15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

गर्भवतीलाई आइरन चक्की बाँडेर रक्तअल्पता कम हुँदैन, गाउँघरमा पाइने खानेकुराबारे बुझाउन जरुरी छ ?




गर्भवतीलाई आइरन चक्की बाँडेर रक्तअल्पता कम हुँदैन, गाउँघरमा पाइने खानेकुराबारे बुझाउन जरुरी छ ?

-डा.अरुणा उप्रेती-

रक्तअल्पता नेपाली महिला, किशोरीहरु र बालबालिकाहरुलाई आमरुपमा देखा पर्ने समस्या हो । त्यसमा पनि गर्भवतिलाई यो समस्या अलि बढी नै देखिने गरेको छ । यसले गर्दा गर्भको बच्चा रोगी र सानो हुने, महिलालाई विभिन्न किसिमका स्वास्थ्य समस्या देखिने गरेको छ ।
नेपालमा स्वास्थ्य मन्त्रालयले गरेको अनुसन्धान अनुसार महिलाहरुको मातृ मृत्युमध्ये प्रत्यक्ष रुपमा १० प्रतिशत रक्तअल्पताको कारणले हुन्छ । यसको साथै रक्तअल्पता भएका महिलाहरुलाई रक्तस्राव हुने सम्भावना बढी हुने भएकाले २० प्रतिशत महिला अप्रत्यक्षरुपमा रक्तअल्पताको कारणले मर्छन् ।
नेपालमा आमा बन्ने क्रममा हुने मृत्यु अत्यधिक हुनमा यो पनि एउटा प्रमुख कारणका रुपमा रहेको छ ।
नेपालका केही समुदायमा गर्भवती महिलाहरुलाई दोजिया (दुई जीउकी) भनेर बढी भोजन दिइन्छ । तर सुदूर पश्चिमाञ्चलका कतिपय स्थानमा गर्भवती महिलाहरुलाई धेरै खाना दिनुहुदैन, हरियो सातपात, फलफूल, मासु, दूध आदि दिनुहुदैन भन्ने मान्यता पनि छ । केरा खाए बच्चा पाठेघरमा टासिन्छ, मेवा खाए गर्भपात हुन्छ, दूध–दही खाए गाईभैंसीको दूध सुक्छ भन्ने खालका अन्धविश्वासहरु छन् । यसले गर्दा गर्भवती महिलाहरु कुपोषण र रक्तअल्पताको समस्याले पीडित हुने पनि गर्छन् ।
यसैगरी सुत्केरी भएको बेलामा आमालाई हरियो सागपात, दाल खान दिएमा बच्चाको पेट दुख्छ, पखाला लाग्छ भनेर खान दिइदैन । यस्ता अन्धविश्वासले पनि पश्चिम नेपालका महिलाहरुमा रक्तअल्पता धेरै हुने गरेको छ । यस क्षेत्रमा यो एउटा सामाजिक तथा सांस्कृतिक समस्याका रुपमा रहेको छ ।
विश्व स्वास्थ्य संघले कुल जनसङ्ख्यामा २० प्रतिशतभन्दा माथिको जनसङ्ख्यालाई रक्तअल्पता भयो भने यो एउटा जनस्वास्थ्यको प्रमुख समस्या हो भनेर मानेको छ ।
केहि समय पहिला पर्याप्त मात्रामा खाना नपाउने बालबालिकामा रक्तअल्पता हुने गर्छ भन्ने मान्यता थियो । रक्तअल्पता हुने अरु कारणहरु पनि छन् ।
खाद्य पदार्थका कतिपय विज्ञापनमा ‘घरमा भएका खानेकुराले शिशुलाई र गर्भवतीलाई पोषण पुग्दैन, त्यसैले बाहिरको पोषण किनेर क्याल्सियम र आइरनतत्वले तिनको पोषण पु¥याउनुपर्छ’ भनिएको हुन्छ । यस्ता गलत विज्ञापनले मानिसहरूमा भ्रम छरिरहेका छन्, प्याकेटका खानेकुरा किन्दा पैसाको दुरुपयोग मात्रै हुन्छ ।
बकुला, सिमी, बोडी जस्ता तरकारीमा पर्याप्त प्रोटिन त पाइन्छ नै, क्याल्सियम र लौहतत्व पनि धेरै हुन्छ । तिनको मूल्य बजारिया व खानेकुराभन्दा निकै कम हुन्छ, पोषणचाहिँ बढी हुन्छ ।
गेडागुडीलाई उमारेर पकाउनाले यसमा पौष्टिकतत्वको मात्रा बढ्छ । पाकिसकेपछि अलिकता कागतीको अमिलो वा गोलभेंडा हालिदिनाले भिटामिन सीले यिनमा रहेको लौहतत्व राम्ररी सोसिन पाउँछ । त्यसैले होला, पहिले–पहिले दालभात, साग, अमिलो मोही खाने चलन थियो ।
स्वास्थ्य मन्त्रालयचाहिँ गर्भवतीलाई आइरन चक्की दिएर नै रक्तअल्पता कम हुन्छ भनी जताततै आइरन चक्की बाँड्छ ।
कति महिलालाई त्यसले वाकवाकी लाग्छ, अनि खान छोड्छन् । अहिले त कतिपय प्रदेशमा किशोरीलाई समेत आइरन चाहियो भन्दै फोलिक एसिड बाँड्ने कार्यक्रम चलाउने रे ! मानव पोषणलाई टुक्रा–टुक्रामा विचार गरेर, टुक्रे–टुक्रे कार्यक्रम गरेर महिला र किशोरीको स्वास्थ्य रक्त अल्पता कम हुँदैन ।
आइरन चक्की मात्र बाँडेर हुँदैन। उनीहरूले राम्रो प्रोटिन पाइरहेका छैनन् भने त्यसले काम गर्दैन त्यससँगै अन्य सूक्ष्म पौष्टिक तत्व पनि मिलेको हुनुपर्यो। त्यसैले एउटा समस्या समाधान गरेर मात्र सबै समस्या समाधान हुने होइन। हामीले त्यसरी पनि सोच्नुपर्छ। राम्रो खाना नै खाएका छैनन् भने यसले कसरी काम गर्छ ?
आइरन चक्कीमा सरकारले यति धेरै रकम खर्च गर्नै पर्दैन। हाम्रो गाउँघरमा यस्ता प्रशस्त खानेकुराहरू छन जसले रगत बढाउने काम गर्छन् । गर्भ जाँच गराउन जाने बेलामा चिकित्सक एवं स्वास्थ्यकर्मीले के के खानेकुरामा आइरन पाइन्छ, पोषणयुक्त खानेकुरा कसरी बनाउने, खाने, भन्ने कुरा बुझाउन जरुरी छ। तर हामीकहाँ खासै यस्तो गरिँदैन ।
पोषणले भरिपूर्ण खानेकुरा हाम्रै वरिपरी छन् तर, खान जानेका छैनौँँ। बाहिरबाट दिइएको चक्कीले सबै ठिक पार्छ भन्ने ठान्छौँ।
गर्भवतीलाई गाउँघरमा पाइने भटमास, गहत, पिँडालु, सजिवन, गडागुडी, लट्टेको साग जस्ता खानेकुरा खानेकुराको महत्त्व बुझाउनुपर्छ। मासको दाल फलामको भाँडामा पकाएर खाँदा राम्रो हुन्छ भन्ने कुरा सबैले बुझ्न जरुरी छ। काेदाे फापर सजिलै पाइन्छ जुन पौष्टिकताले भरिपूर्ण हुन्छ ।
यो स्वास्थ्य / विकासको मुद्दा हो, सामाजिक समस्या हो। हाम्रै घरआँगनमा पाइने खानेकुराबाट कसरी शक्ति लिन सकिन्छ भन्नेबारे बहस चलाउन जरुरी छ।
गर्भवतीलाई मात्र नभई बच्चालाई पनि सानै उमेरदेखि खानेकुरामा ध्यान दिन सिकाउनु पर्छ। ‘जंक फुड’ खुवाउने बानी गर्नु हुँदैन। गर्भवतीले त यस्ता खानेकुरा खानै हुँदैन। आमालाई त खराब गर्छ नै, पेटभित्र रहेको बच्चालाई समेत असर गर्छ। यसबाट हुने हानिको बारेमा जानकारी दिनुपर्छ।
रक्त अल्पता सामाजिक समस्या हो र आइरन चक्की बाँडेर समाधान हुँदैन भनी यो मन्त्रालयले कहिले बुझ्ने होला ?

डा. उप्रेतीको फेसबुकबाट साभार 



Related News


यसमा तपाइको मत


Comments