newsajako.com
काठमाडौं, ९ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगार कार्यालय ताहाचलको अनुगमन गरेका छन्। बिहीबार साँझ मन्त्री अर्यालले ताहाचल पुगी कार्यालयको अनुगमन गरेका हुन्।
अनुगमनको क्रममा मन्त्री अर्यालले श्रम स्वीकृतिको प्रक्रियाका बिषयमा कर्मचारीसँग जानकारी लिएका थिए। त्यस्तै, श्रम स्वीकृति प्रदान गर्ने प्रक्रियाका समस्याको बिषयमा पनि कर्मचारीसँग सोधपुछ गरेका थिए।
श्रममन्त्री अर्यालले श्रम स्वीकृति प्रक्रियालाई सहज र सरल बनाउन यस अघि नै निर्देशन दिएका थिए। मन्त्रीको निर्देशनपछि कार्यालयको २० वटा कम्प्यूटर अपटेड गरिएको छ । कर्मचारीलाई तीनवटा सिफ्टमा काम गर्न लगाइएको छ ।
त्यस्तै, श्रम स्वीकृतिको प्रक्रियालाई सहज बनाउन पुनः श्रम स्वीकृतिलाई एउटै तहले स्वीकृत गर्ने व्यवस्था मिलाउने मन्त्रालयले तयारी गरेको छ । हालको व्यवस्थाअनुसार संस्थागत श्रम स्वीकृतिको लागि १३ जना कर्मचारीले कागजपत्र प्रमाणीकरण गर्ने र सात जना कर्मचारीले स्वीकृत प्रदान गर्ने व्यवस्था छ ।
त्यस्तै, व्यक्तिगत श्रम स्वीकृतितर्फ १५ जनाले कागजपत्र प्रमाणीकरण गर्ने र सात जना कर्मचारीले प्रमाणीकरण गर्ने व्यवस्था छ । तर, अब देखि व्यक्तिगत श्रम स्वीकृति तर्फ २२ जना कर्मचारीले नै श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाउने मन्त्रालयको तयारी छ ।
त्यस्तै, प्रत्येक कर्मचारीलाई श्रम स्वीकृतिको लागि निश्चित कोटा समेत तोकिने, विदाको दिनमा पनि श्रम स्वीकृति प्रदान गर्ने, श्रम स्वीकृतिको लागि तोकिएको कोटा हटाइने मन्त्रालयको तयारी छ ।