14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

'मैले बुझेको देश फरक छ'




'मैले बुझेको देश फरक छ'

हेमन्त गिरी

मलाई थाहा छ मैले यो लेखे बापत गाली खान्छु । उस्तै परे मलाई देशद्रोही पनि भनिएला !

देशको माटोमा कैयौं वर्ष कोदालो चलाएको मलाई कैलै ब्याकग्राउन्डमा चन्द्र सूर्य झण्डा राखेर फोटो खिच्नु पर्छ वा कविता पढेको भिडियो बनाउनु पर्छ जस्तो लागेन । मलाई कैलै झण्डा समातेर फोटो खिचेमा बढी राष्ट्रभक्त भइन्छ जस्तो लागेन । कैलै छिमेकी देशलाई गाली गरेर वा मन नपरेका देशलाई गाली गरेर राष्ट्रवादी भइन्छ जस्तो लागेन । न ह्रितिक रोशन कान्ड न लिपुलेक काण्ड, मेरो रगत कैलै उम्लेन । न त नाकाबन्दीमा नै म आक्रोशित भएँ ।

मलाई लाग्छ देशलाई माया गर्नु भनेको देशलाई बुझ्नु पनि हो । देशमा शासन गर्नेहरूलाई बुझ्नु पनि हो । मैले बुझेको देश अलि फरक छ । मैले बुझेको देशमा बढी झूठ,भ्रम,अफवाह र मिथ्या बिक्छ । यी चिजहरू बेच्नेलाई यसकारण सजिलो छ कि हामी ती चिजहरू सजिलै किनिदिन्छौं । डिस्काउन्ट पाए हामी क्वालिटी मतलब गर्दैनौं ।

नयाँ नक्शा जारी भएको कती भयो हेर्नुस् त ! त्यो भूमिमा आफ्नो हक दावी गर्न के के गर्यो सरकारले अहिले सम्म थाहा पाउनुभाछ ? वार्ता गर्यो कि, सेना लगेर राख्यो कि, भारतीय नागरिकता लिएका त्याहाँका नागरिकका नागरिकता फिर्ता गर्न लगाएर नेपाली नागरिकता दियो कि ? के गर्यो अहिले सम्म ? मैले चाहिं केही थाहा पाएको छैन (तपाईंलाई थाहा छ भने भन्दिनुहोला) । तर फ्याट्ट अयोध्या काण्ड आइदियो बजारमा (हुन त परराष्ट्रले विज्ञप्ती नै निकालिसक्यो) । के जरुरी थियो यो समयमा यस्तो काण्ड ? नक्शामा दावी गरिएको भूमि फिर्ता लिन कुनै पहल नगर्ने तर नयाँ नयाँ काण्ड सृजना गरेर तपाईंलाई अलमल्याउने काम भएको तपाईं चाल पाउनुहुन्न ?

मैले माथि भनेको छु नि नेपालमा झूठ,भ्रम,मिथ्या र अफवाह बिक्छ भनेर ! अरू सबै बाटो सकिए पछी मानिसले ‘मिथ’ समाउँछ । अर्थात धर्म र इतिहास सम्बन्धी त्यान्द्रो समाएर समाज संग खेल्न खोज्छ । किनकि चतुर राजनीतिज्ञलाई थाहा हुन्छ- राष्ट्रवाद,जात र धर्मको कुरा उठाएर पब्लिक सेन्टिमेन्ट क्यास गर्न सके आफू सर्भाइभ गर्न सकिन्छ । र अहिले भएको पनि त्यही हो । शासकले तपाईंको तातो खुनमा यस्ता थर्मोमीटर बारम्बार लगाइरहन्छन अनि तपाईं पनि एक सय चार डिग्री जोरोलाई राष्ट्रवाद हो भन्ने भ्रममा जीवनभर थला परिरहनु हुन्छ ।

हद नै पार गरिरहेका भारतीय च्यानल अलि अँस्ती बन्द भए । तपाईंलाई बहुत खुसी लाग्यो होला । तर मलाई ठीकै मात्र लाग्यो । खास खुसी त त्यो बेला लाग्नेछ- जती बेला भारतीय चामल बन्द हुन्छ । एकपटक किचन देखि ट्वाइलेट सम्म, आँगन देखि छत सम्म ध्यान दिएर हेर्नुस त- के के सामान भारत बाट आएका रहेछन ? हुन त पैसा दिएर किनेको हो भन्नुहोला ! तर यो बुझ्नुस तपाईं पैसा तिर्नकै लागि पनि दुश्मनको पसलमा चहिं जानुहुन्न । या अन्त नै जानुहुन्छ या बाध्य भएर तेश्रो व्यक्तिलाई ‘जा न फलानोको बाट किनेर ल्याइदे’ भन्नुहुन्छ । तेश्रो व्यक्तिले कमिसन नै खाए पनि सहन बाध्य हुनुहुन्छ । किनकि तपाईं आत्मनिर्भर हुनुहुन्न ।

हो, तिनै तेश्रो व्यक्ति नेता हुन । हामी लाचार उपभोक्ता । हामीलाई यिनीहरूले यसरी बाध्य बनाइदिएका छन कि हामीमा यस्तै बेमौसमी राष्ट्रवादको पारो चढाइदिन्छन बेला बखत र आफू सत्ता अनि शक्तीको सिंढी चढ्छन । ल मान्नूस्, राम नेपालमै जन्मेका हुन, त्यसले तपाईंको भान्सा देखि बाथरूम सम्म, आँगन देखि छानो सम्म के फरक पार्छ ?!

मूर्ख हुनुको पनि एउटा ‘लिमिट’ हुन्छ साथीहरू । आफ्नो आर्थिक,पारिवारिक,समाजिक हैसियत कहाँ पुग्यो ख्याल छैन, दैनिक कती दाजुभाई दिदी बहिनीले देश छोडिरहेछन मतलब छैन,, अलिकती ठाउँ पायो वा अलिकती नेताले उचाल्दियो कि झण्डा समातेर, खुकुरी देखाएर के के न देशभक्त देखाको छ आफुलाई, बुद्धिजीवी भनाउँदा बाट नै चाहिंदै नचाहिने कुरामा बहस चर्काएको छ, उद्यमशील र सृजनशील समयलाई अनावस्यक बहसमा लगाएको छ ! मानौं कि सबथोक पुगेको छ जस्तो !

गुन्द्रुक चाइना बाट प्याक भएर आउन थाल्यो, रामकै मूर्ति पनि चाइनाले नै बनाइदिन्छ, चन्द्र सूर्य झण्डा इण्डिया बोर्डर नजिकका देशीहरूले छापेर पठाइदिन्छन,मोबाइल कोरिया गको साथीले पठाइदिन्छ, आमाले घरको करेसोमा ढाड मर्काइरहन्छिन, ऊ चाहिं शहरको डेरामा बस्छ, इण्डियन चामलमा चाइनीज गुन्द्रुकको झोल हालेर खान्छ अनि त्यही चन्द्र सूर्य टीशर्ट लगाएर लाइभमा बस्छ र चोर औंलो ठड्याएर कोरियन मोबाइल बाट भन्छ- खबरदार ! लिपुलेक हाम्रो हो, बुद्ध हाम्रो हो, राम हाम्रो हो, अयोध्या हाम्रो हो.. सप्पै हाम्रो हो !!

घरबेटी बाहिर बाट चिच्याउँछ- ए बेकुफ, कामधाम गरे त घरभाड़ा तिर्थिस् कि ! कोठा भित्र एक्लै कराउँदा कराउँदा बहुलाउलास् भन्ने डर भओ !!



Related News


यसमा तपाइको मत


Comments