23 Baishak, 2081 / 5 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

प्रधानमन्त्री चार दिने भारत भ्रमणमा जाँदै, यस्तो छ भ्रमण तालिका




प्रधानमन्त्री चार दिने भारत भ्रमणमा जाँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौं, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत भ्रमणमा जाँदै छन् । प्रचण्ड दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत प्रस्थान गर्ने तालिका तय भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।  भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा प्रचण्ड आज भारत भ्रमणमा जान लागेका हुन् । 

“बुधबार दिउँसो १ बजे नेपाल एयरलाइन्सबाट जाने तय भएको छ,” सचिवालयले भन्यो, “भ्रमण टोलीमा ६० जनाभन्दा कम नै सहभागी हुने तयारी भएको छ ।”

प्रधानमन्त्री प्रचण्ड चारदिने भ्रमणका लागि आज भारत जान लागेका हुन् । भ्रमण टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउदसहित पाँच मन्त्री रहनेछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् । भ्रमणको दोस्रो दिन प्रचण्डले भारतीय समकक्षीसँग जेठ १८ गते भेटवार्ता गर्नेछन् । 

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । 

वार्तापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् । भारतका प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् । 

प्रधानमन्त्री प्रचण्डले नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले संयुक्तरूपमा आयोजना गर्ने नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्नाका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । 

प्रधानमन्त्रीका रूपमा प्रचण्डको यो चौथो भारत भ्रमण हो । प्रचण्ड जेठ २० गते स्वदेश फर्किने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
 



Related News


यसमा तपाइको मत


Comments