17 Baishak, 2081 / 29 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

आदनचुलीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा




आदनचुलीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, १६ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको  आदनचुली गाउँपाालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलप्रसाद पाण्डेसहित १० जनाविरुद्ध आर्थिक हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले पाण्डेसहित उनीहरुविरुद्ध ४२ लाख, २९ हजार ३५८ रुपैयाँ हिनामिना गरेको भन्दै आरोपपत्र दायर गरेको हो ।
आयोगले पाण्डेहित इन्जिनियर मकरध्वज शाही, सवइन्जिनियर जयराम छत्याल, योजना शाखामा रहेका सरफाई टेक्निसिन मंगल भण्डारी, तत्कालीन लेखापाल दिपक नेपाली, वडा नम्बर ३ का वडाअध्यक्ष दत्त विष्ट, गाउँपालिका उपप्रमुख सौमती रावल ऐडी, अनुगमन समिति सदस्य मानबहादुर टमटा र धनसरा टमाटा, उपभोक्ता समितिका अध्यक्ष दत्त रोकाया र कोषाध्यक्ष सिर्जना बुमीविरुद्ध आरोपपत्र दायर गरेको हो ।  

प्रेस विज्ञप्ति:- मिति २०८०।११।१६ गते।

——————————————

जिल्ला हुम्ला, आदनचुली गाउँपालिका वडा नं. ३ स्थित ढकनीकुनादेखी मुढेघट्टसम्म सिँचाई योजानामा अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा अदानचुली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिल प्रसाद पाण्डे, इन्जिनियर मकर ध्वज शाही, सव-इन्जिनियर जयराम छत्याल, योजना शाखामा समेत कार्यरत खानेपानी तथा सरसफाई टेक्निसियन मंगल भण्डारी, तत्कालीन लेखापाल दिपक नेपालीसमेतले ढकनीकुनादेखि मुढेघट्टसम्म सिँचाइ निर्माण सम्झौतामा निर्धारित शर्त र मापदण्ड विपरीत निर्माण कार्य गरी गराई, झुट्टा नापी किताब, उपभोक्ता समिति सम्बन्धि बिल, कार्य सम्पन्न प्रतिवेदनसमेत तयार गरी गराई सोही झुट्टा बिल भरपाई र कागजातको आधारमा वास्तविक फिल्डमा भएको कामभन्दा बढी रु.४२,२९,३५८।८९ उपभोक्ता समितिलाई भुक्तानी गरी सरकारी रकम हानिनोक्सानी पुर्‍याएको पुष्टि हुन आएकोले निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय खण्ड (ङ) बमोजिमको कसुर भएको हुँदा निजहरु उपर बिगो रु.४२,२९,३५८।८९ (बयालीस लाख उनन्तीस हजार तीन सय अन्ठाउन्न रुपैयाँ र उनान्नब्बे पैसा) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम जरिवाना र कैद गरी विगो असुल उपर हुन मागदाबी लिइएको छ।

अदानचुली गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष दत्त विष्टले आ.व. २०७४/०७५ को ढकनीकुनादेखि मुढेघट्टसम्म सिँचाइ निर्माण योजनाको फिल्डमा वास्तविक काम भएको भन्दा बढी रु.४२,२९,३५८।८९ (बयालीस लाख उनन्तीस हजार तीन सय अन्ठाउन्न रुपैयाँ र उनान्नब्बे पैसा) बरावरको काम भएको भनी सिफारिस गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) बमोजिम कसुर गरेको पुष्टि हुन आएकोले निज उपर ऐ.ऐ. दफा ८ को उपदफा (३) मा उल्लेख भएबमोजिम जरिवाना र कैदको सजाय हुन मागदाबी लिइएको छ।

त्यसै गरी अदानचुली गाउँपालिकाका उप-प्रमुख सौमति रावल ऐडी, अनुगमन समिति सदस्य मान बहादुर टमटा भन्ने मान्या टमटा र धनसरा टमटाले ढकनीकुनादेखि मुढेघट्टसम्म सिँचाइ निर्माण योजनाको अनुगमन गरी फिल्डमा वास्तविक भएको भन्दा बढी काम सम्पन्न भएको भनी गलत प्रतिवेदन पेश गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निजहरुउपर उक्त कसुरमा ऐ.ऐ. दफा १९ को उपदफा (२) बमोजिम जरिवाना र कैदको सजाय हुन मागदाबी लिइएको छ।

साथै, ढकनीकुनादेखि मिढेघट्टसम्म सिँचाइ योजना निर्माण उपभोक्ता समितिका अध्यक्ष दत्त रोकाय र कोषाध्यक्ष सिर्जना बुमीले अदानचुली गाउँपालिका, हुम्लासँग भएको सम्झौता विपरितको कार्य गरी फिल्डमा वास्तविक भएको भन्दा नापी किताब, उपभोक्ता सम्बन्धी बिल र कार्यसम्पन्न प्रतिवेदनमा बढी काम भएको मूल्याङ्कन गराई भुक्तानी माग गरी रु.४२,२९,३५८।८९ (बयालीस लाख उनन्तीस हजार तीन सय अन्ठाउन्न रुपैयाँ र उनान्नब्बे पैसा) सरकारी रकम हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निजहरुलाई सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिमको सजाय गरी बिगो रकम जफत हुन मागदाबी लिई आज विशेष अदालत,काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

 




यसमा तपाइको मत


Comments