27 Baishak, 2081 / 9 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

राजनीति


राष्ट्रियसभा सदस्य निर्वाचन : सबै तयारी पूरा, प्रचारप्रसार निषेध

राष्ट्रियसभा सदस्य निर्वाचन : सबै तयारी पूरा, प्रचारप्रसार निषेध


काठमाडौं, ९ माघ । माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको छ। प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने यस निर्वाचनमा माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान हुनेछ। 

निर्वाचन आयोगले कानुनी व्यवस्थाबमोजिम  निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न मतदान समाप्त नहुन्जेलसम्म गएराति १२ बजेपछि प्रचारप्रसार निषेधको अवधि कायम गरेको छ।
यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृ सङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नमिल्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। 

यस निर्वाचनमा प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ। 


एमालेले सरकारलाई ७५१ बुँदे माग बुझायो 

एमालेले सरकारलाई ७५१ बुँदे माग बुझायो 


काठमाडौं, ९ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ७५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र सरकारलाई बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोलीले ७५१ मागहरू, समस्या, समस्या समाधानका उपायसहितसहितको ध्यानाकर्षण पत्र बुझाएको हो ।
आफूहरुले ४६ वटा क्षेत्रसँग सम्बन्धित ७५१ वटा माग तथा सुझावहरु बुझाएको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । पार्टीका स्थानीय कमिटी, विभिन्न राजनीतिक दल, उद्योगी-व्यवसायी, पालिकाहरू, स्थानीयवासी र सरोकारवालाले पेस गरेको पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक तथा आर्थिक विकासका विविध पक्ष समेटेर एमालेले प्रधानमन्त्रीलाई जनताको नासोका रूपमा कार्यान्वयन गर्न लिखित जानकारी गराएको उनको भनाइ छ।

प्रधानमन्त्रीले प्राप्त मागहरू कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । एमालेले मङ्सिर १४ बाट पुस १ गतेसम्म बैतडीको झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङ्गसम्म विज्ञ समूहसहित पदयात्रा गरेको थियो ।


 


कोसीमा एमाले र राप्रपाबीच तालमेल गर्ने सहमति, मतभारमा गठबन्धन अगाडि  

कोसीमा एमाले र राप्रपाबीच तालमेल गर्ने सहमति, मतभारमा गठबन्धन अगाडि  


काठमाडौं, ८ माघ । राष्ट्रियसभा निर्वाचनका लागि कोसी प्रदेशमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच तालमेल गर्ने सहमति भएको छ । एमाले कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले दिएको जानकारी अनुसार दुई पार्टीबीच राष्ट्रियसभा चुनावमा एकअर्काका उमेदवारलाई सघाएर जाने सहमति भएको हो ।

यता राप्रपाले भने महिला कोटामा एमालेकी रुक्मिणी कोइरालालाई सहयोग गर्ने सहमति भएको उनले बताए । प्रदेशसभा सदस्य र पालिकातर्फसमेत गरी कोसीमा एमालेको कुल मतभार चार हजार २१० छ । स्थानीय तहमा राप्रपाका चार प्रमुख/उपप्रमुख र प्रदेशसभा सदस्यसमेतको मतभार ३९४ छ । एमाले र राप्रपा जोड्दा कुल मतभार ४ हजार ५६६ पुग्छ ।

उता गठबन्धन दलसँग पाँचहजार ४८३ मतभार छ ।


प्रहरीसँगको झडपमा मधेस प्रदेशका शिक्षामन्त्रीको टाउको फुट्यो

प्रहरीसँगको झडपमा मधेस प्रदेशका शिक्षामन्त्रीको टाउको फुट्यो


काठमाडौं, ८ माघ । मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यासको विरोध कार्यक्रममा उत्रिएका मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री महेश प्रसाद यादवको टाउको फुटेको छ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सप्तरीको राजविराज नगरपालिका १३ बिसहरियामा गरेको कृषि विश्वविद्यालय शिलान्यास कार्यक्रमको विरोधमा उत्रिउका यादवको प्रहरीसँग झडप हुँदा टाउको फुटेको हो। 

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेस प्रदेशका शिक्षामन्त्री यादव र अर्थ तथा योजना समिति सभापति सतिश कुमार सिंह प्रहरीको दमनबाट घाइते भएको बताएका छन्। उनका अनुसार अरु कार्यकर्ताहरू पनि घाइते छन्।
 


राष्ट्रियसभा निर्वाचन: आज मध्यरातदेखि मौन अवधि, के-के गर्न पाइँदैन ?

राष्ट्रियसभा निर्वाचन: आज मध्यरातदेखि मौन अवधि, के-के गर्न पाइँदैन ?


काठमाडौं, ८ माघ । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आज राती १२ बजेदेखि मौन अवधि लागू हुने भएकाे छ । निर्वाचन आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै मध्यरातीदेखि चुनाव प्रसार/ प्रसार गर्न र मतदातालाई प्रभावित पार्ने कुनै पनि गतिविधि गर्न नपाइने जनाएको हाे ।

मौन अवधि मतदान कार्य समाप्त नहुन्जेलसम्म लागू हुनेछ। सो अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भातृ सङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचार प्रसार लगायत कुनै पनि प्रकारका छलफल,अन्तरक्रिया, सभा सम्मेलन,कार्यशाला गोष्ठी आदि गर्न पाउने छैनन्।


कुनै पनि विधि,प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल,अनलाइन,छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश,सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नपाउने आयोगले जनाएको छ।
 


लक्ष्मी पुनलाई कार्यकारी निर्देशकका रूपमा काम गर्न रोक

लक्ष्मी पुनलाई कार्यकारी निर्देशकका रूपमा काम गर्न रोक


काठमाडौं, ८ माघ । उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई तत्काल काम गर्न रोक लगाएको छ। 

कोषलाई विपक्षी बनाई भरत मरासिनीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीशहरू ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको इजलासले अन्तरिम आदेश जारी गरेको हो।
लक्ष्मी पुनको व्यक्तिगत विवरणमा उल्लेखित योग्यता र अनुभव नियमावलीमा उल्लिखित योग्यता र अनुभवसँग नमिलेको भन्दै उच्चले मुद्दाको अन्तिम टुंगो नलागेसम्मका लागि नियुक्तिपत्र कार्यान्वयन नगर्न नगराउन भनेको छ।m गत पुस ४ मा कोषको सञ्चालक परिषद्ले पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।
 


अखिल क्रान्तिकारी अध्यक्ष सिंहसहित ६ जनाविरुद्ध दोस्रो पटक पक्राउ पुर्जी

अखिल क्रान्तिकारी अध्यक्ष सिंहसहित ६ जनाविरुद्ध दोस्रो पटक पक्राउ पुर्जी


काठमाडौं, ७ माघ । कालिकोटका एकजना किशोरको हत्या अभियोगमा जिल्ला अदालत सुर्खेतबाट अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहसहितविरुद्ध दोस्रो पटक पक्राउ पुर्जी जारी भएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले अदालतलबाट शुक्रबार जारी भएको पक्राउ पुर्जी आइतबार आइपुगेको जानकारी दिए।  १५ वर्षअघि कालीकोटका १७ वर्षीय किशोर राजबहादुर मल्लको हत्यामा संलग्न भएको अभियोगमा सिंहसहित माओवादी कार्यकर्ताहरूविरुद्ध दोस्रो पटक पक्राउ पुर्जी जारी भएको हो। 

खड्काका अनुसार पक्राउ पुर्जी जारी भएसँगै घटनाबारे अनुसन्धान अघि बढाइएको छ। यसअघि पनि अदालतबाट पक्राउ पुर्जी जारी हुँदा प्रहरीले अभियुक्तहरूलाई पक्राउ गर्न आनाकानी गर्दै आएको थियो।
सुर्खेतको जन माध्यमिक विद्यालयका विद्यार्थी राजबहादुरको २०६५ फागुन २६ गते साँझ खुकुरी प्रहार गरी हत्या भएको थियो। त्यसपछि उनका काका नवराजले पदमबहादुर रावत ‘टाइगर’ विरुद्ध किटानी जाहेरी दिएका थिए। उक्त प्रकरणमा राजबहादुरका बुवाले पनि २०७९ ३ गते टाइगरसहित पञ्चा सिंहविरुद्ध पनि किटानी जाहेरी दर्ता गराएका थिए। 

यो प्रकरणमा कालिकोटको महावै गाउँपालिका निवासी अखिल क्रान्तिकारी अध्यक्ष सिंहसहित ६ जनाविरुद्ध प्रकाउ पुर्जी जारी भएको छ। 

प्रहरी निरीक्षक खड्काका अनुसार किशोर हत्या प्रकरणमा पदमबहादुर रावत, बालकृष्ण सिंह ‘गुराँस’ , टंकबहादुर सिंह, वीरबहादुर मल्ल  ‘सुभाष’ र अनिल कार्की ‘अशोक’ विरुद्ध पक्राउ पुर्जी जारी भएको हो। 


संसदीय समितिका सभापतिहरूसँग सभामुख घिमिरेको छलफल

संसदीय समितिका सभापतिहरूसँग सभामुख घिमिरेको छलफल


काठमाडौं, ७ माघ । संघीय प्रतिनिधि सभाअन्तर्गतका विषयगत समितिका सभापतिहरूसँग सभामुख देवराज घिमिरेले छलफल थालेका छन्।  सिंहदरबारस्थित कार्यकक्षमा १० वटा समितिका सभापतिहरुसँग सभामुखले करिब १ घण्टादेखि छलफल गरिरहेका छन्। समितिमा रहेका विधेयकहरुको अवस्थालगायतका विषयमा सभामुख घिमिरेले छलफल गरेको सभामुखको सचिवालयले जानकारी दिएको छ।
संसदको हिउँदे अधिवेशन बोलाउने तयारी भइरहँदा त्यसलाई प्रभावकारी बनाउने विषयमा सभामुख घिमिरेले संसदीय समितिका सभापतिहरुसँग छलफल गरेका हुन्। सरकारले संसदको हिउँदे अधिवेशन बोलाउनै बाँकी छ। 


 


राष्ट्रिय सभा निर्वाचनको समन्वय र सहजीकरणका लागि गठबन्धनका टोली प्रदेशमा जाने

राष्ट्रिय सभा निर्वाचनको समन्वय र सहजीकरणका लागि गठबन्धनका टोली प्रदेशमा जाने


काठमाडौं, ६ माघ । राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धन आबद्ध दलहरूले गठन गरेको 'राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समिति- २०८०'का प्रतिनिधिहरू प्रदेश स्तरमा खटिने भएका छन्। समितिको शनिबार बसेको बैठकले सो निर्णय गरेको हो।

‘राष्ट्रिय सभा निर्वाचनका लागि समन्वय र सहजीकरण गर्न विभिन्न प्रदेशमा यस समितिबाट जाने निर्णय गरियो’, समितिका सचिव केशवराज जोशीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

शनिबारको बैठकमा राष्ट्रिय सभा निर्वाचन २०८० का सन्दर्भमा सात वटै प्रदेशका उम्मेदवारहरूसँग निर्वाचनबारे जानकारी लिई प्राप्त सुझावबारे छलफल गरिएको छ।
राष्ट्रिय सभाको यही माघ ११ मा हुने निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरूले साझा उम्मेदवारी दिएका छन्। साथै, निर्वाचन केन्द्रित भएर समन्वय समिति पनि गठन गरेका छन्।


 


राष्ट्रियसभा चुनावका लागि सातै प्रदेशमा पुगिसक्यो मतपत्र

राष्ट्रियसभा चुनावका लागि सातै प्रदेशमा पुगिसक्यो मतपत्र


काठमाडौं, ५ माघ । निर्वाचन आयोगले माघ ११ गते हुन गइरहेको राष्ट्रियसभा निर्वाचनका लागि आवश्यक मतपत्र छापेर सातवटै प्रदेशहरूमा पुर्‍याएको छ। स्वीकृत मतपत्रको डिजाइन तथा मापदण्ड बमोजिमका सबै मतपत्रहरु छापिसकेर सातै प्रदेशका निर्वाचन अधिकृतहरुको कार्यालयमा पुर्‍याउने काम सम्पन्न भएको आयोगले जनाएको हो।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा मतदान हुने कानुनी व्यवस्था छ।

जसअनुसार प्रदेश सभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रहरु छापिएका छन्।

प्रदेशगत रुपमा रहेका निर्वाचक मण्डलका सदस्यको संख्या तथा निर्वाचन हुने पद संख्यालाई आधार मानी आयोगले तोकेको संख्यागत मापदण्डका आधारमा कोशी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९२० मतपत्र, मधेश प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९४० मतपत्र, बागमती प्रदेशमा निर्वाचन हुने चार पदका लागि आठ प्रकारका १७६० मतपत्र र  गण्डकी प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ९०० मतपत्रहरु छपाइ गरी प्रदेशमा पुर्या एको हो।

त्यसैगरी, लुम्विनी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ७४० मतपत्र, कर्णाली प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ७५० मतपत्र र सुदुरपश्चिम प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ९०० मतपत्रहरु रहेको पनि आयोगले जनाएको छ।

फाल्गुन २० देखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्य पदको लागि आगामी माघ ११ गते निर्वाचन हुँदै छ। मतदान सम्वन्धित प्रदेशका तोकिएका मतदान स्थल तथा मतदान केन्द्रहरुमा बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्मका लागि तोकिएको छ।