20 Baishak, 2081 / 2 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

पर्यटक भिसामा विदेश पठाउने २२ जनाविरुद्ध मुद्दा दायर




पर्यटक भिसामा विदेश पठाउने २२ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, १८ माघ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले भिजिट (पर्यटक) भिसामा युवालाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा ९ जना अध्यागमनका अधिकृतसहित २२ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते गरी संगठित अपराध गरेको आरोपमा फरार रहेका १२ सहित २२ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा आज मुद्दा दायर गरेको हो ।

आरोपी २२ मध्ये १० जना अदालतमा उपस्थित थिए । १२ जना भने फरार छन् ।

गत मंसिर १८ मा अध्यागमन अधिकृत नरवीर खड्कालाई सरकारी कागजात किर्ते गरी नेपालीलाई भिजिट भिसामार्फत विदेश पठाउने गिरोहमा सक्रिय रहेको आरोपमा अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो । उनको साथबाट प्रहरीले रामेछाप दोरम्बा गाउँपालिका ७ का ट्राभल एजेन्ट पदम तामाङ लामाले दिएको दुई लाख रुपैयाँसमेत बरामद गरेको थियो ।

अध्यागमन अधिकृत खड्काकै बयानका आधारमा अन्य आठ अधिकृतलाई पनि प्रहरीले प्रतिवादी बनाएर अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा खड्का र तामाङ मिलेर भिजिट भिसामा विदेश उडाइएका दर्जनौं युवाको सूचीसमेत भेटिएको थियो ।

सरकारी वकिल कार्यालयले चितवनकी गीता शाह, काठमाडौंका अरुण दाहाल, मनोज तामाङ, सिरहाका सरोजकुमार यादव, जाजरकोटका नरवीर खड्का, रामेछापका पदम लामा, स्याङ्जाका रामप्रसाद भण्डारी र रविन अर्याल, गुल्मीका दिनेश ज्ञवाली, ललितपुरका विनोद कार्कीलाई प्रतिवादी बनाइएको छ ।

मुद्दा दायर गरिएकामध्ये रुकुम पश्चिमका ताराबहादुर कुँवर, सिनामंगलमा होटेल सञ्चालक केदारबहादुर खड्का, कास्कीका कुशल बराल, तनहुँका शैलेन्द्र ढकाल, बागलुङका विमल पौडेल, काठमाडौंका विष्णुप्रसाद आचार्य र नुवाकोटका विकास डंगोल भने फरार छन् ।

त्यस्तै स्याङ्जाका पीताम्बर रिमाल, इलामका सुजन फागो लिम्बू, बाराकी कौशिला मगर, सोलुखुम्बुकी लक्ष्मी राई, सिन्धुलीकी रीता दमाईंलाई पनि फरारकै अवस्थामा प्रतिवादी बनाइएको छ । यो मुद्दामा भोलिदेखि थुनछेक बहस हुनेछ ।



Related News


यसमा तपाइको मत


Comments