21 Baishak, 2081 / 3 May , 2024
काठमाडौं, २७ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको धुम्बाराहीस्थित केन्द्रीय कार्यालय भवन नभत्काउन उच्च अदालत पाटनले आदेश दिएको छ। न्यायाधीशहरु हरिप्रसाद पौडेल र पुरुषोत्तम ढकालको इजलासले काठमाडौं महानगरपालिकालाई भवन नभत्काउन आदेश दिएको हो।
उसले प्रक्रिया पुर्याएर नक्सा पासका लागि निवेदन दिए ‘कानुन बमोजिम गर्नु’ भनी अदालते महानगरलाइ आदेश दिएको छ। नेपाल विद्युत प्राधिकरणको हाइटेन्सन लाइनमुनि भवन बनाएको भन्दै महानगरपालिकाले गत साउन १२ गते भवन भत्काउन माइकिङ गरेको थियो। त्यसको तीन दिनपछि महानगरपालिकाको टोली डोजर लिएर पुगेको थियो।
त्यतिबेला राप्रपाको कार्यकर्ता पनि प्रतिकार गर्ने उद्देश्यसहित भेला भएका थिए। जिल्ला प्रशासन कार्यालयको समन्वयमा त्यस दिन काठमाडौं महानगरपालिकाको टोली डोजर नलगाई फिर्ता भएको थियो।
त्यसपछि राप्रपालाई जग्गादान गर्ने जग्गादाता कल्याणी राजभण्डारी र प्रभा चापागाईंले आफ्नो जग्गामा बनेको भवन नभत्काउन माग गर्दै उच्च अदालत पाटनमा रिट दिएका थिए ।
उक्त रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतले भवन नभत्काउन आदेश दिएको हो ।