28 Baishak, 2081 / 10 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

काठमाडौं उपत्यकामा नक्कली रक्सीको कारोबार 




काठमाडौं उपत्यकामा नक्कली रक्सीको कारोबार 

काठमाडौं, १५ माघ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहीन नक्कली रक्सी उत्पादन गरी कालोबजारी हुने गरेको पाइएको छ । काठमाडौं र ललितपुरबाट ठूलो परिणाममा यस्ता रक्सी बरामद गरिएको हो । 
नक्कली रक्सी उत्पादन गरेको आरोपमा पक्राउ परेकाहरुलाई नेपाल प्रहरीले आइतबार सार्वजनिक समेत गरिएको छ । नक्कली रक्सी उत्पादन गर्न फ्याक्ट्री सञ्चालन गर्दै आएका गिरोहलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा दोलखाको कालिञ्चोक गाउँपालिका ३ का निरज उप्रेती, स्याङ्जा गल्याङ ९ की धर्मी गौडेल र सिन्धुलीको तीनपाटन २ का गणेशबहादुर राना मगर रहेका छन् । प्रहरीका अनुसार नक्कली रक्सी उत्पादन गर्ने विनोद कार्की, भगवान बस्नेत, गोपाल पुन मगर, हरी वली, मनोज खत्री, गौरव तामाङ, गोपीकृष्ण श्रेष्ठ लगायत भने फरार छन् । उनीहरु यसअघि पनि नक्कली रक्सी उत्पादन गरेको अभियोगमा पक्राउ परेको व्यक्तिहरु रहेको प्रहरीले जनाएको छ । उनीहरुले छुटेपछि फेरि त्यस्तै फ्याक्ट्री सञ्चालन गरेको खुलेको हो । यसअघि गत भदौ १० गते काठमाडौं प्रहरी परिसरले नक्कली रक्सी उत्पादन गरेको अभियोगमा ५ जनालाई पक्राउ गरेको थियो ।  उनीहरुले त्यसबेला भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित दुवाकोटमा फ्याक्ट्री सञ्चालन गरेका थिए । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरुलाई धरौटीमा छाडेको थियो । उनीहरु नै पुनः नक्कली रक्सी उत्पादनमा लागेको पाइएको हो । 
उनीहरुले ललितपुरको टीकाथलीमा नक्कली रक्सी उत्पादन गरिरहेको फेला परेको प्रहरीले जनाएको छ । कुपण्डोलस्थित निरज उप्रेतीले सञ्चालन गरेको नेक्स्ट टेस्ट लिकर स्टोरमा खानतलासी गर्दा प्रहरीले नक्कली खुकुरी रम फेला पारेको थियो । 
यस्ता नक्कली रक्सी टिकाथलीमा बनाउने गरेको खुलेपछि महाशाखाले टिकाथलीस्थित मदिरा बनाउने भट्टिमा महाशाखाको टोलीले छापा मारेको थियो । त्यहाँबाट नक्कली मदिरा, मदिरा बनाउने केमिकल, विभिन्न ब्राण्डका रक्सीका खाली बोतल, राजश्व अन्तर शुल्कको प्रयोग गरिएका स्टिकर तथा लेवलिङ एवम् प्याकेजिङ गर्ने मेसिन लगायतका सामग्री प्रहरीले बरामद गरेको महाशाखा प्रमुख एसएसपी मनोज केसीले जानकारी दिए । अनुसन्धानकै क्रममा काठमाडौंको मित्रनगरस्थित धर्मी पौडेलले सञ्चालन गरेको एसटी लिकर स्टोरमा पनि प्रहरीले छापा मारेको छ । त्यहाँ खानतलासी गर्दा गुणस्तरहीन नक्कली खुकुरी रम रुस्लान भोड्का ब्राण्डका मदिरासमेत बेचबिखनका लागि राखिएको फेला पारेको छ । 
उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले जानकारी दिए । उनीहरुले नक्कली रक्सी बजारभाउ भन्दा सस्तोमा बेचविखन गर्ने गरेको खुलेको छ । प्रहरीले गोल्डेन वक, ८४ भोड्का, मुग्लाङ, एपल, खुकुरी रम, रुस्लान भोड्का बरामद गरेको छ । अन्य रक्सीका खालि बोतल समेत प्रहरीले बरामद गरेको छ । यसअघि काठमाडौं प्रहरीले पक्राउ गर्दा भगवान बस्नेत एक लाख धरौटीमा र बाँकी ४ जना ५० हजार रुपैयाँका दरले धरौटी बुझाएर छुटेका थिए । जिल्ला प्रशासन कार्यालयले असोज ४ गते उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको थियो । 



Related News


यसमा तपाइको मत


Comments