20 Baishak, 2081 / 2 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

खोपको बिगबिगी




खोपको बिगबिगी

-डा.रवीन्द्र पाण्डे -

कोरोना भाइरस सुन्दा सुन्दा वाक्कदिक्क लागेको थियो | त्यसैले मैले यसको नेपाली नाम ताज बिषाणु राखेको छु | कोरोना ग्रिकको क्राउन शब्दबाट लिईएको हो | जसको अर्थ ताज, मुकुट, राजमुकुट आदि हुन्छ |

आँखाले देख्न नसक्ने स्यानो भाइरसले संसारमा तेस्रो विश्वयुद्ध मच्च्यायो | संसारलाई नै युद्धबन्दी बनायो | एक दिन नेपाल बन्द गर्दा अरबौं क्षति हुने गणित पढेको मैले २ बर्ष संसार बन्द हुँदाको हिसाब निकाल्दै थिएँ | रेडियो, टेलिभिजन, पत्रपत्रिकादेखि माइकिंग मेरा आँखा र कानमा ठोकिए | रेडियोले फुक्दै थियो – सरकारले हरेक किराना पसल, कफी सप, रेस्टुरेन्ट, स्कुल, कलेज, मन्दिर, सरकारी भवन, चोक तथा घरघरमा खोप पुर्याएको छ | कोभिड खोप लगाउन छुट्नु भएको भए आजै खोप लगाउनुहोस् अनि आकर्षक उपहार प्राप्त गर्नुहोस् |

टेलिभिजनले खोकिरहेको थियो – हरेक पसल, खाजा घर, रेस्टुरेन्ट, पत्रिका पसल, कपडा पसल, सपिंग मल, मेडिकल लगायतका स्थानमा खोप उपलब्ध छ | पसलमा खोप लगाउनेलाई एक बोरा चामल, रेस्टुरेन्टमा खोप लगाउने व्यक्तिलाई मम, पिज्जा र चिकेन चिल्ली, मन्दिर तथा खोला किनारामा खोप लगाउने व्यक्तिलाई दुई खिल्ली गाँजा, सपिंग मलमा खोप लगाउने व्यक्तिलाई हरेक सामानमा १० प्रतिशत छुट, कोल्ड स्टोरमा खोप लगाउने व्यक्तिलाई २ किलो मासु, स्कुल तथा कलेजमा खोप लगाउने व्यक्तिलाई तीन महिनाको ट्युसन फि, रंगशालामा खोप लगाउने व्यक्तिलाई फुटवल र क्रिकेटका सामान, वृद्धाश्रममा खोप लगाउने जेष्ठ नागरिकलाई पांच किलो फलफूल र न्यानो ब्ल्यांकेट, मेडिकलमा खोप लगाउने व्यक्तिलाई परिवार नियोजन सेवा तथा अस्पतालमा खोप लगाउने व्यक्तिलाई होल बोडी चेक अप प्रदान गरिनेछ |

खोप लगाउने व्यक्तिलाई आफ्नो इच्छा अनुसारको उपहार दिने कार्य भइरहेको थियो | बसमा खोप लगाउने व्यक्तिले निशुल्क यात्रा गरिरहेका थिए, जहाजमा खोप लगाउने व्यक्ति निशुल्क उडिरहेका थिए, ट्याक्सीमा खोप लगाउने व्यक्तिले चिसो पेय चुस्दै घुमिरहेका थिए |

सरकारले भन्दै थियो – हामीले एक बर्षको बजेट खोप र उपहारमा लगानी गरेका छौं | अर्को बर्षदेखि बिकासमा मात्र खर्च गर्नेछौं | यो बर्ष खोप लगाउनेलाई बिभिन्न उपहार प्रदान गरिनेछ | यो बर्ष खोप नलगाउने व्यक्तिलाई अर्को बर्ष प्रति डोज एक लाख मुल्य पर्नेछ | खोप नलगाएका व्यक्तिलाई कुनै पनि सेवा प्रदान गरिने छैन |

डा. शर्माले जाजरकोटका गाउँमा भन्दै थिए – खोप लगाउनुभयो भने एक क्विन्टल चामल, गोल्ड स्टार जुत्ता, नर्थ फेस ज्याकेट र १० किलो तराइको माल्दा आँप प्राप्त गर्नुहुनेछ |

डा. श्रेष्ठले तराइका भित्री गाउँमा भन्दै थिए – यो यार्शागुम्बालाई लाखौँ रुपियाँ पर्छ | खोप लगाउनु भयो भने सित्तैमा पाइन्छ | त्यति मात्र हैन, इच्छा अनुसारका घरायसी सामान, पढ्ने छात्रवृत्ति तथा सरकारी जागिर पाइन्छ |

डा. यादवले पहाडी गाउँमा भन्दै थिए – कोभिड खोप लगाउने व्यक्तिलाई सोलार जडान वा ६० इन्चको टेलिभिजन निशुल्क दिइनेछ |

भोजप्रसादले फोनमा भन्दै थिए - ए आइतराम ! सर्खार्ले फाइजर, मोडेर्ना, जोन्सन, स्पुतनिक, एस्ट्रेजेनेका, भेरोसेल, सिनोभ्याक, कोभ्याक्सिन नाम गरेका धेरै खोप ल्याएको छ | मैले त एस्ट्रेजेनेका लगाउने भएँ, तिमीले कुन लगाउने नि ?

ज्योतिषको घरमा भीड थियो | कुनै ज्योतिषले हात तथा कुनै ज्योतिषले चिना हेरेर भन्दै थिए – तपाइको राशि मिथुन भएकोले मोडेर्ना लगाउनुहोला | अनि तपाइको ग्रहमा शनि बलियो भएकोले स्पुतनिक लगाउनुहोला | तपाइको नाम फर्सुराम भएकोले फाइजर लगाउनुहोला | तपाइंकी छोरी अलि मोडेर्न भएकोले मोडेर्ना फलिफाप हुन्छ | ज्योतीलाई जोन्सन, भोजप्रसादलाई भेरोसिल, सिनोभ्याकमा पहिला दुई अक्षर अशुभ भएकोले नलगाऔं क्यारे !

आगन्तुकले सोध्दै थिए – खोप लगाउन कहाँ जाने ?

ज्योतिषले भन्दै थिए – तल्लो कोठामा नर्स नानी बसेका छन् | चिसिक्क खोप लगाएर अनि पेटभरी प्रसाद खाएर जानुहोला |

ह्यारीले भन्यो – सोम ! अहिले कहाँ ?

- म माउन्टेन कफीसपमा छु | आउ न यार ! कोभिड्को खोप लगायो भने फ्रिमा बुटी र बियर पाइने रहेछ |

सीमाले भनी – कता हो उषा ?

उषाले भनी – ब्युटीपार्लरमा छु | खोप लगाए कपाल स्ट्रेट गर्ने अफर रहेछ यहाँ |

सीमाले भनी – म पुस्तकालयमा छु | खोप लगाए १ बर्ष निशुल्क सदस्यता पाइने रहेछ यार !

स्कुलमा साना नानीबाबुलाई ललिपप, आइसक्रिम, पिज्जा तथा जुस दिएर खोप लगाउने कार्यक्रम चलेको थियो |

छोराले सोध्दै थियो – बा ! अन्तिम इच्छा के छ ?

बाले भन्दै थिए – मर्ने बेलामा कोभिड खोप लगाउन पाए भगवानका फ्रेममा मेरा सयौं फोटो राख्ने अफर छ | लौंन ! एउटा खोप लगाइदे !

बजारमा माइकिंग भइरहेको थियो – खोप लगाउने व्यक्तिलाई हात खाली नहुने चिठ्ठा ! पहिलो उपहार – ८ आना जग्गामा बनेको अढाइतले घर, दोस्रो उपहार १ करोड नगद, तेस्रो पुरस्कार टोयोटा कार, सान्त्वना पुरस्कार १०० जनालाई मोटरसाइकल अनि फ्रिज, दराज, सोफा, वासिंग मेसिन, माइक्रो ओभन, टेलिभिजन, मोबाइल सेट |

एफएमले भन्दै थियो – जनसंख्याको तुलनामा दश गुणा बढी खोप आएकोले हामीले खोप आयातमा प्रतिबन्ध लगाएका छौं |

स्वास्थ्यमन्त्रीले घोषणा गरे – नेपालमा ९५ प्रतिशतले खोप प्राप्त गर्नुभयो | खोप लगाउन छुटेको व्यक्तिबारे जानकारी दिनेलाई सरकारले दश लाख इनाम दिनेछ | साथै ती छुटेका व्यक्तिलाई सरकारले रोजगारी दिनेछ |

एक बर्षमा खोप कार्यक्रम शतप्रतिशत सफल भयो | नेपालको खोप रणनीतिबारे संसारमा चर्चा भइरहेको थियो | खोप कार्यक्रम हेर्नको लागि भ्याक्सिन टुरिजम निकै बढेको थियो | एयरपोर्ट तथा सिमानामा खोप लगाएर मात्र नेपाल आउन पाइन्थ्यो | सडक, गल्ली, चोक, गाउँ, डांडा, हिमाल चारैतिर पर्यटकको लर्को लागेको थियो | तीन करोड जनसंख्या भएको नेपालमा यो बर्ष बाह्र करोड पर्यटक आएका थिए | ३ बर्षको लागि होटेल बुकिंग फुल थिए | हरेक घर होमस्टे भएका थिए | सहर होस् वा गाउँ, डलरका मात्रै कुरा भइरहेका थिए |

कति जम्मा गरिस् काँहिला ?

कसले गन्न भ्याउनु नि ! तीन बोरा डलर भयो आजसम्म |

- मेरो त सात बोरा |

- आ ! मलाइ त डलर राख्न झ्याउ लाग्न थाल्यो, पातभन्दा धेरै |

देशमा डलर बैंक खुलेका थिए | गाउँगाउँ, टोलटोलमा बिदेशी बैंकका शाखा थिए |

कान्छीले भनी – डलर गन्ने फुर्सद नभएर दुई डोका बैंकमा बिसाएर आएँ | भरे भौचर आउँछ रे !

साइँलीले भनी – आ ! को जाओस बैंक ! मेरो त घरमै बैंक स्टाफ आएर पांच बोरा डलर बोकेर गए |

..............

ए दाइ ! के को डलरका कुरा गरेको ? आजको पांच घण्टा बेकार भयो | खोप सकियो रे ! भोलिको लागि आधारातमा लाइन लाग्न आउनुहोला | दिउँसै सपना देखेको म झसंग भएँ |

rabinscholar@gmail.com

डा.पाण्डेको फेसबुकबाट साभार 

 



Related News


यसमा तपाइको मत


Comments