11 Ashwin, 2080 / 28 September , 2023
एजेन्सी । रुसले कब्जामा लिएको युक्रेनको दक्षिणी शहर खेर्सनमा स्थानीय बासिन्दाले प्रदर्शन गरेका छन्। रुसी आक्रमण र नियन्त्रणविरुद्ध स्थानीय बासिन्दाले सोमबार प्रदर्शन गरेका हुन्। तर प्रदर्शनकारीमाथि रुसी सुरक्षाकर्मीले गोली चलाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
सामाजिक सञ्जालमा पोस्ट भएका तस्बिर तथा भिडियोमा रुसी सैनिकले प्रदर्शनकारीलाई तितरवितर पार्न गोली चलाउनुका साथै बिस्फोट पनि गराएको देखिएको छ ।
घटनामा केही प्रदर्शनकारी घाइते भएका छन् । मार्च ३ मा रुसी सैनिकले खेर्सन शहर कब्जा गरेका हुन् । त्यसयता त्यहाँ लगातार युक्रेनीहरुले प्रदर्शन गर्दै आएका छन् ।
यसैबीच अमेरिकाले युक्रेन युद्धमा रुसले गरेका युद्ध अपराधका प्रमाणहरु संकलन गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
गएको फेब्रुअरी २४ देखि रुसले युक्रेनमा आक्रमण गर्दै आएको छ।
उसले बाल अस्पताल, प्रसुति वार्ड, विद्यालय, संग्राहलय, सार्वजनिक स्थल, आवासीय क्षेत्र तथा आवासीय भवनालाई निशाना बनाएको छ ।