09 Ashwin, 2080 / 26 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

News


संविधानसभा अध्यक्ष नेम्वाङलाई राष्ट्रिय सम्मान दिने सरकारको निर्णय

संविधानसभा अध्यक्ष नेम्वाङलाई राष्ट्रिय सम्मान दिने सरकारको निर्णय


काठमाडौं, २६ भदौ ।  संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले राष्ट्रिय सम्मान दिने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
उनको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णयसमेत मन्त्रिपरिषद बैठकले गरेको छ । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद नेम्वाङको आज बिहान निधन भएको हो । नेम्वाङका छोराहरु विदेशमा भएकाले उनीहरु फर्किएपछि मात्र अन्त्येष्टि गरिने जनाइएको छ ।
 


एमाले उपाध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्वाङको निधन

एमाले उपाध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्वाङको निधन


काठमाडौं, २६ भदौ । प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ। हृदयघातका कारण मंगलबार राति करिब २ बजे उनको निधन भएको हो। बालुवाटरस्थित निवासमा हृदयघात भएपछि उनलाई महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो। अस्पतालमा पु¥याउँदा उनको निधन भइसकेको चिकित्सकले बताएका छन्। नेम्वाङ संविधानसभा अध्यक्ष समेत हुन्। नेम्वाङ २००९ फागुन २८ गते इलाममा जन्मिएका थिए। गएको मंसिर ४ गते भएको निर्वाचनमा उनी इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।

नेम्वाङ इलामबाट पाँच पटक विजयी भएका थिए। २०४८ सालदेखि २०५२ सालसम्म राष्ट्रिय सभाका सांसद बनेका नेम्वाङ २०६३ सालमा पहिलोपटक सभामुख बनेका थिए। नेम्वाङ अन्तरिम संसदमा समेत सभामुख  थिए।

पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख बनेका नेम्वाङकै कार्यकालमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो।

नेम्वाङले इलाम क्याम्पसमा पढ्दादेखि नै कम्युनिष्ट राजनीति सुरु गरेका थिए। अनेरास्ववियुमा आवद्ध भएर २०२९ सालदेखि उनी कम्युनिस्ट राजनीति सुरु गरेका थिए। २०३३ सालमा राजद्रोह मुद्दामा उनी जेल समेतपरेका थिए।

नेम्वाङ २०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य बनेका थिए। उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भएका थिए।

उनी जनआन्दोलन ०६२– ०६३ सँगै पुनः स्थापित संसदको सभामुख बनेका थिए। 

वरिष्ठ अधिवक्ता समेत रहेका नेम्वाङले नेपाल ल क्याम्पसमा पढाएका थिए। उनले प्रध्यापन, कानुन व्यवसाय र राजनीतिलाई एकसाथ अघि बढाएका थिए।  नेम्वाङ नेपाल बार एसोसिएसनको पूर्व महासचिव समेत हुन्।
 


गृहका १० सहसचिवको सरुवा, ६ सीडीओ फेरिए

गृहका १० सहसचिवको सरुवा, ६ सीडीओ फेरिए


काठमाडौं , २५ भदौ ।  गृह मन्त्रालयले १० जना सहसचिवको सरुवा गरेको छ। गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुखसहित १० सहसचिवको सरुवा गरेको हो।

विभागको महानिर्देशकमा गृह मन्त्रालयका रुद्रसिंह तामाङलाई पठाएको छ। विभागमा यसअघि महानिर्देशक रहेका झलकराम अधिकारी सुन प्रकरणमा मुछिएपछि त्यहाँबाट उनलाई हटाइएको थियो।

तामाङको स्थानमा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा गृह मन्त्रालयमा कार्यरत सहसचिव जयनारायण आचार्यलाई लगिएको छ।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव रामबन्धु सुवेदीलाई दाङको प्रमुख जिल्ला अधिकारी बनाइएको छ। उनको स्थानमा दैलेखका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाललाई ल्याइएको छ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई गृहले मन्त्रालय वा अन्तर्गत ल्याएको छ भने त्यहाँ गृह मन्त्रालयका सहसचिव गणेश अर्याललाई पठाइएको छ। यस्तै, महोत्तरीका प्रजिअ दीपककुमार पहाडीलाई गृह मन्त्रालयमा ल्याइइँदै त्यहाँ मन्त्रालयका सहसचिव शिवराम गेलाललाई पठाइएको छ।

त्यस्तै भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई गृह मन्त्रालयमा सरुवा गर्दै भक्तपुरमा बागलुङकी प्रजिअ रोशनीकुमारी श्रेष्ठलाई ल्याइएको छ।
 


रुस लागे किम जोङ उन 

रुस लागे किम जोङ उन 


एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उन आफ्नो बख्तरबन्द रेलमा रुस प्रस्थान गरेका छन् । दक्षिण कोरियाली मिडियालाई उद्धृत गर्दै सीएनएनले किम जोङ रुसको भ्लादिभोस्ताेक सहर प्योङयाङको भ्रमण गर्ने जनाएकाे छ ।

कोरोनापछि किम जोङको यो पहिलो विदेश यात्रा हाे । अमेरिकी अधिकारीका अनुसार यस अवधिमा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग हतियार आपूर्ति र युक्रेन युद्धमा सैन्य सहयोगका विषयमा कुराकानी गर्नेछन् ।

सेप्टेम्बर १० देखि १३ सम्म हुने इस्टर्न इकोनोमिक फोरममा भाग लिन दुवै नेताले भ्लादिभोस्तोकस्थित सुदूर पूर्वी संघीय विश्वविद्यालयको क्याम्पसकाे भ्रमण गर्नेछन्। अधिकारीहरुका अनुसार किम जोङले रुसको प्रशान्त महासागर फ्लीटको नेभल बेस पियर ३३ को भ्रमण पनि गर्न सक्नेछन् ।
 


क्यानडा पठाइदिन्छु भन्दै १० लाख ठगी गर्ने युवक पक्राउ

क्यानडा पठाइदिन्छु भन्दै १० लाख ठगी गर्ने युवक पक्राउ


काठमाडौं, २५ भदौ । क्यानडा पठाइदिन्छु भन्दै १० लाख रूपैयाँ ठगी गर्ने एक युवक पक्राउ परेका छन्। झापा गौरादह नगरपालिका-७ घर भई कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने २४ वर्षीय सुजन पुरी पक्राउ परेका हुन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आइतबार साँझ कागेश्वरी मनोहरा नगरपालिका-१ बाट पक्राउ गरेको हो। पुरीविरूद्ध भूमिराज राईले क्यानडा पठाइदिन्छु भन्दै पटक-पटक गरी १० लाख रूपैयाँ ठगी गरेको वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए।

वैदेशिक रोजगारी विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्राचार गरेपछि पुरीलाई पक्राउ गरिएको प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए। पुरीलाई पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाएको एसपी रेग्मीले बताए। 


कोरोना पीडितका लागि आएको रकम  अनियमितता गरेको आरोप 

कोरोना पीडितका लागि आएको रकम अनियमितता गरेको आरोप 


रौतहट, २५ भदौ । नेपाल सरकारले कोरोना पीडित जनतालाई सहयोग गर्न दिएको अनुदान रकममा अनियमितता भएको स्थानीयले आरोप लगाएका छन् ।

परोहा नगरपालिकाले २ बर्ष आगाडी करोना पीडितलाई सहयोग रकम वितरण गर्न एक सहकारी संस्थालाई  दिएपनि हालसम्म सबै जनालाई वितरण नगरेपछि अनियमितता नै भएको दाबी गरेका छन् । नेकपा माओवादीका नेता तथा परोहा नपा वडा नम्बर ४ का वडा प्रत्यासि अमिन्द्र यादवले दिएको जानकारी अनुसार पालिकामा क वर्गको प्रभु बैंक परोहा शाखा हुँदाहुँदै पनि काखापाखा गर्ने मनलाग्दी गर्ने नियतले पुजनिय सहकारी संस्थाको खातामा रकम पठाई नगर प्रमुख शेख वकिलले नियतबस भ्रष्टाचार गर्न खोजेको आरोप लगाएका छन् । 

नगरप्रमुख शेख वकिल र पुजनिय सहकारी संस्थाले रकम हिनामिना गर्न खोजेको आरोप लगाउँदै स्थानीय  युवा ईन्जिनियर सतेन्द्र प्रसाद यादवले बुधवार सम्म सबै करोना पिडितलाई रकम वितरण नगरे नगरपालिका घेराउ गर्ने सामाजिक सञ्जालमार्फत चेतावनी समेत दिएका छन् ।

नगरप्रमुख शेख वकिल र पुजनिय सहकारी संस्थालाई करोना पीडित जनताको लागि आएको सहयोग समयमा वितरण गर्नु पर्दछ नियत भएको भए २ वर्ष देखि पकै रोकेर राख्दैन थिए नेता यादवले बताए ।

परोहा नगरपालिकालाई  नेपाल सरकारले करोना पिडितलाई सहयोग गर्न ससर्त अनुदान शिर्षकमा ९० लाख रुपैया पठाएको र रकम फ्रिज नहोस भनी सहकारी संस्थाको खाता रकम पठाउन लगाएको नगर प्रमुख शेख वकिलले बताए । सबै वडामा रकम बितरण भई रहेको दाबी गर्दै अब ३० लाख रुपैयाँ मात्र वितरण गर्न बाँकी रहेको बताए ।

वडाको सिफारिसमा नगरपालिकाले उक्त रकम वितरण गर्न निकै कठिनाई भएको र चुनाव बिचमा परेका कारण पनि आफुले बदनाम हुने डरले केही समय रकम रोकेर राखेको नगर प्रमुख शेख वकिलले स्विकार गरेका छन् ।


वैदेशिक रोजगारी: श्रमिक र उनीहरूले भोग्नुपरेका समस्या समाधानमा केन्द्रित अन्तरक्रिया शुरु 

वैदेशिक रोजगारी: श्रमिक र उनीहरूले भोग्नुपरेका समस्या समाधानमा केन्द्रित अन्तरक्रिया शुरु 


काठमाडौं, २५ भदौ । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक तथा कामदारहरू र उनीहरूले भोग्नुपरेका समस्या र त्यसको समाधानमा केन्द्रित रहेर २ दिने उच्चस्तरीय अन्तरक्रिया सोमबारबाट शुरू भएको छ । अन्तरक्रियामा सरोकारवाला मन्त्रालयका मन्त्री र सचिवज्यूहरू, विदेशस्थित विभिन्न १३ देशका महामहिम नेपाली राजदूतहरू र कुटनीतिज्ञहरू उपस्थित छन् । अन्तरक्रियामा मागपत्र प्रमाणिकरण, जाँचबुझमा रहेका समस्या, वैदेशिक रोजगारीमा हुने ठगी, कार्यस्थलमा श्रमिकले भोगेका समस्या, मानव तस्करीको समस्या, विदेशमा रहेका कागजातविहीन नेपाली श्रमिकका समस्या, फ्रि भिषा फ्रि टिकटको अवस्था र समस्या, इ–भिसा, सिजनेवल भिसाका समस्या, नेपाली कुटनीतिक नियोगको प्रभावकारिता लगायत श्रम आप्रवासनलाई सुरक्षित, मर्यादित र विश्वासनीय बनाउने विविध विषयमा छलफल भइरहेको छ। यस उच्चस्तरीय अन्तरक्रियाले श्रम बजार व्यवस्थित गर्न र विदेशमा रहनुभएका नेपाली श्रमिक तथा कामदारहरूका समस्या सम्बोधन गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।


नेपालगञ्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ, अर्का कर्मचारी फरार

नेपालगञ्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ, अर्का कर्मचारी फरार


काठमाडौं, २५ भदौ ।  बाँके नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको रु.२६ लाखसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत  कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन् ।

विमानस्थलमा जाँचका क्रमममा सापकोटाले बोकेको झोलाबाट स्रोत नखुलेको उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिएका छन् ।

कर अधिकृत सापकोटाका साथमा रहेका तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमै कार्यरत दिपक पौडल भने फरार भएको उनले बताए । उक्त रकम लिएर सापकोटा श्री एयरलाइन्सको उडानबाट नेपालगञ्जदेखि काठमाडौँ जाँदै थिए । सापकोटालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
 


नेपालका श्रम गन्तव्य देशका नेपाली राजदूत र कूटनीतिक नियोग प्रतिनिधिहरूबीच बैठक बस्दै

नेपालका श्रम गन्तव्य देशका नेपाली राजदूत र कूटनीतिक नियोग प्रतिनिधिहरूबीच बैठक बस्दै


काठमाडौं, २५ भदौ । नेपालका श्रम गन्तव्य देशका नेपाली राजदूत र कूटनीतिक नियोग प्रतिनिधिहरूको बैठक आजबाट सुरु हुँदै छ । काठमाडौंमा आज र भोलि दुई दिन चल्ने बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएका हुन् । प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार बैठक श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने, मानव तस्करीलाई कसरी रोक्ने भन्ने विषयमा केन्द्रित हुनेछ ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ । 

प्रधानमन्त्री प्रचण्डले अध्यक्षता गर्ने बैठकमा श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरूको सक्रिय सहभागिता रहने छ ।
 


सदिक्षा ओभरसिस प्रा.लिको १६ औं वार्षिकोत्सवमा खाद्यान्न वितरण

सदिक्षा ओभरसिस प्रा.लिको १६ औं वार्षिकोत्सवमा खाद्यान्न वितरण


न्यूज आजको संवाददाता
काठमाठौं, २५ भदौ ।
काठमाडौं सामाखुसीमा रहेको सदिक्षा ओभरसिस प्रा.लि.ले आफ्नो १६ औं वार्षिकोत्सवको अवसरमा खाद्यान्न वितरण गरेको छ । 

संस्थाले बानेश्वरस्थित विवेक स्वच्छ सेवा केन्द्रमा पुगेर खाद्यान्नका साथै भोजन वितरण गरेको हो । सो अवसरमा ओभरसिसका सञ्चालक दिपक थापाले उक्त केन्द्रलाई खाद्यान्न हस्तान्तरणका साथै भोजन वितरण गरेका थिए । यस्तै संस्थालाई नगद रकम समेत हस्तान्तरण गरिएको छ । 

सदिक्षा ओभरसिसले आफ्नो स्थापना वर्षको अवसरमा हरेक वर्ष सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । 

समाजसेवी एवं म्यानपावर व्यवसायी थापाले विगतमा पनि विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएको छन् । कोरोना महामारीको समयमा थापाकै संयोजकत्वमा टोखाका दुई सय घरपरिवारलाई राहत वितरण गरिएको थियो ।

द फस्ट जेनेरशनका संस्थापक समेत रहेका व्यवसायी थापाले आफ्ना स्वर्गीय बुबा टेकबहादुर थापाको पुण्यतिथिको अवसरमा विपी स्टडी युथ सर्कललाई नगद २५ हजार रुपैयाँ सहयोग गरेका थिए ।  यस्तै थापाले ‘हाम्रो युवा नेपाल’लाई नगद पाँच हजार रुपैयाँ सहयोग गरेका थिए । थापाले विगतमा थुप्रै संघसंस्थालाई सहयोग गर्दै आएका छन् ।
 



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom