15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

प्राकृतिक विपत्तिः पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु




प्राकृतिक विपत्तिः पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु

काठमाडौं, १६ असार । मनसुनजन्य प्रकोपबाट पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ। भक्तपुर, स्याङ्जा र कञ्चनपुरमा गरी ३ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।  भक्तपुरको सूर्यविनायक नगरपालिका १० चितापोल लाकुलीस्थित कान्छा श्रेष्ठको घर आगनमा लगाइएको पर्खाल अविरल वर्षाको कारण भत्किँदा सोही ठाउँ बस्ने ६६  वर्षीया नारायण देवी थापाको पुरिएर बुधबार साँझ मृत्यु भएको छ। पर्खाल नजिकै हिँडिरहेको अवस्थामा पर्खाल भत्किँएर पुरिएकी उनको स्थानीय र प्रहरी बृत्त जगातीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो। 

अविरल वर्षाका कारण स्याङजाको गल्याङ नगरपालिका १० डुबिनडाँडा बस्ने ढाकाराम भट्टराईको धन्सार भत्किँदा पुरिएर सोही धन्सारमा सुतिरेकी उनकी छोरी १२ वर्षीया रेखा भट्टराईको बुधबार बिहान मृत्यु भएको छ। घर भत्किँएर पुरिँदा गम्भीर घाइते भएकी उनको गल्याङ नगर अस्पताल स्याङ्जामा उपचारको क्रममा मृत्यु भएको हो। घाइते भएका उनकै छोरा १६ वर्षीय लक्ष्मण भट्टराईको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। 

कञ्चनपुरको बेदकोट नगरपालिका ५ पोलखरी बस्ने गोमा साउँदको घर वर्षाका कारण भत्किएर पुरिँदा सोही घरमा बस्दै आएका लाल बहादुर खुनाकी छोरी १ वर्षीया करिष्मा खुनाको मृत्यु भएको छ।  घर भत्किँदा गम्भीर घाइते भएकी उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै पुरिएर घाइते भएका बेदकोट नगरपालिका ५ पोलखरी बस्ने ४० वर्षीय मान्ते थारू र लाल बहादुरका छोरा ११ वर्षीय अर्जुन खुना उपचार पश्चात डिश्चार्ज भएका प्रहरीले जानकारी दिएको छ। 

अविरल वर्षाका कारण  प्युठान नगरपालिका १ क्वाडिस्थित झिमरुक खोलामा आएको बाढीले निर्माणधीन पुलको निर्माण बगाएको छ। निर्माणाधीन पुल र निर्माण सामग्री बगाउँदा करिब २४ लाख १६ हजार रुपैयाँ बराबरको विभिन्न धनमाल क्षति भएको प्रहरीले जानकारी दिएको छ। प्युठानकै ऐरावती गाउँपालिका ४ र ५ लाई जोड्ने झिमरुक खोलामा निर्माणधीन पुलको निर्माण सामग्री पनि बाढीले बगाएको छ। 



Related News


यसमा तपाइको मत


Comments