14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

'चिनी जब तितो बन्छ'




'चिनी जब तितो बन्छ'

 डा.अरुणा उप्रेती

विश्व स्वास्थ्य संघ ( डब्लूएचओ)ले सन् २००२ मै खानेकुरामा चिनीको मात्रा निकै कम हुनुपर्छ भन्ने निष्कर्ष निकालेको थियो । ब्रिटिस मेडिकल पत्रिकाले लेखेको छ, ‘सीधै चिनी खानाले मात्र होइन कि चिनी हालेका मिठाई, फलफूलका रस, बिस्कुट आदिमा मिसिएको चिनीले पनि दाँतमा कीरा लाग्न र मोटोपन बढाउन मद्दत गर्छ ।’ बेलायतका कतिपय स्वास्थ्यकर्मीले त चिनीमा कर बढाएर चिनी कम खान प्रेरित गर्नुपर्ने धारणा राख्दै आएका छन् ।

‘जहाँ गुलियो, उहीँ बाहुन भुलियो’ भन्ने चलनचल्तीको टुक्का हो । त्यसो त गुलियो वस्तु बाहुन मात्र होइन, प्राय: जातजातिको भोजनमा प्रिय तथा अनिवार्यजस्तो बन्दै गएको छ । हुन पनि परीक्षामा विद्यार्थीको सफलता, कर्मचारीको बढुवा, सन्तान प्राप्ति, विवाहको निर्णय आदि महत्त्वपूर्ण क्षणमा मिठाई बाँडेर खुसी व्यक्त गर्ने चलन सबैतिर छ ।

आफन्तकहाँ जाँदा कोसेलीपात लैजाने अधिकांश परम्परागत परिकार पनि गुलियै हुन्छन् । केटाकेटीलाई पुरस्कारका रूपमा दिने सामग्री पनि मिठाई तथा चकलेट नै हुन् । यसरी केटाकेटीदेखि नै गुलिया वस्तुको सेवन गर्ने बानीले लतका रूपमा जरा गाडिसकेको छ । यस्ता विभिन्न वस्तु दिएर केटाकेटीलाई जीवनभरका लागि अस्वस्थ हुने श्राप दिइरहेको हेक्का हामीलाई नहुन पनि सक्छ ।

त्यसो त अमेरिकाजस्तो देशमा पनि शिक्षित आमाबाबुले बालबच्चालाई गुलिया खानेकुरा दिएकै हुन्छन् । अचाक्ली गुलियो खाएका सन्तानमा किशोरावस्था पुग्दानपुग्दै मोटोपनको समस्याको साथै मुटु, मधुमेह, मिर्गाैला आदिमा समस्या आउन सक्छ । यही कुरालाई लिएर अमेरिकी स्वास्थ्यकर्मी चिन्तित छन् । भविष्यमा निम्तिने स्वास्थ्य, आर्थिक र सामाजिक समस्याका बारे पनि छलफल चलाइरहेका छन् ।

मिठाईबाहेक हामीले दिनदिनै प्रयोग गर्ने अन्य कतिपय वस्तुमा पनि अदृश्य चिनी हुन्छ । अमेरिकी मुटुरोग विशेषज्ञहरूको संस्थाका अनुसार एक दिनमा२५ ग्राम चिनी खान हुन्छ । (झन्डै पाँच चिया चम्चा) धारणा राख्दै आएका छन् ।

नेपालीले दैनिक औसत पाँच चम्चाभन्दा बढी नै चिनी खाने गर्छन् ।

हामीमध्ये धेरैले चिनीलाई हानिकारक खाद्य पदार्थका रूपमा सोच्दैनौँ ।

चिनीले शरीरको प्रतिरोध क्षमता प्रणालीलाई कमजोर बनाउँछ ।

अहिलेसम्म भएका अनुसन्धानका अनुसार धेरै गुलियो खाँदा विशेष गरी दाँत कुहिने रोग केरिज, क्यान्सर, हाड कमजोर हुने रोग, मोटोपन, मधुमेह, मुटुरोग, उच्च रक्तचाप, चाँडै वयस्क र बुढ्यौली हुने, शारीरिक दुर्बलता, जोर्नी र छालाका समस्यामा चिनी कुनै न कुनै रूपमा कारक तत्त्वका रूपमा रहेको छ ।

चरा पल्काउने चारोजस्तै हो, चिनी । एकपटक खाएपछि पटकपटक खाने लत लाग्छ, छोड्न पनि कठिन नै हुन्छ । सामान्यत: यस्ता खाद्यवस्तुमा कति मात्रामा चिनी छ भन्ने खुलाइएको हुँदैन ।

अझ सर्वसाधारणले चिनी भनेर प्राय: नबुझ्ने अरू नै विभिन्न आकर्षक व्यापारिक नाम ग्लुकोज, माल्टोज, फ्रुक्टोज, ल्याक्टोज आदि राखिएको हुन्छ । यो सरासर उपभोक्तालाई झुक्याउने बजार रणनीति हो ।

गुलियो सेवन गरेपछि मुखमा रहेका किटाणुले चिनीसँग क्रिया गरी अम्ल उत्पादन गर्छन् । उक्त अम्लले दाँतको इनामेललाई गाल्छ । यो दाँतमा प्वाल पार्ने सुरुआत हो । यो प्वाल पर्ने क्रम भित्रसम्म बढ्दै जान्छ र यस प्वालबाट अम्ल छिरेर गिँजा सहनै नसकिने गरी दुख्छ । दाँत दुख्ने, प्वाल पर्नेजस्ता समस्यालाई बोलीचालीको भाषामा दाँतमा कीरा लागेको भन्ने गरिन्छ । यसको असर वयस्क हुँदासमेत परिरहेको हुन्छ ।

केटाकेटी अवस्थामा बढी गुलिया वस्तु खानाले भविष्यमा मुटुसम्बन्धी रोग लाग्ने जोखिममा वृद्धि हुन्छ । मुटुसँग सम्बन्धित समस्यालाई पहिले नेपालको सहरिया र सम्भ्रान्त परिवारको मात्र समस्याका रूपमा बुझिन्थ्यो । तर, अहिले गाउँसहर र मध्यम तथा निम्न वर्गका मानिसमा पनि यो समस्या बढ्दो रूपमा देखा पर्न थालेको छ ।

टेलिभिजनमा कामबाट थकाएको मानिसले ग्लुकोज खाएपछि शक्ति प्राप्त गरेको विज्ञापन देखाइन्छ र सर्वसाधारण यसको विश्वासमा पर्छन् । तर, यो सत्य होइन । खेल्दा र काम गर्दा शरीरको शक्ति खर्च भएर थकाइ लाग्नु स्वाभाविक हो । यसरी थकाइ लाग्नुको प्रमुख कारण शरीरबाट धेरै पानी जानु हो । शरीरबाट खर्च भएर गएको शक्ति अर्थात् ग्लुकोजको मात्रा अन्न समूह तथा फलफूल समूहका नियमित खानाबाटै प्राप्त हुन्छ ।

चिकित्सकले नै सिफारिस गर्नुपर्ने विशेष अवस्थामा बाहेक प्रत्यक्ष ग्लुकोजको आवश्यकता पर्दैन । आधुनिक युगमा चिनीको प्रयोग ठ्याम्मै रोक्नुपर्छ भन्नु त अव्यावहारिक होला तर चिनी नखाएर स्वास्थ्यमा चाहिँ केही फरक पर्दैन भनेर सबैले थाहा पाउनु जरुरी छ ।

‘चिनी स्वास्थ्यको लागि हानिकारक छ । त्यसैले चिनीको सेवन कम गरौं, स्वस्थ रहौँ ।’


डा.उप्रेतीको फेसबुकबाट साभार



Related News


यसमा तपाइको मत


Comments