27 Baishak, 2081 / 9 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

राजनीति


पूर्वाधार र सेवालाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

पूर्वाधार र सेवालाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन


काठमाडौं, १४ माघ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा देखापरेका चुनौतीको व्यवस्थापनका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निर्देशन दिएको छन् । 
    
प्रतिष्ठानको १२औँ सभालाई आज यहाँ सम्बोधन गर्दै उनले थप पूर्वाधारको विकास तथा अस्पतालको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन प्रतिष्ठानका पदाधिकारीलाई निर्देशन दिए ।

आम नागरिक स्वस्थ नभइकन विकास र समृद्धि सम्भव नहुने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सबै नागरिकलाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवाको पहुँच पुर्‍याउनुपर्नेमा जोड दिए । उनले भने, “स्वस्थ र निरोगी नागरिकबाट नै मुलुकको आर्थिक र सामाजिक रूपान्तरण सम्भव हुन्छ ।”

समुदायमा आधारित सेवा प्रवाह गर्नु प्रतिष्ठानको उत्तम पहल भएको उल्लेख गर्दै कुलपति दाहालले यस्ता कार्यक्रममा  अन्य मिल्दोजुल्दो कार्यक्रम पनि समेटेर अझ बढी सशक्त बनाएर अगाडि बढ्न निर्देशन दिए ।

उनले भने, “अन्य प्रतिष्ठान एवं शैक्षिक संस्थाबाट पनि यसप्रकारको कार्यक्रम अगाडि बढाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ध्यानाकर्षण गराउँछु ।” नेपाल अधिकांश भू–भाग ग्रामीण क्षेत्रले ओगटेको सन्दर्भ उल्लेख गर्दै  प्रधानमन्त्री दाहालले ग्रामीण क्षेत्रमा स्तरीय स्वास्थ्योपचारको व्यवस्था मिलाउन दक्ष तथा सामाजिक उत्तरदायित्वको भावनाबाट अभिप्रेरित डाक्टरलगायत स्वास्थ्यकर्मी उत्पादन गरी स्वास्थ्य सेवाको पहुँच ग्रामीण स्तरसम्म विस्तार गर्दै जानुपर्ने खाँचो औँल्याए ।

उनले भने, “मानव विकास परिसूचकाङ्कमा पछि परेका तथा गुणस्तरीय स्वास्थ्य सेवामा कम पहुँच भएका नागरिकलाई बढी लाभान्वित तुल्याउने गरी आफ्नो सेवामा सुधार ल्याउन प्रतिष्ठानलाई निर्देशित गर्दछु ।”

प्रधानमन्त्री प्रचण्डले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा तथा यससँग सम्बन्धित वैज्ञानिक अनुसन्धान गरी समस्त स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदान सह्रानीय रहेको बताए । सभामा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री, राष्ट्रिय योजना आयोगका सदस्य, ललितपुर महानगरपालिकाका प्रमुख, विभिन्न प्रतिष्ठानका उपकुलपतिको उपस्थिति थियो । 
 


करिब ३ हजार जनालाई छिट्टै शहीद घोषणा गरिने

करिब ३ हजार जनालाई छिट्टै शहीद घोषणा गरिने


काठमाडौं, १३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले करिब ३ हजार जनालाई छिट्टै शहीद घोषणा गर्ने बताएका छन् । शहीद प्रतिष्ठान नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले माओवादी जनयुद्धका क्रममा सरकारले घोषणा गर्न बाँकी रहेका करिब ३ हजारलाई पनि छिट्टै शहीद घोषणा गर्नका लागि मन्त्रीपरिषद्बाट निर्णय भएर राजपत्रका प्रकाशित गर्ने कामलाई अघि बढाइएको बताए।

उनले भने, ‘यहाँ छुट भएका केही म तपाईहरुलाई जानकारी गराउन चाहन्छु झन्डै ३ हजार छुट भएकाको शहीद घोषणा चाहिँ फेरि क्याबिनेटबाट निर्णय भइसकेको छ । गृह मन्त्रालयबाट प्रमाणित भइसकेको छ । र अब त्यो राजपत्रमा प्रकाशित गर्नका लागि अगाडि बढिसकेको छ । त्यसो गर्दा अर्को ३ हजार छुट भएका सहिदहरु पनि राष्ट्रिय सहिदमा घोषणा, दर्ता भइनै सकेको छ । त्यहाँ अव हामी दुविधानमा बस्नुपर्दैन । ’

आफूले तेस्रो पटक प्रधानमन्त्री भएपछि माओवादी जनयुद्ध र जनआन्दोलनका सहिदहरू नछुटुन् भनेर विशेष ध्यान दिएको पनि उनले उल्लेख गरे। सरकारले जनयुद्धमा शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गर्ने कुरालाई उच्च प्राथमिकता दिएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो।
 


दरबार हत्याकाण्डमा आफूलाई मुछेकोमा पूर्वराजाको आक्रोश(पूर्णपाठ)

दरबार हत्याकाण्डमा आफूलाई मुछेकोमा पूर्वराजाको आक्रोश(पूर्णपाठ)


काठमाडौं, १३ माघ । पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डको विषयमा आफू र आफ्नो परिवारबारे भ्रमको बादल बनाई नकारात्मक भावना फैलाइएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

वीरगन्जमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै तत्कालीन राजा वीरेन्द्रको वंश नाश भएको घटनामा आफू र आफ्नो परिवारलाई घातक प्रहार गरिएको भन्दै आक्रोश पोखेका हुन्। पूर्वराजा शाहले राष्ट्र प्रेम र राष्ट्र हितको सदाशयता कायम नरहँदा देशमा विषम परिस्थिति बढ्दै जाने र त्यस्तो बेथितिबाट आम जनतामा आक्रोश उत्पन्न हुन्छ भन्ने त्यतिखेरै आँकलन गरेको स्पष्ट पारे।

बितेका १५ वर्षपछि आज त्यो असन्तोष, चासो, चिन्ता, आक्रोश सर्वत्र छताछुल्ल भएको उनको भनाइ छ। उनले राज्य व्यवस्था, राजनीति, अर्थ व्यवस्था र सामाजिक दुरवस्था सबैको राम्रो मूल्यांकन गरेर सबैको सुधार, उपकार, विकास र सबैतिरको निकासको बाटोमा लाग्नुपर्ने सुझाव दिएका छन्।

सम्बोधनको पूर्णपाठः
उपस्थित महिला तथा सज्जनवृन्द,
तपाईंहरूकाबीच आफ्ना मनका कुरा भन्न पाउँदा मलाई आज खुसी लागेको छ। हाम्रा तराई फाँटका जनभावना बुझ्ने र यहाँहरूसँग साक्षात्कार हुने यस्तो मौका मिलेकोमा म आयोजक, प्रबन्धक तथा संलग्न सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु। 

हाम्रो अन्नको भण्डार भनिने तराई मधेशको यो समथर उब्जर फाँटको अर्को ठूलो मुल्य र महत्व छ। गौरवशाली इतिहास बोकेको इलम, उत्पादन, व्यवसाय र आर्थिक उत्थानको आधार तराई मधेशको उस्तै, प्रतिष्ठा।

हामी देखिरहेका छौँ, दुई तीन दशकदेखि यो उर्वर भूभाग उजाड बन्दै गइरहेको छ। यहाँको पोखरी, कुवा, धारा जलसतह कमजोर हुँदै सुख्खा, खँडेरी र मरुभूमिकरणतिर गएको छ। यो गम्भीर चिन्ताको कुरा हो। 

मधेशका होनाहार युवा जनशक्ति दिनहुँ विदेशतिर दगुरिइरहेको छ। रोजगारी, सीप र अवसर दिन नसक्दा गरिबीको बाध्यताको कारण हाम्रो जमीन, स्रोत साधन सबै सुक्दै पातलिँदै गएको छ। यो दुखको कुरा हो। देश बनाउनु, बचाउनु निरन्तर आवाज छ। हामीमाथि आह्वान पनि छ।

म भन्छु, हामी हाम्रो पुर्खाको पौरख नभुलौँ। यहीँ बसौँ। आफ्नो जन्मभूमिका लागि मरिमेटौँ। हाम्रो विकास, उत्थान र समस्याको निवारण आफैँबाट हुने हो। अरुले आएर गरिदिने होइन्। 

तर, दुखका साथ भन्नुपर्छ, हाम्रो देश सबैतिर उजाड बन्दै खोक्रो भएर चरम दुर्भाग्यतिर खस्किएको छ। यो अवस्थाको अन्त्य गर्नै परेको छ। यसका निम्ति अब सोच्ने बेला आयो। देशलाई झन झन बर्बादीतिर नलैजाऔँ। त्यसका लागि सबैले सोचौँ। समीक्षा गरौँ।

नेपालको राम्रो प्रकृति, स्रोत साधन, क्षमता सबै आर्थिक उन्नतिमा लगाऔँ। आफ्नो घर उजाड पारेर अरुको उन्नतीमा आफ्नो श्रम, पसिना लगाउने बेला गयो। आफ्नो क्षमता, आफ्नो घर, गाउँ बस्ती बनाउनेतिर लाग्नैपर्छ। 

यसैमा हाम्रो देशको उन्नती, प्रगति, इज्जत र प्रतिष्ठा निर्भर हुन्छ। हामी भूगोल र भूबनोटमा बाँडिने होइन। जातजाती, धर्म र संस्कृतिमा खण्डित हुने होइन। हामी सबैको देश नेपालमा बस्ने हामी सबै नेपाली। त्यसैले, विभेदको,, बिखण्डनको र बिग्रहको, निषेधको राजनीति हामी नगरौँ। हामी सबैको भलाई यसैमा छ। 

आफ्ना आत्मिय, अग्रजलाई गुमाएको पीडादायक अवस्थामा नेपालको राज्यभार ग्रहण गरेर पुगनपुगग ७ वर्ष राष्ट्र प्रमुखको हैसियतमा मैले आफ्नो दायीत्व निर्वाह गरेँ। तत्काल अप्ठ्यारो परिस्थितिमा पनि देशको थप बर्बादी नहोस्, प्रजातन्त्रका मान्यता राखेर नै मैले काम गरेको हुँ।

२०५८ मा घटेको बिनाशकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहालिलाग्दो र सम्झन पनि मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाइ नकारात्मक भावना फैलाएको थियो। 

हामी र हाम्रो परिवारलाई घातक प्रहारहरू पनि गरेका थिए। सत्य सधैँ सत्य हुन्छ। असत्यको विजयी कहिल्यै हुँदैन। हाम्रोमाझ प्रत्यक्षदर्शीहरू हुँदाहुँदै अज्ञानता र छलले अझपनि हामी बहकीरहेको छौँ। यो अन्यायपूर्ण मात्रै होइन दुर्भाग्यपूर्ण पनि हो। आफ्नो पूख्र्यौली राजदरबारबाट परित्याग गर्दा २०६५ जेठ २९ गतेृ आमसञ्चार माध्यमबाट मैले भनेको थिएँ– म नेपालमा बसी मुलुकको वृहत्तर हित र शान्तिका लागि योगदान पुर्याउन चाहन्छु। अनि त्यतिबेलै मैले भनेको थिएँ– स्वाभिमानी नेपालीको आत्म कामना होस् भन्ने मेरो कामना छ। 

हाम्रो राष्ट्रप्रेम र राष्ट्रहितको सदासयता कायम रहँदा देशमा विषम परिस्थिति बढ्दै जान्छ। र त्यस्तो बेथितिबाट आम जनतामा आक्रोश उत्पन्न हुन्छ भन्ने त्यतिखेरको आंकलन हो। बितेका १५ वर्षपछि आज त्यो असन्तोष, चासो, चिन्ता, आक्रोश सर्वत्र छताछुल्ल छ। आफ्नो गरिमापूर्ण राजपाठबाट वियुक्त हुनुपर्दा मैले व्यक्त गरेको राष्ट्रप्रेम, राष्ट्रियता, प्रजातान्त्रिक प्रतिवद्धता तथा देश र जनताको उत्थानमा क्रियाशिल हुने भावनालाई मैले आज पनि सान्दर्भिक रुपमा सम्झिरहेको छु। 

त्यसै अनुरुप मैले चिरकाल पर्यन्त सुरक्षित रहोस् भनेर मैले आफ्नो श्रीपेच राष्ट्रलाई सुम्पिएको थिएँ। हामी देशमै छौँ, आज पनि देशमै रहेर देशको गौरव गाथा गाइरहेका छौँ। अहिले पनि देशको उन्नती होस्, भेदभावरहित ढंगले सबै देशवासीको विकास हुँदै जाओस् भन्ने भावना छ। 

आफ्नो अस्तित्व, पहिचान गुमाएर देशलाई विभाजनको खाडलतिर लडखडिएर, देशमा सनातनदेखि रहि आएको समधुर सामाजिक सम्बन्धलाई बिथोलेर देशको भलो हुँदैन। यो कुरामा अहिले पनि हाम्रो अडान कायम छ। 

हाम्रो राजनीति, अर्थव्यवस्था र सामाजिक दुरअवस्थाको राम्रो मुल्यांकन गरेर सबैको उपकार, विकास र निकासको बाटोमा हामी लाग्नुपर्छ। यसैमा हाम्रो कल्याण हुन्छ। सबैमा फेरि हाम्रो धन्यवाद, जय नेपाल।


 


विश्व शान्तिका लागि संवादमा जोड दिन प्रधानमन्त्री दाहालको आग्रह

विश्व शान्तिका लागि संवादमा जोड दिन प्रधानमन्त्री दाहालको आग्रह


काठमाडौं, १२ माघ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व शान्तिका लागि द्वन्द्वरत पक्षबीच संवाद हुनुपर्नेमा जोड दिएका छन् । संयुक्त राष्ट्र सङ्घको निःशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटका क्रममा उनले नेपाल सदैव विश्व शान्तिको पक्षमा रहेको बताए ।

निःशस्त्रीककरण मामिलासम्बन्धी संयुक्त राष्ट्र सङ्घको निकाय युएनओडिएका तर्फबाट उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गरेकी मिस इजुमी नाकामित्सुसहितको टोलीसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रियाको उदाहरणीय रहेको बताए । उनले विश्व शान्तिका लागि संवाद मात्रै एकमात्र विकल्प भएकामा जोड दिए ।

“नेपालको ऐतिहासिक शान्ति प्रक्रिया विश्वका मुलुकका लागि उदाहरण बनेको छ”, उनले भने, “अहिले विश्वका कैयन् क्षेत्र अत्यन्तै संवेदनशील अवस्थामा छन् । रुस–युक्रेन युद्ध, इजरायल–हमास द्वन्द्वलगायत घटनाले विश्व शान्तिमा चुनौती थपेका छन् तर हामी वार्ता र संवादका माध्यमबाट समाधान खोज्नुपर्नेमा जोड दिन चाहन्छौँ ।”

प्रधानमन्त्री दाहालले बुद्ध जन्मेको भूमि र शान्तिप्रिय देश नेपालले विश्वमा शान्ति स्थापनाका लागि विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा उल्लेख्य भूमिका खेल्दै आएको समेत स्मरण गराए । उनले संयुक्त राष्ट्र सङ्घको महासभामा अति कम विकसित देशहरुको नेतृत्वकर्ताको हैसियतले खेलेको भूमिकाबारे समेत चर्चा गर्दै शान्ति स्थापनाका लागि संयुक्त राष्ट्र सङ्घका प्रयासमा सदैव साथ दिने र नेपालले विश्व शान्तिका लागि नेतृत्वदायी भूमिका खेल्ने बताए ।

“विश्व शान्ति तथा निःशस्त्रीकरणका पक्षमा संयुक्त राष्ट्र सङ्घले खेलेको भूमिका प्रशंसनीय छ”, उनले भने, “हामी संयुक्त राष्ट्र सङ्घका हरेक कदममा साथ छौँ र भविष्यमा पनि साथ रहने प्रतिबद्धता व्यक्त गर्दछौँ ।”
 


राष्ट्रिय सभा निर्वाचन : कहाँ को जिजयी ? हेर्नुहोस् सूचीसहित

राष्ट्रिय सभा निर्वाचन : कहाँ को जिजयी ? हेर्नुहोस् सूचीसहित


काठमाडौं, ११ माघ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) एक सिटमा विजयी भएको छ। बिहीबार बिहान ९ बजेदेखि सुरु भएको निर्वाचनमा सात प्रदेशमध्ये कोशी प्रदेशको एक सिटमा एमालेले बाजी मारेको हो। 
हेर्नुहोस्  कहाँ को जिजयी ?
बागमती
कांग्रेसः विष्णुकुमारी पुडासैनी(६६२२), जितजंग बस्नेत (६५३१)
एकीकृत समाजवादी : घनश्याम रिजाल (६५१२)
माओवादी केन्द्रः श्रीकृष्ण अधिकारी (६३८३)

गण्डकी
नेपाली कांग्रेसः किरणबाबु श्रेष्ठ (३८०८), पदमबहादुर परियार (३७७९)
माओवादी केन्दः मनरुपा शर्मा (३६६०)

कर्णाली 
कांग्रेसः कृष्णबहादुर रोकाया (१५०)
माओवादी केन्द्र : विष्णुबहादुर विक (१४४)
एकीकृत समाजवादी : सावित्री मल्ल (१४४)

मधेश
कांग्रेस : आनान्दप्रसाद ढुंगाना (२६८)
जसपा : पुजा चौधरी (२८१)

लुम्बिनी
कांग्रेसः विष्णुकुमारी सापकोटा (५४३५)
माओवादी केन्द्रः झक्कुप्रसाद सुवेदी ( ५४३५)

सुदूरपश्चिम 
कांग्रेसः बलदेव बोहरा (४३४७), नारायणदत्त भट्ट (४४१९)
माओवादी केन्द्रः रेणु चन्द (४४५३)

कोशी 
कांग्रेस : कृष्ण सिटौला (५२९२)
एमालेः रुक्मिणी कोइराला (५०८६)


सातै प्रदेशमा मतदान जारी

सातै प्रदेशमा मतदान जारी


काठमाडौं, ११ माघ ।  राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत सातै प्रदेशमा मतदान जारी छ । बिहान ९ बजेदेखि शुरू भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ । फागुन २० गतेबाट रिक्त हुन लागेका २० पदमध्ये १९ पदमा आज मतदान हुँदैछ । एक पद भने राष्ट्रपतिबाट मनोनयन हुनेछ ।
निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरिएको छ ।
निर्वाचनका लागि कुल दुई हजार ४७ मतदाता छन् । जसमध्ये कोशीमा कुल ३६७ मतदाता छन् । मधेशमा ३७४ र वाग्मतीमा ३४७ मतदाता रहेका छन् । गण्डकीमा २३०, लुम्बिनीमा ३०५, कर्णालीमा १९६, सुदूरपश्चिममा २२८ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । 
निर्वाचनमा प्रदेश सभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ ।

निर्वाचनमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डल रहनेछ । राष्ट्रिय सभा सदस्यको पदका लागि मतदाता रहेका प्रदेश सभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ ।

निर्वाचनमा हाल कायम प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख गरी दुई हजार ४७ मतदाता गरी कुल मतभार ५७ हजार ५५९ हुनेछ । हाल कायमा प्रदेश सभा सदस्य ५४९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार ४९८ मतदाता रहेका छन् ।
मतदान सकिएलगत्तै आजै मत गणना शुरू हुनेछ । आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको नतिजा ३–४ घण्टाभित्र सार्वजनिक गर्ने आयोगको तयारी छ । 
 


राष्ट्रपति पौडेलद्वारा संसद् अधिवेशन आह्वान

राष्ट्रपति पौडेलद्वारा संसद् अधिवेशन आह्वान


काठमाडौं, १० माघ ।  राष्ट्रपति रामचन्द्र पौडेलले माघ २२ गते दिउँसो ४ बजेका लागि संघीय संसद्का‌ दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । मंगलबार मन्त्रिपरिषद्ले‌ सिफारिस गरेअनुसार बुधबार राष्ट्रपति पौडेलले प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बोलाएका हुन् ।
राष्ट्रपति पौडेलले माघ २२ गते दिउँसो ४ बजे बस्ने गरी प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
संविधानको धारा ९३ को उपधारा (१) मा मन्त्रिपरिषद्को‌ सिफारिसमा राष्ट्रपतिले संसद्‌ अधिवेशन आह्वान गर्ने व्यवस्था छ ।
 


सर्च कमिटीमार्फत उपकुलपति खोज्न प्रधानमन्त्रीलाई सुझाव

सर्च कमिटीमार्फत उपकुलपति खोज्न प्रधानमन्त्रीलाई सुझाव


काठमाडौं, १० माघ । प्राज्ञिक क्षेत्रका व्यक्तिहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति सर्च कमिटीमार्फत खोज्न सुझाव दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले बुधबार बिहान डा. केदारभक्त माथेमा, डा.पिताम्बर शर्मा, डा.विद्यानाथ कोइराला, डा.चैतन्य मिश्र र प्रा.कृष्ण खनालसँग छलफल गरेका थिए । त्यसक्रममा उनीहरूले प्रधानमन्त्री प्रचण्डलाई यस्तो सुझाव दिएका हुन् ।

यस्तै उनीहरूले विश्वविद्यालयलाई दलीयकरणबाट माथि उठाएर मात्र शैक्षिक गुणस्तर निर्माण गर्न सकिने बताएका थिए । उनीहरूले प्रधानमन्त्रीले हालै विश्वविद्यालयमा भागबन्डा नगर्ने र मेरिटोक्रेसीबाट उपकुलपति छान्ने प्रक्रिया अघि बढाउनुले नयाँ आशा पलाएको बताएको समेत मल्लले बताए । सरकारले उपकुलपतिका लागि दरखास्त आह्वान गरेको छ । जसका लागि अहिलेसम्म ४० भन्दा धेरै व्यक्तिहरूले दरखास्त भरिसकेका छन् ।

 


मधेश सरकारबाट बाहिरियो जनमत, ​भ्रष्टाचारविरुद्ध आन्दोलनको घोषणा

मधेश सरकारबाट बाहिरियो जनमत, ​भ्रष्टाचारविरुद्ध आन्दोलनको घोषणा


काठमाडौं, ९ माघ । मधेश प्रदेश सरकारबाट बाहिरिएको जनमत पार्टीले दमन र भ्रष्टाचारविरुद्ध आन्दोलन थाल्ने चेतावनी दिएको छ । पार्टीको संसदीय दलको मंगलवारको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको जानकारी दिँदै पार्टीका अध्यक्ष डा. सीके राउतले सरकारबाट बाहिरिएर भ्रष्टाचारविरुद्ध आन्दोलन थाल्ने चेतावनी दिएका हुन् ।
‘जसपा नेतृत्वको मधेश सरकारले मधेशी जनतामाथि गरेको दमन र अत्याचार, सीमान्तकृत र  दलितमाथि गरेको विभेद, दर्जनौं काण्डमा गरेको चरम भ्रष्टाचार र मधेशमा लादेको जंगलराज र गुण्डाराजको विरोधमा जनमत पार्टीद्वारा समर्थन फिर्ता, मन्त्रीको राजीनामा, दमन र भ्रष्टाचारकोविरुद्ध आन्दोलन थाल्ने छौं’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
 


संसद् अधिवेशन माघ २२ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सरकारको सिफारिस

संसद् अधिवेशन माघ २२ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सरकारको सिफारिस


काठमाडौं, ९ माघ । सरकारले माघ २२ गते संघीय संसद्को अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले माघ २२ गते अपराह्न ४ बजे संघीय संसद्को बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बैठकले जापान सरकारबाट कोटेश्वर क्षेत्रको सडक पूर्वाधार निर्माण कार्यान्वयनका लागि प्रस्तावित ३४ अर्ब ४९ करोड जापानी येन (करीब ३१ अर्ब २ करोड) बराबरको सहुलियतपूर्ण ऋण सहायता सम्बन्धी मस्यौदा सम्झौतालाई अन्तिम रूप दिन जापान सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको उनले बताए । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को नियमन १६ को उपनियम १० को खण्ड (क) बमोजिम डा. असिम भण्डारीलाई राष्ट्रिय एन्टीडोपिङ एजेन्सीको संयोजक पदमा मनोनयन गरेको छ ।