15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

अस्ताउँदो सूर्यको पूजा गर्दै छठ पर्व मनाइँदै




अस्ताउँदो सूर्यको पूजा गर्दै छठ पर्व मनाइँदै

काठमाडौं, १३ कात्तिक । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वमा सूर्यदेवको आराधना,उपासना हुने गर्दछ । व्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिने छन्। भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ।
 
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार, द्रौपदी सहित पाँच पाण्डवले अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए। त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ। लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो।
सूर्य पुराण अनुसार, सर्वप्रथम अत्रि मुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन्। फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन्। त्यही वेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरूआत भएको धार्मिक विश्वास छ।
छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ। यस पर्वमा जो व्रत बस्न सक्दैन, उनीहरूले व्रत गर्नेबाट कामना पूरा गराउने प्रचलन छ।

कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ। दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीमा सक्खर हालेर बनाइएको खीर ९खरना० षष्ठी मातालाई चढाई व्रतालुले प्रसादस्वरूप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ।

यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने विधि विधान रहेको छ।

कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ दिएमा चर्म अर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ। २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरूप ग्रहण गरेको छ।

छठ पर्वका लागि राजधानीको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, गहनापोखरी, नागपोखरी, कमलपोखरी लगायत बागमती, नख्खु र विष्णुमती लगायत नदी किनारमा सजावट गरिएको छ




यसमा तपाइको मत


Comments