15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

News


बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै


काठमाडौं, ६ वैशाख । आज र भोलि (वैशाख ६ र ७ ) गते पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ। भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने स्वास्थ्य सेवा विभागको पोषण शाखाले जनाएको छ ।

भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने तयारी गरिएको छ । सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो ।

भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका र १० हजार स्वास्थ्यकर्मी खटाइदै छ । कार्यक्रमसँगै सोही दिन खोप लगाउन छुटेका बालबालिका खोप पनि लगाइने छ ।

सरकारले प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ ।
 


पोखरा महानगरमा घुस प्रकरण: अर्का इन्जिनियर शिवराज पक्राउ

पोखरा महानगरमा घुस प्रकरण: अर्का इन्जिनियर शिवराज पक्राउ


काठमाडौं, ५ वैशाख । घुस प्रकरणमा पोखरा महानगरपालिकाका अर्का इन्जिनियर पनि पक्राउ परेका छन् । घर सम्पन्नको प्रमाणपत्र दिने क्रममा पोखरा महानगरपालिकाका सबइन्जिनियर उषाकिरण रोकाया पक्राउपछि अनुसन्धान तीव्र बनाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्सा शाखाकै अर्का इन्जिनियर शिवराज बराल पक्राउ परेका हुन् ।

गत चैत २८ गते घर निर्माणको घर नक्सा प्रमाणपत्र दिने क्रममा सब इन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई अख्तियारले पक्राउ गरेको थियो । उनीहरु १ लाख ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका थिए ।

त्यही प्रकरणमा मंगलबार साँझ बराललाई पनि पक्राउ गरी अख्तियारको केन्द्रीय कार्यालय टंगाल पठाइएको सूचना अधिकारी जगदिश शिवाकोटीले जानकारी दिए । उनीहरुले यही एउटै काममा पनि पटक पटक घुस लिएको खुलेको छ ।

बराललाई थप अनुसन्धानका लागि अख्तियारको केन्द्रीय कार्यालय पठाइएको छ ।
 


एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ


काठमाडौं, ५ वैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लागू औषध मुद्दामा दोषी ठहर भएका लामालाई कैद भुक्तानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीलाई लामालाई पक्राउ गरेर अदालत पेश गर्ने तयारी गरिरहेको छ । लामालाई बुधवार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ । 

ब्राउन सुगर मुद्दामा अदालतबाट दोषी ठहर भएर पनि उनी पक्राउ पर्न सकेका थिएनन् । यहीबीचमा उनी एन्फा उपाध्यक्ष बनेका थिए ।

लामालाई ५ वर्ष कैद सजाय भएकामा करिब ४ वर्ष भुक्तान हुन बाँकी थियो। गएको एन्फा निर्वाचनमा उनी उपाध्यक्ष निर्वाचित भएका थिए। त्यसअघि उनी केन्द्रीय सदस्य थिए । बी डिभिजन क्लब प्लानिङ ब्वाइजबाट उनी एन्फामा छिरेका थिए ।


निर्वाचन आचारसंहिता पालन नगरे तत्काल कारबाही 

निर्वाचन आचारसंहिता पालन नगरे तत्काल कारबाही 


काठमाडौं, ५ वैशाख । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरेमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने भएको छ ।

प्रतिनिधिसभाको इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं (१) मा हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न गत चैत २८ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा आचारसंहितामा अन्य विषयका अतिरिक्त सामाजिक सञ्जालबाट गलत, भ्रामक र द्वेषपूर्ण सूचना प्रकाशन तथा प्रसारण गर्न गराउन नहुने, निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्ञालमा एकाउन्ट सञ्चलन गर्न वा झुटा साइट खोल्न वा सञ्चालन गर्न वा गराउन नहुने, निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले कसैलाई होच्च्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने तथा कसैको भ्रामक टीकाटिप्पणी गर्न, गराउने नहुने व्यवस्था रहेको स्मरण गराइएको छ ।

त्यसैगरी कुनै प्रयोजनका लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा शेयर, ट्याग, कमेण्ट वा प्रतिकमेण्ट गर्न गराउन नहुने तथा कसैको चरित्रहत्या गर्न, व्यक्तिगत लाञ्छना लगाउन, मानहानी गर्न वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न गराउनपूर्ण रूपमा निषेध गरिएको छ ।

आचारसंहिता उल्लङ्घनका घटनामा तत्काल आवश्यक कारबाही गर्न सम्बन्धित जिल्लाको मुख्य निर्वाचन अधिकृत संयोजक रहेको जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिइएको छ ।

अवाञ्छित कार्य तत्कालै रोक्न आदेश दिने तथा आचारसंहिता उल्लङ्घनकर्तालाई आवश्यक कारबाहीको सिफारिस गर्न निर्वाचन आयोगमा एक सामाजिक सञ्जाल अनुगमन एकाइ गठन गरी कार्य हुने भएको छ ।


महालेखापरीक्षकमा तोयम राया सर्वसम्मतले अनुमोदन

महालेखापरीक्षकमा तोयम राया सर्वसम्मतले अनुमोदन


काठमाडौं, ४ वैशाख । महालेखापरीक्षकमा तोयम राया सर्वसम्मतले अनुमोदन भएका छन् । आज बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकले रायालाई सर्वसम्मत महालेखापरीक्षकमा अनुमोदन गर्ने निर्णय गरेको हो । रायाले बैठकमा १५ पृष्ठको कार्ययोजना प्रस्तुत गर्दै बेरूजू कम गर्नाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

संसदीय सुनुवाई समितिले अनुमोदन गरेसंगै उनी महालेखापरिक्षक नियुक्त हुने छन् । महालेखापरिक्षकको कार्यकाल ६ वर्षको हुनेछ। 

संवैधानिक परिषद्को गत चैत १८ गतेको बैठकले रायालाई महालेखापरीक्षक पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। यस अघि उनी राष्ट्रिय तथ्याङ्क कार्यालयको सचिव ( प्रमुख तथ्याङ्क अधिकारी ) थिए । महालेखापरीक्षकमा सिफारिस भएसंगै उनले सचिव पदबाट राजीनामा दिएका थिए ।
 


इजरायल आक्रमणपछि इरानका आणविक केन्द्र बन्द

इजरायल आक्रमणपछि इरानका आणविक केन्द्र बन्द


एजेन्सी । इरानले इजरायलमाथि ठूलो मात्रामा ड्रोन र मिसाइल हमला गरेपछि ‘सुरक्षाका कारण’ आफ्नो आणविक केन्द्रहरू अस्थायी रूपमा बन्द गरेको संयुक्त राष्ट्रसंघको आणविक निगरानी संस्थाका प्रमुखले सोमबार बताएका छन्।  

राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकका क्रममा पत्रकारहरूले अन्तर्राष्ट्रिय आणविक ऊर्जा ऐन्सी (आइएइए) का प्रमुख राफेल ग्रोसीलाई आक्रमणको प्रतिशोधमा इरानी आणविक केन्द्रहरूमा इजरायली आक्रमणको सम्भावनाप्रति चिन्तित हो भन्दै प्रश्न गरेका थिए। 

‘हामी सधैँ यसको सम्भावनाबारे चिन्तित छौँ, म के भन्न सक्छु भने इरानमा आणविक केन्द्रहरूको निरीक्षण गरिरहेका हाम्रा निरीक्षकलाई इरान सरकारले हिजो आइतबार सुरक्षाका कारण सबै आणविक केन्द्र बन्द रहनेछ भनेर जानकारी गराएको छ,’ उनले भने।  

उनका अनुसार सोमबार आणविक केन्द्रहरू पुनः खुल्नुपर्ने थियो, तर निरीक्षकहरू अर्को दिनसम्म फर्कनेछैनन्। ‘अत्यधिक संयमता’ अपनाउन आग्रह गर्दै उनले भने, ‘स्थिति पूर्ण शान्त नभएसम्म मैले निरीक्षकहरूलाई फर्कन नदिने निर्णय गरेँ।’


सुनको भाउले राख्यो फेरि नयाँ रेकर्ड

सुनको भाउले राख्यो फेरि नयाँ रेकर्ड


काठमाडौं, ४ वैशाख । मंगलबार सुनचाँदीको भाउ बढेको छ । सोमबार प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १७ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। यो हालसम्मकै उच्च मूल्य हो ।

त्यस्तै आज तेजावी सुन पनि तोलामा १७ सय रुपैयाँले नै बढेर  प्रतितोला १ लाख ३८ हजार ५५० रुपैयाँमा  कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता, चाँदीको भाउ ३५ रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १९ हजार ३४० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १८ हजार ७८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १५ सय रुपैया तोकेको छ।


आज चैते दसैंः नवदुर्गाको पूजाआराधना गरी मनाइँदै

आज चैते दसैंः नवदुर्गाको पूजाआराधना गरी मनाइँदै


काठमाडौं, ४ वैशाख । पञ्चांगअनुसार हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन पर्ने नवदुर्गाको पूजाआराधना गरी आज चैते दसैं पर्व मनाइँदै छ। आज विभिन्न शक्तिपीठ एवं दुर्गाभवानी देवीका मन्दिरमा पूजा गर्न भक्तजनको घुइँचो लाग्ने गर्छ।

वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैते दसैं पर्व मनाउने पौराणिक चलन छ। यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दसैं हो।

चैते दसैं अवसरमा काठमाडौं उपत्यका देवी मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। हनुमानढोकामा आज बलिसहितको पूजा गरिन्छ।

चैते दसैंमा अष्टमी र नवमीलाई विशेष महत्त्वका साथ मनाउने गरिन्छ। अष्टमीको दिन देवी उपासना र बलिसहित पूजा गरिन्छ। नवमीको दिन त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीका ज्येष्ठ सुपुत्रका रुपमा श्रीरामको जन्म भएको विश्वासका साथ रामनवमीका रुपमा मनाउने गरिन्छ। 

चैते दसैंमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ। अष्टमीको दिनलाई चैते दसैं र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीका ज्येष्ठ सुपुत्रका रुपमा रामको जन्म भएकाले रामनवमीका रूपमा मनाउने गरिन्छ।

बडादसैंमा जस्तै चैते दसैंमा पनि परिवारका सदस्यबीच जमघट हुने गर्छ। काठमाडौं उपत्यकाका गुह्येश्वरी, जयबागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालीकास्थान, वज्रयोगिनीलगायत उपत्यका बाहिरका पीठमा आज विशेष पूजा हुन्छ।

शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरे शक्ति प्राप्त हुने र मनोकामना पूरा हुने धार्मिक विश्वास छ। हनुमानढोका दरबारको दसैंघरमा चैते दसैंका दिन विशेष पूजा गरिन्छ। 
 


म्यान्मामा रकेट आक्रमणमा ४ जनाको मृत्यु, १२ घाइते

म्यान्मामा रकेट आक्रमणमा ४ जनाको मृत्यु, १२ घाइते


काठमाडौं, ३ वैशाख । मध्य म्यान्मारको माण्डाले क्षेत्रको पिन ऊ ल्विनमा भएको रकेट आक्रमणमा ४ जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएको म्यान्माको राज्य प्रशासन परिषद्को सूचना टोलीले सोमबार जनाएको छ ।
माण्डाले क्षेत्रको पिन ऊ ल्विन सहरमा आइतबार राति आक्रमणकारीहरूले सहरलाई निशाना बनाई ११ वटा रकेट प्रहार गरेका थिए । पिन ऊ ल्विन जनरल अस्पतालको अर्थोपेडिक वार्ड, होटलसहित धेरै ठाउँमा हमला भएको सूचना टोलीले जनाएको छ ।
 


बढ्यो पेट्रोलियम पदार्थको मूल्य, हेर्नुहोस् सूची

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, हेर्नुहोस् सूची


काठमाडौं, ३ वैशाख । नेपाल आयल निगमले निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रति लिटर ३ रुपैयाँले बढाएको हो ।  भारतीय आयल निगमले मूल्य बढाएर पठाएसँगै निगमले आज रातिदेखि नयाँ मूल्य कायम गरेको हो।

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १७८ रुपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टितेलको प्रति लिटर १६१ रुपैयाँ कायम भएको छ। डिजेल, पेट्रोल र मट्टीतेल बाहेक अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।