21 Baishak, 2081 / 3 May , 2024
काठमाडौं, ७ मंसिर । आजको विरोध प्रदर्शनलाई लिएर नेपाल प्रहरीले सुरक्षा व्यवस्था मजबुत बनाएको जनाएको छ । आज नेकपा एमालेको भ्रातृ संगठन नेपाल युवा संघ र व्यवसायी दुर्गा प्रसाईंले गर्ने बिरोध कार्यक्रमका लागि सुरक्षा कडा पारिएको काठमाडौं प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्र खत्रीले बताए ।
बिरोध प्रदर्शनबाट हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गरी एकीकृत सुरक्षा योजना तयार पारेको उनले जानकारी दिए । सर्वसाधारणको दैनिकीलाई पनि सहजीकरण गर्नको लागि सवारी आवागमनलाई सहज बनाउने योजनाअनुसार सुरक्षा निकाय अघि बढेको उनको भनाइ छ ।
नागरिकहरुलाई कुनै डर र त्रास नलिकन आफ्नो दैनिकी बिताउन खत्रीले आग्रह गरे । यातायातको आवागमनमा भने केही समस्या भएपनि त्यसको लागि पनि ट्राफिक प्रहरीसँगको समन्वयमा व्यवस्थापन गर्ने उनको भनाइ छ । मंसिर ७ गतेको प्रदर्शनमा प्रहरी प्रशासन प्रभावकारी रुपमा अघि बढ्ने गरी योजना बनाइएको उनको भनाइ छ ।
तीनवटै सुरक्षा निकायले एकीकृत सुरक्षा योजना बनाए लागू गरिसकेको उनले जानकारी दिए । १० हजार प्रहरी तैनाथ उपत्यकाको सुरक्षाका लागि प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको जनशक्ति फिल्डमै खटाइएको छ । त्यस्तै सेनासहितको संयुक्त सुरक्षा संयन्त्रलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा अपरेसन कमान्डका रूपमा खडा गरिएको छ ।
प्रसाईं नेतृत्वको अभियानले व्यवस्था परिवर्तनको मागसहित आन्दोलनका लागि देशका विभिन्न भागबाट मानिसहरु ल्याउने लगायतको काम गरिरहेकोले सरकारले व्यवस्थाविरोधी पक्षबाट अप्रिय घटना हुन सक्ने जोखिमको आकलन गरेर सुरक्षा संयन्त्रलाई हाई अलर्टमा राखेको छ ।