24 Baishak, 2081 / 6 May , 2024
-डा.अरुणा उप्रेती-
पर्याप्त मात्रामा घाममा नबस्ने, वातानुकूलित कोठामा मात्र बस्ने, घाममा हिँड्दा छाला कालो हुन्छ भनेर लामा पहिरन लगाएर हिँड्ने भएकाले झन्डै ६९ प्रतिशत भारतीयमा भिटामिन डीको कमी देखिएको कुरा टाइम्स अफ इन्डियाको जुलाई २०, २०१५ मा प्रकाशित एउटा समाचारमा उल्लेख छ ।
मैले चिनेकी निशा नामकी एक महिलामा थकाइ लाग्ने, हातखुट्टा दुखिरहने, बिहान उठ्दा पनि आराम गरेको अनुभूति नहुने समस्या थियो । उनी समस्या लामो समयसम्म तानिएपछि डाक्टरकहाँ गइन् । धेरै डाक्टरकहाँ गैसकेपछि बल्ल एकदिन कुनै स्त्रीरोग विशेषज्ञले उनलाई भिटामिन डीको जाँच गराउन भनिन् ।
मेरी ५० वर्षीया साथी सपनाले भनेकी थिइन्–‘अमेरिकाको बोस्टनमा बस्दा मेरो जिउ र ढाड कटकटी दुख्ने र एकदम थकाइ लाग्ने भएपछि डाक्टरकहाँ गएँ । उनले रगत जाँच गरी मेरो शरीरमा भिटामिन डिको कमी भएको र बिस्तारै हड्डी फुसफुसे हुने समस्या देखापर्ने कुरा बताए । केही समयका लागि उनले भिटामिन डीको चक्की दिएर भने–तपाईं नेपाल गएपछि यो चक्की खानु पर्दैन ।वर्षभरि नै घाम लागिरहने तपार्इंको देशमा त भिटामिन डी छताछुल्ल छ । हरेक दिन १५–२० मिनेट सीधै घाम छालामा पर्ने गरी बस्नुहोस् । बोस्टनमा पो धेरै समय घाममा बस्न पाइँदैन । जहिले पनि एयर कन्डिसन र कोठामा बस्दा यस्तो हुन्छ । चिकित्सकको कुराले आँखा खुलेपछि सपना भन्छिन्–काठमाडौं आएपछि म हरेक दिन घाममा बस्ने गरेकी छु ।’ यद्यपि सबै महिला सपनाजस्तै नियमित रूपमा घाममा बस्दैनन् ।
सानो उ
डा.अरुणा उप्रेती
मेरका शिशुलाई भिटामिन डीको कमी भयो भने उनीहरूको हड्डी कमजोर हुँदै जान्छ । हड्डी बाङ्गो भएर हिँड्नसमेत गाह्रो हुन सक्छ । यस्तो अवस्था अहिले धेरै कम देखिए पनि काठमाडौं उपत्यकाको कहिल्यै घाम नपुग्ने गल्लीहरूमा बस्ने बालबालिकालाई यस्तो समस्या हुनसक्छ ।
पहिले–पहिले घाममा राखेर सुत्केरी महिला र शिशुलाई तेल लगाउने चलन थियो तर आधुनिकतामा परेर शिशुलाई घाममा नराख्ने, तेल नलगाउने तथा कोठामा राखेर पाउडर दलिदिने चलन छ । यस्तो व्यवहारका कारण सुत्केरी आमा तथा शिशुको शरीरमा भिटामिन डी पुग्न पाउँदैन र अनेकौं समस्या सिर्जना हुन्छन् । अहिलेका आमाहरूले घाममा बसेर तेल लगाउने चलन बिर्सिए भने आमा तथा शिशुलाई समस्या पर्नसक्छ ।
अन्तर्राष्ट्रिय क्षेत्रमा काम गर्ने ६० वर्षीया ज्योति श्रेष्ठले मलाई भनेकी थिइन्–‘मैले दस वर्षसम्म अन्तर्राष्ट्रिय क्षेत्रमा काम गरें । ढाड र हाड दुखे पनि सहेर काम गरिरहें, डाक्टरलाई देखाउँदा उनले भिटामिन डीको कमीका कारण यस्तो भएको बताउँदै मलाई घाममा बस्न भनेका थिए तर बिहानदेखि बेलुकासम्म कामको चक्करमा घाममा बस्ने फुर्सद कहाँ हुनु ? अहिले मेरो ढाड, घुँडा सबै दुख्छन् । औषधि खान्छु तर पीडा कम हुँदैन । सम्भवत: काम गर्दा केही समय आफ्नो शरीरका लागि छुट्याएको भए आज मलाई यति गाह्रो हुँदैनथ्यो । ज्योतिले पछि मलाई इमेल लेखेकी थिइन्–‘मेरो तौल १० किलो घटेको छ । त्यसले गर्दा अनुहारमा चाउरी परेको छ । अहिले त म घाममा बस्न पनि थालेकी छु । पीडा त अझै छ ।’ ज्योतिको यो भनाइ उदाहरण बन्न सक्छ । यसले समयमै घाममा बस्नुपर्छ भनेर सिकाउँछ ।
अहिले धेरै औषधि कम्पनीले सकेसम्म बढी मानिसले क्याल्सियम र भिटामिन डी प्रयोग गर्नुपर्छ भन्ने कुरा बाहिर ल्याउँदैछन्, विदेशमा पनि स्वास्थ्यकर्मीले महिलालाई २०–२५ वर्षको उमेरदेखि नै क्याल्सियम तथा भिटामिन डीका चक्की दिन थाल्छन् । जुनसुकै समस्या औषधिले मात्र समाधान गर्ने हाम्रो बानीका कारण हामी प्राकृतिक कुरा उपयोग गर्न बिर्सदै एवं चुक्दै गएका छौं ।
घाम नलाग्ने देशहरूमा भिटामिन डीको चक्की वा खानामा भिटामिन डी मिसाएर दिनुको औचित्य होला, तर नेपालमा त्यसको औचित्य छैन । भिटामिन डीको चक्कीले केवल औषधि कम्पनी तथा पसलको आम्दानी बढाउँछ । यसले स्वास्थ्यमा पनि सकारात्मक असर गर्दैन । म ६o वर्षकी भएँ । म भिटामिन डी प्राप्त गर्न घाममा बस्छु । क्याल्सियमका लागि ज्वानो, आलस, तिल, दूध, दही, गहत तथा सिमी आदि खान्छु । मलाई अहिलेसम्म भिटामीन डीको कमी भएर ढाड तथा हड्डी दुखेको छैन ।
भिटामिन डी बोसोमा घुलनशील भएर लामो समय रहने हुनाले एक–दुई दिन घाममा नबस्दैमा खासै समस्या परिहाल्दैन । त्यसैले वर्षाका दिनहरूमा घाममा बस्न पाइन भनेर चिन्ता गर्नुपर्दैन । छालामा सीधै सूर्यको किरण पुग्ने गरी हप्तामा ४–५ दिन, २०–२५ मिनेटका लागि बसे पुग्छ ।
जाडोमा कुनै खुल्ला मैदानमा घाममा बसेर सुन्तला र बदाम खाँदा कति आनन्द आउँछ तर त्यसले आनन्द मात्र दिँदैन कि स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्छ भन्ने कुरा हामीलाई पत्तो हुँदैन । सबैलाई घाम चाहिन्छ, शारीरिक विकासका लागि मात्र होइन मानसिक रूपमा स्वस्थ रहन पनि घाम आवश्यक छ ।
डा.उप्रेतीको फेसबुकबाट साभार