
(३) विमला नेपाली

१४. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण 
(१) लक्ष्मी परियार , संयोजक
(२) प्रमोद कुमार यादव 
(३) स्मृति नारायण चौधरी

१५. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
(१) अतहर कमाल मुसलमान, संयोजक
(२) तेजुलाल चौधरी
(३) धनकुमारी खतिवडा

१६. कृषि तथा पशुपंक्षी मन्त्रालय
(१) पद्म नारायण चौधरी, संयोजक
(२) अनिता देवकोटा
(३) सरवत आरा खानम हलुवाइनी

१७. महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
(१) उमा रेग्मी , संयोजक
(२) लालकाजी गुरुङ्ग 
(३) हिरा गुरुङ्ग

१८. रक्षा मन्त्रालय
(१) भिसेनदास प्रधान, संयोजक 
(२) अभिषेक प्रताप शाह

१९. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
(१) सञ्जय कुमार गौतम, संयोजक
(२) जीप छिरिङ लामा 
(३) देवप्रसाद तिमिल्सिना

२०. वन तथा वातावरण मन्त्रालय
(१) राजेन्द्र कुमार के.सी., संयोजक
(२) मुक्ता कुमारी यादव

२१. कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
(१) राधेश्याम अधिकारी, संयोजक


सांसदद्वय मियाँ र यादवले तिब्बतको कार्यक्रममा पुगेकोमा मागे माफी

सांसदद्वय मियाँ र यादवले तिब्बतको कार्यक्रममा पुगेकोमा मागे माफी


काठमाडौं, जेठ ६ । प्रतिनिधिसभाका सांसदहरु एकवाल मियाँ र प्रदीप यादवले तिब्बतसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भूलबस पुगेको भन्दै क्षमायाचना गरेका छन् । स्वतन्त्र तिब्बत सम्बन्धी कार्यक्रममा सहभागीता जनाएको भन्दै चर्को आलोचना भएपछि उनीहरुले आज एक प्रेस विज्ञप्ति जारी गर्दै क्षमायाचना गरेका हुन् ।  

दुबै सांसदहरुले गत बैशाख २४ देखि २८ गतेसम्म लाट्भियाको राजधानी रिगामा आयोजना गरिएको सातौँ विश्व तिब्बतबारे संसदीय सम्मेलनमा भूलबस पुगेको दाबी गरेका छन् । उनीहरुले व्यक्तिगत हैसियतमा निजी तबरबाट टर्की, स्वीट्जरल्याण्ड र लाट्भियाको भ्रमणमा गएको र लाटभियाको राजधानी रिगामा कानून निर्माताहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुन गइरहेको भन्ने गलत सूचनाका कारणले अज्ञानतावस उक्त सम्मेलनमा सहभागी हुन पुगेको उनीहरुको दाबी छ । 

विज्ञप्ति भनिएको छ, ‘जब हामीलाई उक्त सम्मेलनको सम्बन्धमा यथार्थ जानकारी हुन गयो, तत्पश्चात हामी तत्काल उक्त सम्मेलन स्थल छोडी फर्कियौँ । अनभिज्ञताबस गलत सूचनाको कारणबाट उक्त सम्मेलनमा हाम्रो सहभागिता हुन गएकोप्रति हामी दुःखी छौँ ।’ उनीहरुले नेपालको संविधान, प्रचलित कानूनले निर्धारण गरेका अन्तर्राष्ट्रिय सम्बन्ध तथा नेपाल सरकारको एक चीन नीतिप्रति सदैव प्रतिबद्धता र दृढ समर्थन रहेको उल्लेख गरेका छन् । साथै प्रतिनिधिसभाका सदस्यले पालना गर्नुपर्ने आचार संहितालाई पूर्णरुपमा पालना गर्ने समेत उनीहरुले बताएका छन् । 


राजपाको अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी पाए अनिलकुमार झाले

राजपाको अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी पाए अनिलकुमार झाले


काठमाडौं, जेठ ५ । राष्ट्रिय जनता पार्टी(राजपा)को अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी अनिलकुमार झाले पाएका छन् । शरतसिंह भण्डारीले सम्हालेको संयोजकको जिम्मेवारी आगामी सोमबारबाट लागू हुने गरी झाले लिन भएका हुन् । 

पार्टीभित्र प्रत्येक दुई महिनामा अध्यक्षमण्डलको संयोजक फेरिने व्यवस्था छ । अध्यक्षमण्डलमा छ जना सदस्य रहेकोमा हरेक दुई महिनामा पालैपालो संयोजक बन्ने व्यवस्था राखिएको हो । राजपाको विधानको धारा ३१ (१२) मा महाधिवेशनसम्म अध्यक्ष मण्डलको व्यवस्था रहेको उल्लेख गरिएको छ । तर महाधिवेशनपछि भने अध्यक्षमण्डलको प्रणाली खारेज हुने भएको छ । 

गत बिहीबार पार्टी कार्यालय बबरमहलमा बसेको अध्यक्ष मण्डलको बैठकनुसार राजपा अब अध्यक्ष मोडेलमा जाने निर्णय गरेको हो । महाधिवेशनपछि अध्यक्ष मण्डल नरहने र पार्टी अध्यक्षीय प्रणालीमा अगाडि बढ्ने निर्णय गरेको छ ।


देशको आर्थिक विकास गर्न कम्युनिष्टहरु एकमत हुनुपर्छ : पासवान

देशको आर्थिक विकास गर्न कम्युनिष्टहरु एकमत हुनुपर्छ : पासवान


रामनारायण यादव
राजविराज, जेठ ३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पोलिटब्युरो सदस्य रामप्रित पासवानले देशको आर्थिक विकास गर्न कम्युनिष्टहरु एकमत हुनु आवश्यक रहेको बताएका छन् । 

नेकपाले सदरमुकाम राजविराजमा शुक्रबार आयोजना गरेको २६औँ मदन–आश्रीत स्मृति दिवस तथा पार्टी एकताको एक वर्षका सन्दर्भमा आयोजना गरिएको विचार गोष्ठिमा बोल्दै पासवानले नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताका माध्यमवाट अगाडि बढाउन सकेमा कम्युनिष्टहरुले चाहेको समाजवाद सजिलै प्राप्त गर्न सकिने बताए ।

पार्टीलाई सशक्त गतिशिल बनाउनका लागि गुटगत राजनीति छोडेर जननेता भण्डारीले देखाएको बाटोमा हिड्न आवश्यक रहेको उनको भनाइ थियो । जननेता भण्डारीले प्रतिपादन गरेको सिद्धान्तकै आधारमा देशको आर्थिक विकास गर्दै जनतालाई समृद्ध बनाउन सकिने समेत पासवानले बताए ।

गोष्ठिमा कार्यपत्र प्रस्तुत गर्दै मनोहर पोखरेलले अन्याय सहन नसक्ने बिद्रोही स्वभाव, विषयवस्तुको उच्चतम् ज्ञान, साहित्य र सिर्जनामार्फत नविन चिन्तनको विकास गर्ने क्षमताका मदन भण्डारीको नेतृत्व २०४६ सालमा स्थापित भएपछि शान्तिपूर्ण संघर्षबाटै समाजवादमा जान सकिने विचारमा कम्युनिष्टहरु एकीकृत बन्दै गएको र कम्युनिष्ट आन्दोलन अग्लो स्थानमा पुगेको दावी गरे ।

२०४६ सालको जनआन्दोलनका योजनाकार मदन भण्डारीले २०४७ सालको संविधान जारी हुँदा राखेका २७ बुदे अहसमतिहहरु २०६२÷०६३ को आन्दोलनपछि बनेको संविधानले पुरा गरेपछि सांगठनिक रुपमा मात्र नभई कम्युुनिष्ट पार्टी वैचारिक नेता समेत भएको पोखरेलले दावी गरे ।  

नेकपाका जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य अशोक मण्डल (अमर)को अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश सांसद रुबी कर्ण, प्रदेश कमिटीका सदस्यहरु शैलेन्द्रचन्द्र झा, महेश यादव, छेदी रजक विमल, सुखराम यादव, अरुण साह, मनाइ महतो, कृष्णकुमार गुप्ता, युवा नेताहरु निरन्जन झा, अखिलेश झा, जयप्रकाश यादव, कपलेश्वर सरदार, राजविराज नगरपालिकाका वडा अध्यक्ष जयनारायण मण्डल, विश्वनाथ मण्डल, आभासेतु सिंह, रामनारायण महतोलगायतकाले पार्टी र जनताको हितमा महत्वपूर्ण त्याग गर्ने भण्डारीको जीवनीवाट नेता कार्यकर्ताहरुले सिक्दै मुलुकको हितका लागि अघि बढ्नुपर्ने बताए ।


नेकपाको जनसंगठनका नेतृत्व घोषणा

नेकपाको जनसंगठनका नेतृत्व घोषणा


काठमाडौं, जेठ ३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विभिन्न जनसंगठनको नेतृत्वको एकतालाई पूर्णता दिएको छ । पार्टी एकताको एक वर्ष तथा जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवस मनाउन तत्कालीन नेकपा (एमाले) को पुरानो कार्यालय मदननगर, बल्खुमा आज आयोजित कार्यक्रममा सो नेतृत्वको नामावली सार्वजनिक गरिएको हो ।

पार्टीका महासचिव विष्णु पौडेलले बिहीबार सम्पन्न सचिवालय बैठकको निर्णयअनुसार ती २१ वटा जनसंगठनको नाम, संयोजक, सहसंयोजक र केन्द्रीय कमिटीको संख्या सार्वजनिक गरेका थिए । घोषित विवरणअनुसार अखिल नेपाल किसान महासंघको संयोजकमा बामदेव गौतम र सहसंयोजकमा चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल राष्ट्रिय विद्यार्थी संगठनको संयोजक ऐन महर, सहसंयोजक रञ्जित तामाङ, युवा संघ नेपालको संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’, सहसंयोजक रमेश पौडेल छन् । 

अखिल नेपाल महिला संघको संयोजकमा अमृता थापा र सहसंयोजकमा सीता पौडेल, ट्रेड युनियन महासंघ नेपालको संयोजक विनोद श्रेष्ठ र सहसंयोजकमा जगत सिम्खडा, प्रेस संगठन नेपालको संयोजकमा महेश्वर दाहाल र सहसंयोजक गणेश बस्नेत चयन भएका छन् । 

त्यसैगरी, नेपाल बुद्धिजिवी संगठनका संयोजक डा.दिनेशचन्द्र देवकोटा, सहसंयोजकमा कृष्ण केसी,  पेशागत महासंघ नेपालको संयोजकमा विश्वनाथ प्याकुरेल र सहसंयोजकमा दयाराम बस्याल, जनसांस्कृतिक महासंघ नेपालको संयोजकमा खगेन्द्र राई र सहसंयोजकमा सूर्य पौडेल (सरल सहयात्री) रहेका छन् ।

त्यस्तै, नेपाल मुस्लिम संगठनको संयोजकमा सिराज महम्मद फारुकी, सहसंयोजकमा अत्तहर हुसेन फारुकी, नेपाल दलित मुक्ति संगठनको संयोजकमा तिलक परियार, सहसंयोजकमा ओमबहादुर विश्वकर्मा, आदिवासी जनजाति महासंघको संयोजक सुरेश आलेमगर र सहसंयोजकमा शेरबहादुर तामाङ, नेपाल अपाङ्ग संगठनको संयोजकमा इन्द्रमाया गुरुङ, सहसंयोजकमा रामप्रसाद ढुङ्गाना, खेलकूद महासंघ नेपालको संयोजकमा पुरुषोत्तम पौडेल र सहसंयोजकमा शिव कोइराला घोषित भएका छन् ।

उद्योग व्यवसायी महासंघको संयोजकमा लक्ष्मीदास मानन्धर र सहसंयोजकमा श्याम पाठक, प्रवासी नेपाली मञ्च (भारत)मा संयोजक लोकनाथ भण्डारी र सहसंयोजकमा ईश्वरी भण्डारी, नेपाल भूमिहीन सुकुम्बासी संगठनको संयोजकमा रामप्रित पासवान र सहसंयोजकमा पदम देवकोटा, भूतपूर्व सैनिक तथा प्रहरी संगठनको संयोजकमा धनबहादुर चन्द  र सहसंयोजकमा जीवन बुढा, मानवअधिकार तथा सामाजिक अभियान नेपालको संयोजकमा मीनबहादुर शाही र सहसंयोजकमा हुकुम पोखरेल रहेका छन् । 

नेपाल कानून व्यवसायी संगठन, नेपाल निर्माण व्यवसायी संगठन र नेपाल इञ्जिनीयर संगठनको यसअघि नै एकता सम्पन्न भइसकेको थियो । बाँकी रहेको एकता प्रक्रिया चाँडै टुंगो लाग्ने जनाइएको छ । 


नेकपाले जनवर्गीय संगठनहरुको नेतृत्व टुङ्ग्यायो

नेकपाले जनवर्गीय संगठनहरुको नेतृत्व टुङ्ग्यायो


काठमाडौं, जेठ २ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जनवर्गीय संगठनहरुको नेतृत्व टुङ्गो लगाएको छ । आज बसेको सचिवालय बैठकले तत्कालीन एमाले र माओवादीको भागवण्डाका आधारमा अधिकांश जनवर्गीय संगठनको संयोजक र सहसंयोजक टुङ्गो लगाएको हो ।

विद्यार्थी संगठनको संयोजकमा ऐन महर र सहसंयोजकमा रञ्जित तामाङ तोकिएका छन् । स्रोतका अनुसार महरलाई प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीकै जोडबलमा संयोजक बनाइएको हो । मापदण्डअनुसार अखिलका वर्तमान अध्यक्ष नविना लामा हुनुपर्ने हो तर, महरलाई नबनाउने भए अरु जबज संगठनबारे कुनै निर्णय नै नगर्ने अवस्था आएपछि सहमति गरिएको सचिवालय स्रोतको दाबी छ । सहसंयोजक तोकिएका रञ्जित माओवादीसम्बद्ध अखिल क्रान्तिकारीका अध्यक्ष हुन् । यदि उनी सहसंयोजक बन्न तयार नभए सुरेन्द्र बस्नेतलाई बनाउने सहमतिसमेत भएको स्रोतको दाबी छ ।

युवामा रामप्रसाद सापकोटा दीपशिखा संयोजक र रमेश पौडेललाई सहसंयोजक तोकिएको छ । दीपशिखालाई युवा संयोजक बनाउन ओली तयार भइनसकेकाले छलफल भइरहेको स्रोतको दाबी छ । महिलाको संयोजक अमृता थापा र सहसंयोजक सीता पौडेल तथा मजदुरको संयोजकमा विनोद श्रेष्ठ र सहसंयोजकमा जगत सिम्खडा तोकिएका छन् ।

प्रवासी नेपाली मञ्च भारतको संयोजकमा लोकनाथ भण्डारी र सहसंयोजकमा ईश्वरी भण्डारी तोकिएका छन् । प्रेसमा महेश्वर दाहाल संयोजक र गणेश बस्नेत सहसंयोजक, तथा बुद्धिजिवीतर्फ दिनेशचन्द्र देवकोटा संयोजक र कृष्ण केसी उपसंयोजक तोकिएका छन् । पेशागत महासंघमा विश्वनाथ प्याकुरेल संयोजक र दयाराम बस्याल सहसंयोजक तथा जनसांस्कृतिक महासंघमा खगेन्द्र राई संयोजक र सरल सहायात्री सहसंयोजक तोकिएका छन् । 

यसैगरी, मुस्लिम संगठनमा सराज महमद फरुकी संयोजक र अत्तहर हुसेन फारुकी सहसंयोजक तथा दलितमा तिलक परियार संयोजक र ओमबहादुर विश्वकर्मा सहसंयोजक तोकिएका छन् भने भूपू सुरक्षाकर्मीको संगठनमा धनबहादुर चन्द संयोजक तोकिएका छन् । र, सहसंयोजक तोक्न बाँकी छ । 


सीके राउतको असन्तुष्ट गठबन्धन र तराई मुक्ति मोर्चाबीच एकीकरण, नयाँ पार्टी दर्ता गरिँदै

सीके राउतको असन्तुष्ट गठबन्धन र तराई मुक्ति मोर्चाबीच एकीकरण, नयाँ पार्टी दर्ता गरिँदै


जनकपुर, जेठ २ । स्वतन्त्र मधेश गठबन्धनको नेतृत्व गरेका डा.सिके राउत खुला राजनीतिमा आएलगत्तै राउत नेतृत्वको असन्तुष्ट गठबन्धन समुह जनतान्त्रिक तराई मुक्ति मोर्चासँग गएको छ । राउत नेतृत्वको गठबन्धन समुहका असन्तुष्ट पक्षले डा.मनोज मुक्ति नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चासँग आज एकीकरण गरेको हो ।

मोर्चाका अध्यक्ष डा.मुक्ति र गठबन्धनका असन्तुष्ट समूहको नेतृत्व गरेका जासर यादवले आजै एकीकरण भएको घोषणा गरेका हुन् । उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै अलग मधेशको मुद्दा छाडेर चाँडै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने समेत जनाएका छन् । 

विज्ञप्तिमा मधेशलाई सबैले धोका दिँदै आएकाले मधेश मुक्तिका लागि अघि बढ्ने प्रतिबद्धता गरिएको छ । उनीहरुले जेठ २० गते निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने जनाएका छन् ।


‘सरकारको नीति तथा कार्यक्रम समाजवादोन्मुख’

‘सरकारको नीति तथा कार्यक्रम समाजवादोन्मुख’


गोरखा, जेठ २ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले घोषणा गरेको नीति तथा कार्यत्रम सामाजवादोन्मुख भएको बताएका छन् ।

नेपाल प्रेस सङ्गठन गोरखाले बुधबार सदरमुकाममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा  प्रवक्ता श्रेष्ठले गएको एक वर्षलाई सरकारले समृद्धिको आधार वर्षका रुपमा लिएको भन्दै त्यो सफल भएको उल्लेख गरे ।

उनले भर्खरै सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम समाजवादोन्मुख छ र अब आउने बजेट पनि समाजवादोन्मुख र समृद्धिको दिशातिर केन्द्रित हुने बताए । आउँदो जेठ  १५ गते आउने बजेटले नेपाली जनताका तत्कालीन समस्या समाधान गर्ने प्रवक्ता श्रेष्ठले बताए । उनले भने, ‘सरकार पक्ष मात्र होइन, प्रतिपक्षलाई समेत समेट्ने गरी बजेट आउँछ ।’

उनले नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको वर्तमान सरकार समृद्ध नेपाल निर्माणको अभियानमा जुटेको बताउँदै निर्वाचनका बेला जनतासँग गरेका सबै खालका प्रतिबद्धता नयाँ बजेटमा समावेश गर्ने उल्लेख गरे । ‘हामीले चुनावी घोषणापत्रमा गरेको प्रतिबद्धताअनुसार यो पटक वृद्धभत्ता बढाउने तयारी गरेका छौँ’, प्रवक्ता श्रेष्ठले भने, ‘बजेटका सैद्धान्तिक पक्षका बारेमा अर्थमन्त्रीले प्रिबजेट छलफलमा सबै कुरा प्रस्तुत गरिसक्नुभएको छ ।’  

उनले सरकारले ल्याउने बजेट पार्टीको घोषणापत्रलाई केन्द्रविन्दुमा राखेर नै अगाडि बढाउने बताए । प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री विदेशबाट फर्केलगत्तै बजेटका विषयमा बृहत् छलफल हुने र त्यसका सैद्धान्तिक पक्ष उत्पादन वृद्धि, समानुपातिक, समावेशी, सामाजिक न्यायसहित नयाँ बजेट आउने बताए ।


समाजवादी पार्टीले तिब्बत जाने आफ्ना सांसदलाई कारवाही गर्ने 

समाजवादी पार्टीले तिब्बत जाने आफ्ना सांसदलाई कारवाही गर्ने 


काठमाडौं, जेठ १ । स्वतन्त्र तिब्बतसम्बन्धी कार्यक्रममा सहभागी भएका भनिएका आफ्ना सांसदलाई समाजवादी पार्टी नेपालले कारबाही गर्ने भएको छ । आफ्नो पार्टीका सांसद स्वतन्त्र तिब्बतसम्बन्धी कार्यक्रममा सहभागी भएको भनी आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै उक्त कार्यक्रममा गएको बारे कुनै जानकारी नभएको र अनुमतिसमेत नदिएको बताउँदै पार्टीले यदि गएको भए कारवाही गर्ने बताएको हो । 

तत्कालीन संघीय समाजवादी फोरम तथा हालको समाजवादी पार्टीका सांसद प्रदीप यादव र राष्ट्रिय जनता पार्टी (राजापा)का सांसद इकवाल मियाँ उक्त कार्यक्रममा सहभागी थिए । युरोपेली देश लाटभियाको राजधानी रिगामा गतसाता आयोजित ‘टिबेट एन्ड द इन्टरनेशनल नेटवर्क अफ पारलिमेन्टेरियन्स टिबेट’कार्यक्रममा ती सांसद सहभागी भएका थिए । सांसद यादवको उक्त भ्रमण व्यक्तिगत भएको र यसले पार्टीको विचार प्रतिनिधित्व नगर्ने भन्दै समाजवादी पार्टीले चित्त बुझ्दो जवाफ नपाए उनीमाथि अनुशासनको कारबाही गर्ने बताएको छ । उनको भ्रमण नितान्त व्यक्तिगत भएकोले यसले पार्टी नीतिको प्रतिनिधित्व नगर्ने पार्टीका अध्यक्ष उपेन्द्र यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यदि, उनको स्पस्टीकरण सन्तोषजनक नभए पार्टीले उनीमाथि उपयुक्त किसिमको अनुशासनको कारबाही गर्ने छ ।’

समाजवादी पार्टी नेपालको एक चीन नीतिको सम्मान गर्ने र त्यसको पक्षमा उभिने भन्दै विज्ञप्तिमा चीन विरुद्धका कुनै पनि गतिविधि नेपाली भूमिबाट हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरिएको छ । त्यस्तै, पार्टीले संविधानमा उल्लेख भएको नेपालको वर्तमान विदेश नीति, संयुक्त राष्ट्रसंघको वडापत्र, असंलग्न आन्दोलन र पञ्चशीलको सिद्धान्तप्रति प्रतिबद्ध रहेको जनाएको छ । स्वतन्त्र तिब्बत कार्यक्रममा दुई सांसद सहभागी भएकोबारे चीनले गम्भीर चासो देखाएको थियो । स्वतन्त्र तिब्बत सम्बन्धी कार्यक्रममा नेपाली सांसद सहभागी हुनु नेपालले अंगिकार गर्दै आएको एक चीन नीति विपरीत भएको भन्दै चीनले चासो देखाएको हो । 

चीनको चासोपछि मंगलबार परराष्ट्र मन्त्रालयले  एक प्रेस वक्तव्य सार्वजनिक गर्दै ती सांसदको सहभागिताबारे आपत्ति प्रकट गरेको थियो । नेपाली सांसदहरु सो कार्यक्रममा सहभागी भएको विषयमा जानकारी नभएको भन्दै नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । 

उक्त कार्यक्रममा सहभागी भए नभएकोबारे भने सहभागी भएका भनिएका सांसद स्वयंले भने अहिलेसम्म कुनै औपचारिक टिकाटिप्पणी गरेका छैनन् ।