newsajako.com
काठमाडौं, २३ माघ । पोखरामा माघ १ गते भएको यती एयरलाइन्सको जहाज दुर्घटनाबारे जाँच बुझ आयोगले ककपिट भ्वाइस रेकर्डरको विश्लेषण गरेको छ। यति एयरलाइन्सको ९एन–एएनसी एटीआर७२ जहाज इन्जिनमै समस्याको कारण दुर्घटना भएको हुनसक्ने देखिएको आयोगले प्रारम्भिक जानकारी दिएको हो।
आयोगका अनुसार इन्जिनमा पावर आइडल (काम नगर्दा) हुँदा दुर्घटना भएको देखिएको छ।
‘फ्लाइट डाटा रेकर्डर र ककपिट भ्याइस रेकर्डरको विश्लेषण र अनुसन्धानबाट दुर्घटनाग्रस्त जहाज अवतरण गर्ने क्रममा बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको देखिन्छ’, जाँच आयोगले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।
‘इन्जिन बिग्रिएको हो वा होइन यसै भन्न सकिँदैन’, ती पाइलटले भने, ‘पाइलटले पावर नदिएको हो वा बिग्रिएर समस्या हो थप अध्ययनपछि थाहा हुन्छ।’
फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरबारे अध्ययन गर्न नेपाल सरकारबाट गठन भएको दुर्घटना जाँच आयोगका संयोजक, हवाइ विज्ञ र सदस्य सिंगापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेष्टिगेसन ब्यूरोमा पुगेका थिए।
आयोगको नेतृत्वमा टीएसआईबी सिंगापुर, बीइए फ्रान्स, टीएबी क्यानेडा, ईएएसए प्रतिनिधिहरुले प्राविधिक तथा मानवीय पक्षको विश्लेषण गरेका थिए। सो क्रममा फ्लाइट डाटा रेकर्डर र भ्वाइस डाटा रेकर्डरको डाटाहरुको विश्लेषण गरिएको थियो।
दुर्घटनालगत्तै सरकारका पूर्वसचिव नगेन्द्र प्रसाद घिमिरेको संयोजकत्वमा ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन भएको थियो। आयोगमा सेनाका इ. उपरथी दीपक बाँस्तोला, वरिष्ठ क्याप्टेन सुनिल प्रधान र वरिष्ठ इन्जिनियर एकराज जंग थापा सदस्य तथा उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्यसचिव रहेका थिए।
आयोगका सदस्य तथा इन्जिनियर एकराजजंग थापाले इन्जिन चालू रहे पनि पंखाको कोण नमिलेको हुनसक्ने देखिएको बताए।

