16 Baishak, 2081 / 28 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सामाजिक सञ्जालबाट धार्मिक सद्भावमा खलल पुर्‍याउनेप्रति चनाखो हुन गृहमन्त्रीको निर्देशन




सामाजिक सञ्जालबाट धार्मिक सद्भावमा खलल पुर्‍याउनेप्रति चनाखो हुन गृहमन्त्रीको निर्देशन

काठमाडौं, १० फागुन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समाजिक सञ्जालको प्रयोग गरी धार्मिक सद्भावमा खलल पुर्‍याउने र समाजमा विग्रह ल्याउनेप्रति चनाखो हुन निर्देशन दिएका छन् ।
गृह मन्त्रालयले बाँकेको नेपालगञ्जमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी उद्घाटन गर्दै उनले ऋण लिएर तिर्दैनौं भन्दै अवाञ्चित माग राखी शान्ति व्यवस्थामा खलल पुर्‍याउनेप्रति सजग रहन आग्रह गरे ।

केही समयअघि नेपालगञ्जमा सामाजिक सञ्जालको विषयले हिन्दू र मुस्लिम समुदायबीच तनाव सृजना भएको घटना स्मरण गराउँदै गृहमन्त्री श्रेष्ठले विशेष ध्यान दिन जाेड दिए ।

गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने लक्ष्यमा नतिजामूलक कार्यढाँचा बनाउन निर्देशन दिँदै भने, ‘वर्तमान सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य लिएको छ । यो लक्ष्य हासिल गर्न स्थानीय प्रशासन र सुरक्षा व्यवस्थाको प्रभावकारी परिचालनको नीतिसहित अगाडि बढेको छ ।’

उद्घाटन सत्रमा लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेय, शहरी विकासमन्त्री कृष्णा केसी, गृह मन्त्रालयका सचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, लुम्बिनी प्रदेशका प्रहरी प्रमुख (डीआईजी) कुवेर कडायत, लुम्बिनीका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखलगायत सहभागी भएका थिए ।
 




यसमा तपाइको मत


Comments