10 Ashwin, 2080 / 27 September , 2023
काठमाडौं, ३ साउन । नेपालले एसिसी इमर्जिङ टिम्स एसिया कपमा जितका साथ अन्त्य गरेको छ। बुधबार भएको समूहको अन्तिम खेलमा युएईलाई ३ विकेटले हराउँदै नेपालले प्रतियोगितामा सुखद् अन्त्य गरेको हो।
युएईविरुद्ध नेपाललाई जित दिलाउन कुशल भुर्तेलले अलराउन्ड प्रदर्शन गरे। उनले बलिङमा ६ विकेट लिए भने ब्याटिङमा अर्धशतकीय पारी खेले।
पहिला ब्याटिङ गर्दैै युएईले दिएको १५८ रनको लक्ष्य नेपालले २३ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो। नेपलाको जितमा कशुल भुर्तेलले आक्रामक इनिङ खेले। उनले ४३ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै ७१ रन बनाए ।
यस्तै, देव खनालले ३८ बलमा २४ रन बनाउँदा सन्दीप जोराले १५ बलमा २४ रन बनाए भने कप्तान रोहित पौडेलले ११ रनको योगदान दिए। ९८ रन बनाउँदा दोस्रो विकेट गुमाएको नेपालले त्यसपछि ५३ रन बनाउँदा ५ विकेट गुमाएको थियो।
युएईका लागि मोहम्मद फराजुद्दिनले ६ ओभरमा ३६ रन खर्चेर ५ विकेट लिए भने मुहम्मद जवादुल्लाहले २ विकेट लिए।
कुशल भुर्तेलल घातक बलिङ गरेपछि पहिला ब्याटिङ गरेको युएई ४४ ओभरमा १५७ रनमै अलआउट भयो। उसका लागि लवप्रितसिंहले ५२ रन बनाउँदा इथान डिसुजाले १८, अश्वन्थ वालथापाले १६ र जस जियाननीले १३ रनको योगदान दिए।
युएईको इनिङ धरासायी बनाउने क्रममा कुशलले १० ओभरमा ४० रन खर्चेर ६ विकेट लिए। यसअघि ५२ लिस्ट एमा ४ विकेट मात्र लिएका कुशलको यो करिअरकै उत्कष्ट स्पेल हो। उनले एकदिवसीयमा ४ र टि–२०मा १ विकेट लिएका छन्।
उनीसँगै राष्ट्रिय टिमबाट डेब्यू खेलमै स्पिनर मौसम ढकालले २ विकेट लिए। पवन सर्राफ र कुशल मल्लको नाममा पनि १ विकेट रह्यो। युएईका दशै विकेट स्पिनरले लिए।
यसअघि नेपाल पाकिस्तान एसँग ४ विकेट र भारतसँग १० विकेटले पराजित भएको थियो।