20 Baishak, 2081 / 2 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

अध्यागमन अधिकृतसहित ४ जना जेल चलान, ६ जनासँग धरौटी माग




अध्यागमन अधिकृतसहित ४ जना जेल चलान, ६ जनासँग धरौटी माग

काठमाडौं, २३ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर भिजिट भिसामा नेपालीलाई विभिन्न देशमा पठाएको आरोपमा अध्यागमन अधिकृतसहित चारजनालाई पुर्पक्षका लागि कारागार पठाउन आदेश भएको छ। 

जिल्ला अदालत काठमाडौंले मंगलबार थुनछेकबहसपछि अध्यागमन अधिकृत नरवीर खड्कासहित ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो। यो प्रकरणमा पक्राउ परेका अन्य ६ जनासँग धरौटी माग गरिएको छ।

गत बिहीबार दर्ता भएको मुद्दामा न्यायाधीश कपिलमणि गौतमको इजलासले अधिकृत खड्कासहित अरुण दाहाल, सरोजकुमार यादव र मनोज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी सिपी पन्थीले जानकारी दिए।


अदालतले गीता शाहसँग ५ लाख रुपैयाँ, रविन अर्याल र पदम लामासँग १/१ लाख, विनोद कार्कीसँग २ लाख, दिनेश ज्ञवाली र रामप्रसाद भण्डारीसँग ७/७ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको छ।

भिजिट भिसामा युवाहरूलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा ९ जना अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध मुद्दा दायर भएको थियो।


उनीहरुले सरकारी कागजात तथा छाप कीर्ते गरेको भन्दै ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिवानाको माग गरिएको थियो। यस्तै संगठित अपराधको कसुरमा ५ वर्षसम्म कैद र ५ हजार रुपैयाँ जरिवानको माग गरिएको छ।

यस्तै आन्तरिक राजश्व विभागमा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उनीहरुविरुद्ध मुद्दा चलाउने तयारी छ।

यही माघ १८ गते जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते गरी संगठित अपराध गरेको आरोपमा फरार रहेका १२ जनासहित २२ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। 

मंसिर १८ मा अध्यागमन अधिकृत नरवीर खड्कालाई सरकारी कागजात किर्ते गरी नेपाली नागरिकलाई भिजिट भिसामार्फत विदेश पठाउने गिरोहमा सक्रिय रहेको आरोपमा अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो।
 



Related News


यसमा तपाइको मत


Comments