27 Baishak, 2081 / 9 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

राजनीति


राष्ट्रपतिद्वारा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी

राष्ट्रपतिद्वारा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी


काठमाडौं, ४ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० जारी गरेका छन्। बिहीबार राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्‌बाट सिफारिस आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० जारी गरेका हुन्।

मन्त्रिपरिषद्को सिफारिसमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम जारी गरेको राष्ट्रपित कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बताएकी छिन्।
 


आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनसम्बन्धी अध्यादेश जारी गरिने

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनसम्बन्धी अध्यादेश जारी गरिने


काठमाडौं, ३ माघ ।  सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयकलाई सदनमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ । त्यस्तै बैठकले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्कीलाई नियुक्त गरेको छ भने सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धक पदमा किरणबाबु पुनलाई नियुक्त गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै, बैठकले नरदेवी आयुर्वेद चिकित्सालय बिकास समितिको अध्यक्ष पदमा रमेशचन्द्र न्यौपानेलाई मनोनित गर्ने र गंगालाल अस्पतालको कार्यकारी निर्देशकमा डा. रवि मल्ललाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन् ।


पन्ध्र दिनभित्र प्रहरी समायोजन प्रक्रिया टुङ्याउन प्रधानमन्त्रीको निर्देशन

पन्ध्र दिनभित्र प्रहरी समायोजन प्रक्रिया टुङ्याउन प्रधानमन्त्रीको निर्देशन


काठमाडौं,३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी समायोजनको प्रक्रिया चाँडै टुङ्गाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा अधिकारीसँगको छलफलमा उनले उक्त निर्देशन दिएको हुन्  ।

प्रधानमन्त्री दाहालले नेपाल प्रहरी (प्रदेश प्रहरी कार्यसञ्चालन र समन्वय) ऐन, २०७६ जारी भएको लामो समय बित्दासमेत समायोजन अघि नबढेको भन्दै १५ दिनभित्र समायोजनको प्रक्रिया टुङ्गाउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा प्रधानमन्त्री दाहालले सङ्घीय कानुन नबन्दा र प्रहरी समायोजनको प्रक्रिया नटुङ्गिँदा प्रदेशलाई काम गर्न अप्ठ्यारो परेको भन्दै यसमा गम्भीर हुन निर्देशन दिएको हुन् ।

छलफलमा उपप्रधानमन्त्री श्रेष्ठ, सङ्घीय मन्त्री, सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्याल, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर, गृह मन्त्रालयका अधिकारी उपस्थित थिए ।

 


पर्यटनलाई समृद्धिको आधारका रुपमा स्थापित गर्नुपर्छः  राष्ट्रपति

पर्यटनलाई समृद्धिको आधारका रुपमा स्थापित गर्नुपर्छः  राष्ट्रपति


काठमाडौं, २ माघ ।  राष्ट्रपति रामचन्द्र पौडेलले जनसङ्ख्याको ठूलो हिस्सा निर्भर रहेको कृषि क्षेत्रमा उत्पादन भएका अन्नबाली तथा अर्गानिक खाद्यवस्तु सिधै होटलमा आपूर्ति गरी ‘फार्म टु प्लेट’को अवधारणा अघि बढाउन सुझाव दिएका छन्।
होटल संघ नेपालले आफ्नो स्थापना दिवसका अवसरमा मनाउन सुरु गरेको ‘प्रथम सत्कार दिवस, २०८०’ को आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले नेपालको मौलिक रैथाने खाना र संस्कृतिलाई समेत विश्वमाझ प्रवर्द्धन गर्न आवश्यक रहेको बताए। उनले भने, 'होटल आफैले कृषि फार्म सञ्चालन गरेर वा कृषकले सञ्चालन गरेका फार्मसँग सम्झौता गरी कृषिउपजलाई सिधै होटलका प्लेटमा पुर्‍याउने कार्यक्रम सञ्चालन गर्नुस्।'
राष्ट्रपति पौडेलले नेपालको होटल क्षेत्रले ‘अतिथि देवो भवः’ को मूल मर्मलाई जीवन्त राखी विश्वसामु राष्ट्रिय गरिमालाई अभिवृद्धि गर्न सफल हुनु खुसीको विषय भएको बताए। उनले भने, 'सेवा, सत्कार र आतिथ्य मुलुकको पहिचानको महत्वपूर्ण पाटो रहेको हुँदा यस क्षेत्रमार्फत राष्ट्रिय समृद्धि हासिल गर्न सम्भव हुने भएकाले होटल व्यवसायीको यसमा विशेष ध्यान जाने मैले अपेक्षा गरेको छु।'
उनले पर्यटन तथा होटलको विस्तारसँगै नेपालका नयाँ गन्तव्यको विकास र समृद्धि भएको बताउँदै मुलुकको पर्यटनलाई सफल तुल्याउन पूर्वाधारका काम भइरहेको र अगाडि बढिरहेको स्पष्ट पारे। राष्ट्रपति पौडेलले पर्यटनलाई आयआर्जन र समृद्धिको आधार बनाउनुपर्नेमा जोड दिए।
 


राष्ट्रिय सभा सदस्य चुनावका लागि आजदेखि आचारसंहिता लागू

राष्ट्रिय सभा सदस्य चुनावका लागि आजदेखि आचारसंहिता लागू


काठमाडौं, २ माघ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको चुनावका लागि आजदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले यसअघि आजदेखि माघ १२ गतेसम्म लागू हुने गरी आचारसंहिता जारी गरेको थियो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आचारसंहिता अवधिभर कुनै सार्वजनिक स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन पाइने छैन । यस्तै, प्रचारप्रसार लगायतका कुरामा पनि आयोगले गर्न नहुने कुराहरूको सूची सार्वजनिक गरिसकेको छ । कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी चुनावसम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने उल्लेख छ ।

यस्तै, राजनीतिक दल वा उम्मेदवारको चुनाव चिह्न अङ्कित कुनै सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने कानुनी व्यवस्था छ । साथै ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय र अपाङ्गता भएका व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुने गरी चुनाव प्रचारप्रसार गर्न वा गराउन तथा बालबालिकालाई चुनाव प्रचारप्रसारमा प्रयोग गर्न वा गराउन पाइँदैन ।

आचारसंहिताअनुसार प्रचलित कानुन बमोजिम निषेध गरिएको समय र ठाउँमा अवरोध हुने गरी कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला गरी चुनाव प्रचारप्रसार गर्न वा गराउन पाइँदैन ।

यस्तै, सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन, चुनावलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने जस्ता भ्रामक टिप्पणी गर्न वा गराउन नहुने उल्लेख छ । यसअघिका चुनावमा पनि आयोगले यसैगरी आचारसंहिता लागू गरे पनि दल र उम्मेदवारबाट पालना नगरेको पाइएको थियो ।


नेपाल ताइवान स्वतन्त्रताको विपक्षमा छ : प्रधानमन्त्री 

नेपाल ताइवान स्वतन्त्रताको विपक्षमा छ : प्रधानमन्त्री 


काठमाडौं, २९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल ताइवान स्वतन्त्रताको विपक्षमा रहेको बताएका छन्। आइतवार काठमाडौँमा चिनियाँ नयाँ वर्षको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। उनले ताइवान चीनकै अभिन्न अंग भएको बताए।
उनले ‘ताइवान स्वतन्त्रता’ का सम्बन्धमा नेपालको प्रष्ट दृष्टिकोण रहेको र आफ्नो चीन भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा प्रष्ट पारेको बताए।
उनले नेपाल एक चीन सिद्धान्तप्रति दृढ रहेको उल्लेख गर्दै नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र भएको बताए। उनले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा दुई देशको सम्बन्ध प्रगाढ रहेको बताए।

‘हामीले असल मित्रका रुपमा एकअर्काको संवेदशनीलतालाई नजिकबाट बुझेका छौँ। शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध रहिआएको छ‚’ प्रधानमन्त्रीले भने, ‘नेपाल एक चीन सिद्धान्तप्रति स्पष्ट र दृढ छ। आन्तरिक तथा वाह्य मामिलामा आएको परिवर्तनबाट हाम्रो प्रतिबद्धता कुनै हालतमा प्रभावित हुँदैन। ताइवान चीनकै अभिन्न अङ्ग हो।’

उनले ताइवान स्वतन्त्रताका सम्बन्धमा नेपालको प्रष्ट दृष्टिकोण रहेको पनि बताए। ‘हामी फेरि भन्न चाहन्छौँ हामी ताइवान स्वतन्त्रताको विपक्षमा छौँ‚’ उनले भने।

प्रधानमन्त्री प्रचण्डले चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने पनि स्पष्ट पारे। दुई देशको सभ्यता नदी र हिमशृङ्खलाले मात्र नजोडिएको भन्दै दुई देशका साझा संस्कृति र जनस्तरको सम्बन्ध पनि प्रमुख रहेको उनले बताए।


राष्ट्रिय सभा सदस्यका उम्मेदवारले ३ लाख ५० हजारसम्म खर्च गर्न पाउने

राष्ट्रिय सभा सदस्यका उम्मेदवारले ३ लाख ५० हजारसम्म खर्च गर्न पाउने


काठमाडौं, २९ पुस । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारले तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने भएका छन्। निर्वाचन आयोगले आइतबार एक सूचना जारी गर्दै उमेदवारले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ ९१० सँग सम्बन्धित अनुसूची–१ अनुसार खर्च गर्न पाउने जनाएको छ। 
उक्त खर्च मतदाता नामावली खरिद, सवारी साधन, सवारी सधानको इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा गर्न सकिने आयोगका प्रवक्ता सहसचिव शालिकराम पौडेलले बताए। 
‘यसरी खर्च गर्दा उम्मेदवारको तर्फवाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी उनको नाम नामसहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउन आयोग निर्देशन गर्दछ,’ आयोगले भनेको छ, ‘निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३१ बमोजिम निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र आयोग वा निर्वाचन कार्यालयमा पेश गर्नसमेत आयोग निर्देश गर्दछ।’


 


राष्ट्रियसभामा सत्तागठन्धनका १९ उम्मेदवारलाई जिताउन ७ दलको अपिल

राष्ट्रियसभामा सत्तागठन्धनका १९ उम्मेदवारलाई जिताउन ७ दलको अपिल


काठमाडौं, २९ पुस ।  सत्ता गठबन्धन सम्बद्ध दलहरुले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन अपिल गरेका छन् । आइतबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा बसेको बैठकले राष्ट्रियसभा निर्वाचनबाट गठबन्धनलाई थप बिलियो बनाउनुपर्ने निष्कर्ष निकालेको हो ।

‘राष्ट्रियसभाको निर्वाचन सम्पन्न हुँदैछ । निर्वाचनका लागि गठबन्धनको तर्फबाट प्रस्तुत उम्मेदवार हामी सबैका साझा उम्मेदवार हुन् । राष्ट्रियसभा निर्वाचनको क्रममा हाम्रो गठबन्धनलाई कमजोर गर्ने विभिन्न गतिविधि हुन सक्दछन् । यो निर्वाचन गठबन्धनलाई अझ संगठित र बलियो बनाउँदै देशमा राजनितिक स्थायित्व थप सुनिश्चित गर्ने अवसर पनि हो,’ अपिलमा भनिएको छ ।

गठबन्धनका उम्मेदवारलाई जिताउन कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा नाउपा र जनमोर्चा गरी सात दलको साझा अपील छ । ‘नेपालको संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरणका लागि हामीले यो राजनीतिक गठबन्धन निर्माण गरेका हौं । देशमा दिगो शान्ति, सुशासन, विकास, समृद्धि र सामाजिक न्याय प्राप्त गर्ने हाम्रो साझा लक्ष्य हो । देशको उन्नतिका लागि राजनीतिक स्थीरता पूर्वशर्त हो । लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरण, राजनीतिक स्थीरता, दिगो शान्ति, शुसासन र समृद्धिका लागि प्रतिवद्ध छौ र सदैव निष्ठापूर्वक क्रियाशील रहने प्रतीज्ञा गर्दछौ,’ अपिलमा भनिएको छ ।

यस्तै गठबन्धनका पक्षमा दृढतापूर्वक उभिन आवश्यक रहेको सात दलको भनाइ छ । ‘हामी सम्पूर्ण मतदातालाई राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका देहाय बमोजिमका साझा उम्मेदवारलाई मतदान गरी अत्यधिक मतले विजय गराउन हार्दिक अपील गर्दछौं,’ सात दलको अपिल छ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनबाट कांग्रेसका १०, माओवादीका ६, एकीकृत समाजवादीका २ र जसपाका १ उम्मेदवार छन् । 


 


पृथ्वीनारायण शाहको तस्बिर नेपाली नोटमा अंकित गर्न कमल थापाको माग

पृथ्वीनारायण शाहको तस्बिर नेपाली नोटमा अंकित गर्न कमल थापाको माग


काठमाडौं, २७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग आफ्नो पार्टीको एकता हुँदैमा मुलुकमा राजसंस्था पुनर्स्थापना हुन नसक्ने बताएका छन्।

पूर्वउपप्रधानमन्त्री समेत रहेका अध्यक्ष थापाले सबै देशभक्त, प्रजातान्त्रिक शक्तिहरु बीचको वृहत मोर्चा बनाएर मात्रै मुलुकमा राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना गर्न सकिने बताएका हुन्।

२०३ औं पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसर पारेर शुक्रवार पार्टीले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै उनले राजादेखि माओवादीसम्म अटाउने राजनीतिक प्रणालीको विकास गर्न पनि सबै राजनीतिक दलहरुलाई आग्रह गरे।


कसैलाई पनि निषेध नगर्ने खालको राजनीतिक प्रणालीको विकास गर्न सकेमात्रै मुलुकमा शान्ति, राजनीतिक स्थायित्व र आर्थिक विकास सम्भव हुने अध्यक्ष थापाको भनाई थियो।उनले पृथ्वीनारायण शाहको योगदान कुनै संस्था वा राजनीतिक व्यवस्थासँग मात्रै सम्बन्धित नभएकाले त्यस रुपमा हेर्न नहुने पनि बताए।


थापाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई राजकीय रुपमा मनाउन र उनको तस्बिर नेपाली नोटमा अंकित गर्न पनि सरकारसँग माग गरे।


‘भारतीय दूतावासले सिँधै २० करोड रुपैयाँ खर्च गर्न पाउने सम्झौतामा धेरै तनाव लिनुपर्दैन’

‘भारतीय दूतावासले सिँधै २० करोड रुपैयाँ खर्च गर्न पाउने सम्झौतामा धेरै तनाव लिनुपर्दैन’


काठमाडौं, २५ पुस ।  प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग भएको दूतावासले २० करोड रुपैयाँ नेपालमा खर्च गर्न पाउने सम्झौतामा धेरै तनाव लिनुपर्ने बताएका छन्।

बुधबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले भारतसँग हाल भएको सम्झौतामा भारतीय पक्षलाई एकपक्षीय रूपमा आयोजना छनौट गर्न र कार्यान्वयन गर्न कुनै पनि प्रावधान नराखिएको बताए।

सम्झौतामा नेपाल सरकारले चाहेको बेलामा जुनसुकै निर्णय गर्नसक्ने पनि प्रधानमन्त्री दाहालको भनाइ छ। बैठकमा प्रधानमन्त्री दाहालले विगतमा ५ करोड लिँदा राष्ट्रहितविपरीत नहुने अहिले २० करोड लिँदा चाहिँ राष्ट्रहित विपरीत कसरी हुन्छ भन्दै सांसदहरूलाई नै प्रश्न गरे।

प्रधानमन्त्री दाहालले यो सहमति भारतीय विदेशमन्त्री आउँदा सार्वजनिक भए पनि यो निर्णय त सरकारले २०–२५ दिनअघि नै गरेको बताए।