23 Baishak, 2081 / 5 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

खेलकुद


नेपालले जित्यो त्रिदेशीय फुटबलको उपाधि

नेपालले जित्यो त्रिदेशीय फुटबलको उपाधि



काठमाडौं, १६ चैत । नेपालले त्रिदेशीय कप फुटबलको उपाधि जितेको छ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सोमबार भएको खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको हो।

नेपालका लागि पहिलो गोल खेलको १७ औँ मिनेटमा सञ्जोग राईले गरेका थिए भने विशाल राईले ४१ औँ मिनेटमा गोल गर्दै नेपालको अग्रता दोब्बर बनाएका थिए। विशालले अफसाइड ट्र्याप बिट गरेर सेकेण्ड बार च्यापेर उत्कृष्ट गोल गरेका थिए।

बंगलादेशले खेलको ८२ औँ मिनेटमा एक गोल फर्काएर खेलमा फर्कने कोशिस गरेको थियो। बंगलादेशका लागि महोबबुर रहमानले एक गोल फर्काएका हुन्।

नेपालले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा १८ महिनापछि गोल गरेको हो। यसअघि नेपालले सन् २०१९ को सेप्टेम्बरमा चाइनिज ताइपेइविरुद्ध २–० गोलले जित हात पारेको थियो।

त्यसयता सात वटा खेल खेलेको नेपालले चार वटा हार र तीन बराबरीको नतिजा निकालेको थियो। लगातार चार खेल हारेको नेपालले त्यसपछि लगातार तीन बराबरी खेलेको थियो।

नेपालले अन्तिम हार केही महिनाअघि बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा ब्यहोरेको थियो। बंगलादेशमा भएको उक्त खेलमा नेपाल २–० ले पराजित भएको थियो। नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि दशरथ रंगशाला पुगेका थिए।


काठमाडौं मेयर कप क्रिकेटको उपाधि पुलिस क्लबलाई 

काठमाडौं मेयर कप क्रिकेटको उपाधि पुलिस क्लबलाई 



काठमाडौं, २९ फागुन । काठमाडौं मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबारभएको फाइनल खेलमा पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई आठ विकेटले पराजित गरेको हो । उपाधिसँगै पुलिस क्लबले रु पाँच लाख पुरस्कार जितेको छ । उपविजेता एपीएफ क्लबले रु तीन लाख पुरस्कार प्राप्त गरेको छ । टस जितेर ब्याटिङ गरेको एपीएफ क्लबले नेपाल पुलिस क्लब सामु जितका लागि १०६ रनको झिनो लक्ष्य प्रस्तुत गरेको थियो । एक सय ६ रनको विजय लक्ष्य पुलिस क्लबले २४ दशमलव एक ओभरमा दुई विकेट गुमाएर पूरा ग¥यो ।     
     
पुलिस क्लबका लागि सुनिल धमलाले अविजित ५९ रनको योगदान दिनुभयो । उहाँले ८२ बल खेल्दै दुई छक्का र सात चौका प्रहार गर्नुभयो । यस्तै दिपेन्द्रसिंह ऐरीले अविजित ११, कुशल भुर्तेलले १५ तथा अनिल साहले १५ रन बनाउनुभयो । बलिङतर्फ एपीएफका अभिनाश बोहरा र भुवन कार्कीले एकरएक विकेट लिए ।      
     
यसअघि ब्याटिङ गर्ने क्रममा एपीएफ क्लबले २९ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १०५ रन मात्र बनायो । एपीएफले पाँच रनमा पहिलो विकेट गुमाएको थियो । टोलीको स्कोर १० रन छँदा उसले आफ्ना तीन महत्वपूर्ण विकेट गुमाउन पुग्यो । शङ्कर राना चार रनमा तथा आसिफ शेख र शरद भेषवाकरबिना कुनै रन पेभेलियन फर्किए । 
     
यस्तै भुवन कार्कीले १४, सन्दीप जोराले १८, वसन्त रेग्मीले २२, अभिनाश बोहराले १२ तथा अमर रौटेलाले १८ रन बनाए । बलिङतर्फ गुल्सन झा र सागर ढकालले चार÷चार विकेट लिनुभयो । यस्तै पवन शर्राफ र ललित राजवंशीले एक एक विकेट लिए ।  प्रतियोगितामा पुलिस र एपीएफसँगै नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, वाग्मती प्रदेश र काठमाडौँ मेयर ११ सहभागी थिए ।     


म्यानचेस्टर प्रिमियर लिगको शीर्ष स्थानमा 

म्यानचेस्टर प्रिमियर लिगको शीर्ष स्थानमा 



एजेन्सी । म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा फर्किएको छ ।

लेस्टर शीर्ष स्थानमा उक्लिएको २४ घण्टा पनि नवित्दै फेरि तेस्रो स्थानमा झरेको हो । बुधबार राति भएको खेलमा फुलह्याममाथि २–१ गोल अन्तरको जित दर्ता गर्दै म्यानचेस्टर युनाइटेड शीर्ष स्थानमा उक्लन सफल भयो ।

युनाइटेडविरुद्ध घरेलुु मैदानमा फुलह्यामले अग्रता लिए पनि जोगाउन असफल रह्यो । पाँचौं मिनेटमा अडेमोला लुकम्यानले गोल गर्दै फुलह्यामलाई अग्रता दिलाएका थिए ।

तर, २१ औं मिनेटमा इडिन्सन काभानीले गोल गरेपछि म्यानचेस्टर युनाइटेडले पहिलो हाफमै बराबरी गर्न सफल भयो । ६५ औं मिनेटमा पौल पोग्बाले गोल गरेपछि युनाइटेडले २–१ गोल अन्तरको जित दर्ता गर्न सफल भयो ।

१९ खेलबाट ४० अंकसहित युनाइटेड शीर्ष स्थानमा रहँदा एक खेल कम खेलेको म्यानचेस्टर सिटी ३८ अंकका साथ दोस्रो स्थानमा छ भने सामान ३८ अंक भएको लेस्टर तेस्रो स्थानमा छ ।


ललितपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष थापाको निलम्बन फुकुवा

ललितपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष थापाको निलम्बन फुकुवा



काठमाडौं, ६ माघ ।  अखिल नेपाल फुटबल सङ्घ एन्फाले ललितपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष पुरुषोत्तम थापाको निलम्बन फुकुवा गरेको छ । 
१९ औं साधारणसभाको पूर्वसन्ध्यामा एन्फाले १० महिनापछि अध्यक्ष थापालाई कारबाहीबाट मुक्त गरेको हो । अनुशासनको कारण देखाउँदै थापालाई एन्फाले गएको जेठ ५ गते निलम्बन गरेको थियो ।  थापाले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै एन्फाले उनलाई कारबाही गरेको थियो । 

एन्फा पदाधिकारीलाई सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरेको भन्दै अध्यक्ष थापालाई कारबाही गर्ने निर्णय गरेको थियो । आफूमाथि गरिएको कारबाहीका विरुद्ध थापाले राष्ट्रिय खेलकूद परिषद् (राखेप) विश्व फुटबल महासङ्घ (फिफा) र एशियाली फुटबल महासङ्घ (एएफसी)मा समेत उजुरी दिएका थिए । 
 


प्रिमियर लिगमा म्यानचेस्टर सिटी तेस्रो स्थानमा उक्लियो

प्रिमियर लिगमा म्यानचेस्टर सिटी तेस्रो स्थानमा उक्लियो


एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी तेस्रो स्थानमा उक्लिएको छ । बुधाबाररातिको खेलमा ब्राइटनलाई एक शून्य गोल अन्तरले हराउँदै म्यानचेस्टर सिटी अंक तालिकाको तेस्रो स्थानमा  पुगेको हो । 
म्यानचेस्टर सिटीका लागि पहिलो हाफको अन्तिम समयमा फिल फोडेनले गरेको एक गोल नै निर्णायक बन्यो । फोडेनले केबिन डि ब्रुएनाको पासको मद्दतमा खेलको ४४ औं मिनेटमा गोल गरेका थिए । जितसँगै म्यानचेस्टर सिटीले १६ खेलबाट ३२ अंक जोडेको छ । पराजित ब्राइटन भने १४ अंककासाथ तालिकाको १७ औं स्थानमा छ । 


एन्फा र बक्सिङ संघका पूर्व महासचिव शाहीको निधन

एन्फा र बक्सिङ संघका पूर्व महासचिव शाहीको निधन


काठमाडौं, २७ पुस । राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक, अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल बक्सिङ संघका पूर्व महासचिव लोकबहादुर शाहीको निधन भएको छ । उनको ६५ वर्षका उमेरमा आइतबार राति दैलेखको चौडत्तास्थित घरमा निधन भएको एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए । 
उनी बिभिन्न रोगको संक्रमणले थलिएका थिए । 

शाही सन् १९७९ देखि १९८९ सम्म नेपाली राष्ट्रिय टोलीको गोलरक्षक थिए । नेपालले सन् १९८२ मा पहिलो आधिकरिक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेल्दा तथा सन् १९८४ मा दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्दा राष्ट्रिय टोलीको प्रमुख खेलाडीका रुपमा थिए । २०५२ सालमा एन्फाको निर्वाचनबाट महासचिव निर्वाचित भएका शाहीले २ कार्यकाल विताए । २०६० सालयता २ कार्यकाल उनले नेपाल बक्सिङ संघको महासचिवका रुपमा जिम्मेबारी संहालेका थिए । उनी नेपाल आइस हकी संघका संस्थापक अध्यक्षसमेत हुन् ।


क्रिकेटर कुन्दन सिंहको २५ वर्षको उमेरमा निधन

क्रिकेटर कुन्दन सिंहको २५ वर्षको उमेरमा निधन


काठमाडौं, २६ पुस । क्रिकेटर कुन्दन सिंहको २५ वर्षको उमेरमा निधन भएको छ । मिर्गौलामा गम्भीर समस्या देखिएपछि थलिएका सिंहको महोत्तरीको जलेश्वर–९ फुल्हटा निवासी सिंहको आइतबार बिहान घरमै निधन भएको हो । प्रदेश २ क्रिकेट टिमका ओपनर ब्याट्सम्यान सिंह मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्थामा पुगेपछि उनको डायलसिस गरिँदै आएको थियो ।
क्रिकेट एसोसिएसन अफ नेपालले सिंहको निधनबाट स्तब्ध भएको जनाउँदै श्रद्धाञ्जली अर्पण गरेको छ । अभ्यासकै क्रममा मिर्गौलामा समस्या देखिएपछि एक वर्षयता उनी नियमित डायलसिसमा थिए । आर्थिक अवस्था कमजोर भएका उनको रकम संकलन गरेर उपचार भइरहेको थियो । विद्यालय पढ्दै गर्दा बुबा–आमा गुमाएका उनी मामा अनोज सिंहसँग जलेश्वरमा बस्दै आएका थिए । राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगितामा उनले चारपल्ट यू–१६, तीनपल्ट यू–१९ र तीनपल्ट खुला प्रतिस्पर्धामा आफ्नो प्रदर्शन देखाएका थिए । 


बार्सिलोनाले हुएस्कालाई हरायो 

बार्सिलोनाले हुएस्कालाई हरायो 


एजेन्सी । स्पेनिस लालिगामा बार्सिलोनाले हुएस्कालाई १-० गोलले हराएको छ । आइतबार राति भएको खेलमा मेस्सीले बार्सिलोनाका लागि ७ सय ५० औं र ला लिगामा ५ सयौं खेल पूरा गरे । उनकै पासमा फ्रेन्की डी जोङले गरेको शानदार गोल नै बार्सिलोनाको जितमा निर्णायक बन्यो ।
गोलसहित पहिलो हाफमा बार्सिलोनाले खेल पूर्ण नियन्त्रणमा राखेको थियो । मेस्सीको एउटा फ्रिकिक प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो ।
यो नतिजाले बार्सिलोनालाई अंकतालिकाको पाँचौं स्थानमा पुर्‍याएको छ  ।

 


सेनालाई एएफसी कप क्लब लाइसेन्स हस्तान्तरण    

सेनालाई एएफसी कप क्लब लाइसेन्स हस्तान्तरण    


काठमाडौं, १५ पुस। एसियाली फुटबल सङ्घ (एएफसी)ले प्रदान गरेको एएफसी कप क्लब लाइसेन्स त्रिभुवन आर्मी फुटबल क्लबलाई हस्तान्तरण गरिएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा बुधबार आयोजित समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापालाई अखिल नेपाल फुुटबल सङ्घ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पाले उक्त लाइसेन्स हस्तान्तरण गर्नुभएको हो । त्रिभुवन आर्मी फुटबल क्लब नेपाली सेनाको विभागीय टोली हो ।     
     
एएफसीको ‘क्लब लाइसेन्सिङ अपिल बडी’को यही पुस ७ गतेको बैठकले त्रिभुवन आर्मी क्लबलाई उक्त लाइसेन्स प्रदान गर्ने निर्णय गरेको थियो । उक्त अनुमति प्राप्त गरेसँगै त्रिभुवन आर्मी क्लबले एपएफसी कप क्लबअन्तर्गत सञ्चालन हुने व्यावसायिक फुटबल प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गरेको छ ।     
     
एएफसी विश्व फुटबल महासङ्घ (फिफा) भित्रका ६ सङ्घमध्येको एक हो । एएफसीमा ४७ देश सदस्यका रुपमा आबद्ध छन् । उक्त संस्था सन् १९५४ फिलिपिन्सको मनिलामा गठन भएको थियो । हाल एएफसीको मुख्यालय मलेसियाको क्वालालम्पुरमा छ । नेपालमा एएफसीले क्लब लाइसेन्सिङको प्रक्रिया सन् २०१६ देखि लागू गरेता पनि सन् २०१८ देखि लाइसेन्स अनिवार्य गरिएको थियो ।     
     
एन्फाले नेपालका सबै ‘ए’ डिभिजन क्लबलाई एएफसी लाइसेन्स प्रक्रिया पूरा गर्न निर्देशन दिए पनि आर्मी क्लबबाहेक कुनै पनि क्लबले मापदण्ड पूरा गर्न सकेका छैनन् । त्रिभुवन आर्मी फुटबल क्लब एएफसी लाइसेन्स प्राप्त गर्ने नेपालकै पहिलो क्लब हो । क्लब लाइसेन्स हस्तान्तरण कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले आर्मी क्लबले उक्त लाइसेन्स प्राप्त गर्नु सिङ्गो मुलुकको खेलकूद क्षेत्रकै सफलता भएको बताए । 


इंग्लिस प्रिमियर लिगमा चेल्सी र एस्टोन बराबरीमा 

इंग्लिस प्रिमियर लिगमा चेल्सी र एस्टोन बराबरीमा 


एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र एस्टोन भिल्लाबीचको खेल बराबरीमा रोकिएका छन् । सोमबार राति भएको खेलमा ३४ औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा त्यो अग्रता कायम राख्न सफल भएको चेल्सीले दोस्रो हाफको पाँचौं मिनेटमा गोल खान पुग्यो । एस्टोनका लागि अनवार घाजीले गोल गर्दै खेल बराबरी गरेका थिए । सोमबार रातिको नतिजासँगै चेल्सीले लगातार पाँच खेलमा स्पष्ट तीन अंक लिन असफल रह्यो ।

यस्तैमा, चेल्सीका पूर्व स्ट्राइकर क्रिस सटनले नियमित जितको निरन्तरता दिन नसक्ने हो भने क्लबका प्रशिक्षक फ्र्यांक लाम्पार्डको भविश्य खराव बन्दै गइरहेको टिप्पणी गरेका छन् । १२ डिसेम्बरमा एभर्टनलाई पराजित गर्न सकेको भए चेल्सी प्रिमियर लिगको शीर्ष स्थानमा पुग्ने थियो । तर त्यसो हुन सकेन । पछिल्ला ५ मध्ये चौथो खेलमा चेल्सीले स्पष्ट तीन अंक हासिल गर्न नसकेको अवस्थामा उनको यस्तो प्रतिक्रिया आएको हो ।

सोमबार रातीकै खेलमा क्रिष्टल प्यालेस र लेस्टर सिटीबीचको खेल पनि १–१ को बराबरीमै सकिएको छ । लिगमा लगातार दोस्रो बराबरी खेलेको लेस्टर दोस्रो स्थानमा यथावत छ । उसको १६ खेलबाट २९ अंक भएको छ ।  कोरोना संक्रमित पाइएपछि म्यानचेस्टर सिटी र एभर्टनबीचको खेल स्थगित गरिएको छ ।