02 Ashwin, 2078 / 18 September , 2021

Logo
gautam
Social Icon
Social Icon
Secondary Top

के अखाद्य रंग नखाएर पनि चाडपर्व मनाउन सकिँदैन र ?




 के अखाद्य रंग नखाएर पनि चाडपर्व मनाउन सकिँदैन र ?

-डा.अरुणा उप्रेती-

'यस्ता पसलका मिठाईहरू, पेयपदार्थ र बट्टाका जुस नल्याउनू। केही नल्याउनु भए पनि हुन्छ, ल्याउने नै भए फलफूल ल्याउनू। बजारका चिसो पनि नल्याउनू,' मलाई घरमा भेट्न उपहार लिएर आउने प्रायःलाई मैले यही भन्ने गरेकी छु। बजारमा पाइने मिठाई कहाँ बनेको, कसरी बनेको भन्नेप्रति मलाई शंका हुन्छ।

अब जसैतसै चाडपर्व नजिक आउन थालेका छन्, तबतब पत्रिकामा समाचार आउन थाल्छन्, “मिठाई पसलमा सरकारी टोलीले अनुगमन गरेकोबारे। यसअघि समाचार आउने गर्थे, 'मिठाई र रसबरीमा भुसुना र साङ्ला फेला परेकाले मिठाई पसल सिलबन्दी गरिएको छ। वा, काठमाडौंका बागबजार, लाजिम्पाट, न्युरोड, नयाँबानेश्वरमा रहेको प्रसिद्ध मिठाई पसलमा छापा मारेर ढुसी परेको देखेर सरसफाईमा ध्यान दिन र ढुसी परेका मिठाई बिक्री बन्द गर्न निर्देशन दिइएको छ।“

यस्तो निर्देशन दिए पनि व्यापारीले मिठाई नष्ट गर्दैनन् भन्ने थाहा छ, अनुगमन गर्ने टोलीलाई। ती ढुसी परेका मिठाई मिसाएर नयाँ मिठाई बनाइयो भने ढुसी सबै गायब हुन्छ। मिठाई नयाँ नै देखिन्छ तर यसले एकछिन मुख मीठो गराए पनि कालान्तरमा स्वास्थ्यमा ठूलो हानि पुर्याउँछ भन्ने जानकारी प्रायः उपभोक्तालाई हुँदैन।

मिठाईमा परेका साङ्ला फालेर ग्राहकसामु ल्याउँदा त्यसको अवशेष कहाँ देखिन्छ र? अझ कतिजनाले 'साङ्ला त कति देशमा मीठो मानेर खान्छन््, त्यसैले साङ्ला र भुसुना परेर के भयो? बरु शरीरमा मासु पर्यो भने प्रोटिन नै हुन्छ' भन्न बेर छैन।

'हिलोले भरिएको फोहोरी भान्छा सफा गर्नू' भन्ने निर्देशन पनि प्रायः अनुगमन टोलीले दिन्छ, तर त्यो हिलो र फोहोरले भरिएको भान्छा पुनः सफा भयो कि भएन भनेर हेर्न कोही जाँदैन। उपभोक्ता त्यही फोहोर, हिलो खाइरहन्छन्, बिरामी परिरहन्छन्।

चाडपर्व आएपछि बारम्बार सरकारले थप कडाइसाथ अनुगमन गर्ने भनेर वक्तव्य निकाल्छ तर बारम्बार त्यो वक्तव्यलाई मिठाई पसलले बेवास्ता गरेर वागमतीमा बगाइदिन्छ। अझ कति ठाउँमा त सायद वागमतीको नदीजस्तै पानी हालेर मिठाई बनाइन्छ कि? आँखाले नदेखेपछि त्यो मिठाई कुन पानी, कस्तो दूध हालेर बनाइएको छ के थाहा र?

मेरी साथी बिरामी भएर बस्दा उनलाई फलफूलको जुस लिएर आउने मानिस धेरै थिए। उनले जुस खाइनन्, जुसका बट्टा पसलमा बेचेर झन्डै पाँच हजार रुपैयाँ लिइन् र पसलबाट आफूलाई चाहिने दैनिक जीवनका अन्य मालसामान किनिन्।

कति पसलेले मिठाईमा केशर मिसाएको छ भनेर उपभोक्तालाई लोभ्याउने पनि गर्छन्। केशर मिसिएको भनेपछि जिब्रोबाट र्याल चुहिन्छ नै। तर एक किलो केशरको झन्डै चार लाख रुपैयाँ जति पर्छ, मिठाई पसलेले साँच्चि नै केशर हालेर सस्तो र सुलभ तरिकाले मिठाई दिन सक्छ त? भन्ने प्रश्न उपभोक्ताले किन नगर्ने? खान हुने रंग मिठाईमा हाल्यो भने मिठाई एकदमै महँगो हुन्छ, अनि सर्वसाधारणले किन्दैनन्, त्यसैले खान नहुने रंग मिसाएर मिठाईलाई आकर्षक बनायो अनि सस्तोमा बेच्यो। पसले पनि खुसी, उपभोक्ता पनि सस्तोमा राम्रो मिठाई पाइयो भनेर खुसी। उपभोक्ताले यसरी अखाद्य रंगले कसरी स्वास्थ्यमा नराम्रो असर पर्छ भन्ने थाहा पाए भने यस्ता खुसी बिस्तारै हराउँछ।

प्रायः उपभोक्ता यस्तो कुरा थाहा पाउनै चाहँदैनन्। यसरी केलाएर हेरेर त कसरी जिन्दगी चल्छ र? जति आलोचना गरे पनि बाहिरका खाना नखाईकन कहाँ साध्य हुन्छ र? तर मिठाई त चाडपर्वमा मात्र खाइन्छ, त्यतिले त के नराम्रो हुन्छ होला र? भन्ने बुझाइले सबै उपभोक्ता यसरी मन्द विष खाइरहन्छन्। यसरी फोहोरी मिठाई, अखाद्य रंग नखाएर पनि के चाडपर्व मनाउन सकिँदैन र?

डा.उप्रेतीको फेसबुकबाट साभार


Secondary Middle

Related News


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom


Maruti