24 Baishak, 2081 / 6 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

 आज महाशिवरात्रि, यस्तो छ पशुपतिनाथमा दर्शनको व्यवस्था




 आज महाशिवरात्रि, यस्तो छ पशुपतिनाथमा दर्शनको व्यवस्था

काठमाडौं, २७ फागुन । आज महाशिवरात्रि पर्व शिवको विधिपूर्वक पूजा–आराधना गरेर देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गइ पूजा–आराधना गर्छन् । शिवको विधिपूर्वक पूजा, आराधना, दर्शन गरे सुख शान्ति र मृत्युपछि सद्गति प्राप्त हुने हिन्दू धर्मावलम्बीहरूको विश्वास रहेको छ।

आज काठमाडौंको पशुपतिका साथै नौलोगाउँ बझाङ, कैलाशमाडौँ बाजुरा, नर्वदेश्वर ओखलढुङ्गा, महोत्तरीको जलेश्वर, भक्तपुरको अनन्त लिङ्गेश्वर, काठमाण्डौ डिल्लीबजारको वसन्तेश्वर, जयबागेश्वरीको महामृत्युञ्जय, अमालकोट कचहरीको खञ्जनेश्वर, लुभुको गोभ्रातेश्वर, सुनाकोठीको भृङ्गारेश्वरलगायतका शिवालयमा विशेष उत्सवका साथ यो रात पूजा आराधना हुन्छ ।

शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेख गरिएको छ ।

फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीन–दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।

आज हरेक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाइ भजन–कीर्तनका साथ त्यसै आगोमा प्रसाद बनाइ ग्रहण गरिन्छ ।    
बिहान ४ बजेदेखि नै पशुपतिका चार ढोका खुल्ला
यसैबिच पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको कोषका सदस्य सचिव डा। प्रदीप ढकालले बताए । तीन वर्षअघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको थियो । यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ । यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले समातेर कारवाही गर्ने उनले बताए ।

महाशिवरात्रिका अवसरमा बिहीबार बिहान ४ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको कोषले जनाएको छ । यस वर्ष कोरोना महामारीको जोखिम कायमै रहेकाले आठ लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्र पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ । विगत वर्षमा महाशिवरात्रिका दिन १० लाखभन्दा बढी भक्तजन पशुपति क्षेत्रमा पुग्ने गरेका थिए ।

पशुपति दर्शनका तीन बाहिरी लाइन

यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि तीनवटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति, हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, बत्तिसपुतली–गौशाला, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल–तिलगङ्गा, पिङ्गलास्थान–सुमार्गीभवन अगाडिबाट चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोका हुँदै दक्षिणढोकाबाट दुई लाइन गरी बाहिरी रुपमा पशुपति मूल मन्दिर परिसर प्रवेश गर्नसक्ने व्यवस्था गरिएको जनाएको छ ।

अर्को लाइन पश्चिममा वनकाली ओरालो हुँदै जुत्ताचप्पल कक्षबाट मूल मन्दिर प्रवेश गर्न सकिने गरी व्यवस्थापन गर्ने योजना बनाइएको कोषका सदस्य सचिव डा। प्रदीप ढकालले जानकारी दिए । आवश्यकताअनुसार तिलगङ्गा राममन्दिरतर्फ समेत एक लाइन व्यवस्था गर्न सकिने छ ।

मूल मन्दिर परिसरभित्र प्रवेश गरिसकेपछि भने उत्तर र दक्षिणबाट तीन÷तीन र पश्चिमबाट चार वटा भित्री लाइन व्यवस्थापन गर्न लागिएको छ ।
दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरी पारी, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ ।




यसमा तपाइको मत


Comments