09 Ashwin, 2080 / 26 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

News


नेम्वाङको अन्त्येष्टिअघि शवयात्रा, यस्तो छ रुट

नेम्वाङको अन्त्येष्टिअघि शवयात्रा, यस्तो छ रुट


काठमाडौं, २७ भदौ । नेकपा (एमाले)का उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि भोलि (बिहीबार) बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ गरिँदै छ । 
अन्त्येष्टिअघि शवयात्रा गरिने एमालेले जनाएको छ । शवयात्राको रुट उनको निजी निवास बालुवाटार–शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाट रहेको एमाले प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए । 
नेम्वाङको पार्थिव शरीर मंगलबार दिउँसोदेखि बुधबार दिउँसो १ बजेसम्म पार्टी कार्यालय च्यासलमा राखिएको थियो । अहिले उनको पार्थिव शरीर निजी निवास बालुवाटारमा राखिएको छ ।


गौहत्याको विरोधमा राप्रपाको शक्ति प्रदर्शन

गौहत्याको विरोधमा राप्रपाको शक्ति प्रदर्शन


२६ भदौ । राप्रपाले विभिन्न माग राखेर शक्ति प्रदर्शन गरेको छ । गौहत्या विरोध र हिन्दू राष्ट्र, राजसंस्था पुनर्स्थापना, तथा संघीयता खारेजीको मागसहित राप्रपाले बुधबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको हो ।
भृकुटीमण्डपमा जनप्रदर्शन तथा विरोध सभा आयोजना गरिएको छ भने यसअघि विभिन्न स्थानबाट झाँकीसहित र्‍याली निकालिएको छ । सभालाई शीर्षनेताले सम्बोधन गर्ने कार्यक्रम छ ।
 


नेम्वाङको पार्थिव शरीर घर लगियो

नेम्वाङको पार्थिव शरीर घर लगियो


काठमाडौं, २७ भदौ । नेकपा एमालेका उपाध्यक्ष एवम् संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई घर लगिएको छ । ललितपुरको च्यासलमा रहेको एमाले पार्टी केन्द्रीय कार्यालयमा राखिएको उहाँको पार्थिव शरीरलाई बालुवाटारमा रहेको निवासमा लगिएको हो । निवासमा पारिवारिक तथा धार्मिक संस्कारअनुसार उहाँका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ । 
मंगलबार बिहान हृदयघातका कारणले निधन हुनुभएका नेता नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्नका लागि उनको पार्थिव शरीर मंगलबार दिउँसोदेखि आज बुधवार दिउँसो १ बजेसम्म एमाले पार्टी कार्यालयमा राखिएको थियो ।
पार्टी कार्यालयमा श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल र डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलगायत नेता तथा कार्यकर्ता एवम् सर्वसाधारण पुगेका थिए ।

नेम्वाङको अन्त्येष्टि बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने भएको छ ।
 


किम र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

किम र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता


एजेन्सी ।  उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच साइबेरियाको अमुर क्षेत्रको रुसी अन्तरिक्ष केन्द्रमा भेट भएको छ । यो केन्द्र भ्लादिभोस्तकबाट करिब एक हजार किलोमिटर टाढा छ ।

नेता किम कालो लिमोजिनमा कस्मोड्रोमको रकेट प्रक्षेपण गर्ने भवनमा आइपुग्दा राष्ट्रपति पुटिनले स्वागत गरेका थिए । दुवै नेताले मुस्कुराउँदै हात मिलाए र केही शब्दहरू आदान प्रदान गरे । क्रेमलिनको आधिकारिक टेलिग्राम च्यानलमा पोस्ट गरिएको भिडियोमा दुई नेताले हात मिलाउँदै गरेको देखिन्छ ।

नेता किमले राष्ट्रपति पुटिनलाई उनको व्यस्त कार्यतालिकाका बाबजुद पनि भ्रमणका निम्ति निमन्त्रणा गरेकोमा धन्यवाद व्यक्त गरे। यसबाट उत्तर कोरिया र रुसबीचको रणनीतिक सम्बन्ध र दुवै देशका समान प्राथमिकता प्रतिबिम्बित भएका उनले उल्लेख गरे ।
 


सुन काण्डमा ५० जनालाई मुद्दा चलाउन सीआईबीको राय

सुन काण्डमा ५० जनालाई मुद्दा चलाउन सीआईबीको राय


काठमाडौं, २७ भदौ । ६१ किलो सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ५० जनालाई प्रतिवादी बनाउन जिल्ला सरकारी वकिल कार्यालयलाई राय दिएको छ । सीआईबीका अनुसार प्रकरणमा हालसम्म २३ नेपाली र ९ विदेशी पक्राउ परेका छन् । १४ विदेशी र ४ नेपाली अझै फरार रहेको सीआईबी प्रमुख किरण बज्राचार्यले बताइन् । 
उनका अनुसार पक्राउ परेकाविरुद्ध भन्सार ऐनअन्तर्गत अवैध सुन पैठारी र संगठित अपराध, नागरिकता सम्बन्धी ऐन, राहदानी ऐन, अध्यागमन ऐन सम्बन्धी कसुरको कारबाही अगाडि बढाउन राय दिइएको छ । सीआईबीले ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ को बिगो कायम गरेर मुद्दा अघि बढाउन राय दिएको उनले जानकारी दिइन् । 
प्रकरणमा भन्सार एजेन्ट र सुन व्यापारीसमेत मुछिएका छन् । सङ्गठित अपराध कसुरमा म्याद थप गरेर सीआईबीले घटनाको अनुसन्धान गरेको थियो । उक्त प्रकरणमा प्रहरीले अनुसन्धानका लागि ६० दिन म्याद पाउँछ । यही भदौ ३१ गते ६० दिन पुग्ने भएकाले सो मितिसम्ममा मुद्दा अदालतमा पुर्‍याइसक्नुपर्ने हुन्छ ।
त्यसैले सरकारी वकिललाई तीन दिन मिसिल अध्ययन गर्न समय बाँकी हुन्छ । गएको साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङ्कङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो ।
विभागले आवश्यक अनुसन्धान सकेर १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई दिएको थियो । ब्रेक शुसहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम फेला परेको थियो । सुन अहिले राष्ट्र बैंकको संरक्षणमा छ । 


६१ किलो सुन तस्करी प्रकरणः सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाइँदै 

६१ किलो सुन तस्करी प्रकरणः सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाइँदै 


काठमाडौं, २७ भदौ । झण्डै ६१ किलो सुन तस्करीबारेको अनुसन्धान प्रतिवेदन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने भएको छ ।
लामो समयको अनुसन्धान सकेर(सिआइबी)ले सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने भएको हो ।
सरकारी वकिलमा बुझाउने रायसहितको अनुसन्धान प्रतिवेदन लेखन कार्य हिजो बेलुका सकिएकाले आज बुझाउने तय भएको सिआइबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिइन् ।
आरोपीविरुद्ध सङ्गठित अपराध, सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउने राय दिने सिआइबीको तयारी छ । सङ्गठित अपराध कसुरमा म्याद थप गरिएकाले त्यसको अनुसन्धानको मिति ६० दिनको हुन्छ ।

यही ३१ गते ६० दिन पुग्ने भएकाले यो मितिसम्ममा मुद्दा अदालतमा पुर्‍याइसक्नुपर्ने हुन्छ । त्यसैले सरकारी वकिललाई तीन दिन मिसिल अध्ययनको समय पाउने गरी आज प्रतिवेदन बुझाउने मिति तय गरिएको हो।

सुन तस्करी प्रकरणमा अहिलेसम्म प्रहरीले ३१ जनालाई पक्राउ गरेको थियो । तर, स्वास्थ्यका कारण एक जना हिरासत बाहिर छन् भने ३० जना प्रहरीको हिरासतमा नै छन् । पक्राउ परेकामा भन्सार कार्यालयका कर्मचारीसहित, भारती र चिनियाँ नागरिक पनि  छन् ।

गएको साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको सुन सिनामङ्गलमा रहेको भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो ।

विभागले आवश्यक अनुसन्धान सकेपछि १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई दिएको थियो । ब्रेक शुसहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम फेला परेको थियो ।


नेम्वाङ निधनको शोकमा बिहीबार सार्वजनिक बिदा

नेम्वाङ निधनको शोकमा बिहीबार सार्वजनिक बिदा


काठमाडौं, २६ भदौ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।

सोमबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जानकारी दिएको छ ।


 


च्यासल पुगेर प्रधानमन्त्रीसहित शीर्ष नेताहरुले नेम्वाङलाई दिए श्रद्धाञ्जली(फोटोफिचर)

च्यासल पुगेर प्रधानमन्त्रीसहित शीर्ष नेताहरुले नेम्वाङलाई दिए श्रद्धाञ्जली(फोटोफिचर)


काठमाडौं, २६ भदौ ।  नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रद्धाञ्जली दिएका छन् । 
एमाले पार्टी कार्यालय च्यासल पुगेर प्रधानमन्त्रीले नेम्वाङलाई श्रद्धाञ्जलीको फूल चढाएका हुन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि च्यासल पुगेर नेम्वाङलाई श्रद्धाञ्जली दिएकी छन् । 
यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीसहित कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेसपाका अध्यक्ष डा बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, झलनाथ खनालले पनि च्यासल पुगेर नेम्वाङलाई श्रद्धाञ्जली दिएका छन् ।
यस्तै गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायतका शीर्ष नेताका साथै विभिन्न दलका नेताहरु र शुभेच्छुकले नेम्वाङलाई श्रद्धाञ्जली दिएका छन् । 


नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्न प्रधानमन्त्रीको निर्देशन

नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्न प्रधानमन्त्रीको निर्देशन


काठमाडौं, २६ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विदेशस्थित नेपाली दूतावासका राजदूतहरूलाई नेपाली श्रमिक तथा कामदारको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिनुभएको छ।
श्रम आप्रवासन सम्बन्धी समस्या र तिनको समाधान सम्बन्धी दुई दिवसीय अन्तरक्रियामा बोल्दै प्रधानमन्त्रीले विदेशमा रहेका नेपाली कामदारहरूले अनेकन समस्या झेल्नुपरेकोमा ध्यानाकर्षण गराउँदै उक्त निर्देशन दिनुभएको हो।
सरकारले पहिलोपटक विदेशस्थित नेपाली राजदूतहरूलाई बोलाएर नेपाली श्रमिक तथा कामदारहरूले भोग्नुपरेका समस्या र कठिनाइहरूबारे छलफल गरेको हो। कार्यक्रममा राजदूतहरूले आफ्नो रिपोर्ट राख्नुका साथै आगामी कार्ययोजनासमेत निर्माण गरिएको छ।
प्रधानमन्त्री प्रचण्डले अन्तरक्रियामा राजदूतहरूले उठाउनुभएका विषयहरू सम्बोधन गर्दै निर्देशित गर्नुभएको छ। सम्बोधनमा प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय कुटनीतिक सम्बन्ध, नेपालको पर्यटन प्रवद्र्धन र विदेशमा कार्यरत नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्न जोड दिनुभएको हो।

प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलोपटक गन्तव्य मुलुकहरूका राजदुतहरूसँग छलफल कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्दछु। नेपाली श्रमिक तथा कामदारहरूको सुरक्षित र मर्यादित आप्रवासनमा यस प्रकारको छलफलले महत्वपूर्ण योगदान गर्ने मैले विश्वास लिएको छु।

पछिल्लोसमय आन्तरिक रोजगारीमा देखापरेको अप्ठ्यारो अवस्थामा वैदेशिक रोजगारीले देशको युवा जनशक्तिलाई रोजगारी सिर्जनाको क्षेत्रमा सहयोग पु¥याएको छ। र, मुलुकको भुक्तानी सन्तुलनमा सहयोग लगायत पुँजी, सीप र प्रविधिले नेपालको विकासमा महत्वपूर्ण योगदान गर्नुका साथै नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र मित्रतामा समेत सहयोग पुगेको छ।

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरू ठगीमा पर्ने, मानव अधिकारको प्रत्याभूति र समयमै राहत उद्धार हुन नसक्नु र कार्यस्थलका विभिन्न प्रकारका जोखिममा पर्नु लगायतका समस्याहरूको सामना गरिरहेका छन्, यसको सम्बोधन हाम्रो गम्भीर चासोको विषय रहेको छ।

समग्र नेपालीको हकहित संरक्षण हुने, न्यूनतम सेवा सुविधाको प्रत्याभूति हुने, सामाजिक सुरक्षाको सुनिश्चितता र गुनासो सुनुवाइको प्रभावकारी संयन्त्र विकास गर्दै श्रम आप्रवासनलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्न पनि श्रम कुटनीतिलाई थप प्रभावकारी बनाउनु पर्दछ।

कुनै पनि नेपाली नागरिक विदेशी भूमिमा समस्यामा परेको बेला कुटनीतिक नियोगहरूले गुनासो सुन्ुवाई गरेनन् भन्ने अवस्थाको अन्त्य गर्न यहाँहरूको ध्यान जानेछ । म परराष्ट्र मन्त्रालय, राजदुत र श्रम प्रशासनसँग सम्बद्ध सबै निकायहरूलाई नेपालीको हकहितको लागि गम्भीर भएर क्रियाशील हुन निर्देशित गर्दछु।

हामीले एकातिर देशभित्रै आन्तरिक रोजगारीको अवसरहरूमा बृद्धि गर्नुपर्नेछ भने अर्कोतर्फ वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्नुपर्नेछ।

मुलुकको समृद्धिका लागि श्रम क्षेत्रको भूमिका महत्वपूर्ण रहन्छ नै, आर्थिक कुटनीतिलाई पर्याप्त ध्यान दिनुपर्दछ। मुलुकको समृद्धिमा योगदान हुने गरी वाह्य लगानी अभिबृद्धि तथा नेपाली उत्पादनको बजारीकरणमा समेत यहाँहरूले पर्याप्त ध्यान दिनुहुनेछ।

नेपालमा पर्यटन विकासमा प्रचुर सम्भावना हुँदाहुँदै पनि हामीले यसको पर्याप्त लाभ लिन सकेका छैनौँ। तसर्थ, विदेशी पर्यटकको आगमन वृद्धिका लागि नेपालको पर्यटन प्रवद्र्धन गर्ने कार्यमा समेत तपाईहरूले महत्वपूर्ण भूमिका खेल्नुहुनेछ।

व्यापार घाटा नेपालको अर्थतन्त्रको ठूलो चुनौतीका रूपमा रहिआएको छ। देशगत तथा वस्तुगत व्यापार विविधिकरण गरी व्यापार सन्तुलनलाई मुलुकको पक्षमा कायम गर्नुपर्ने भएको छ। यसमा यहाँहरूको सक्रिय भूमिका रहनुपर्दछ।

हामीले नेपालीको हकहितलाई ध्यानमा राखेर वैदेशिक मुलुकसँग भएका श्रम सम्झौताहरूलाई पुनरावलोकन गर्न श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय र राजदुतहरूले तत्काल प्राथमिकतामा राखी कार्य गर्नुहुनेछ।

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई प्रदान गरिने सबै प्रकारका कन्सुलर सेवाहरूलाई सूचना प्रविधिमा आधारित बनाउँदै सहज र प्रभावकारी रूपमा सेवा प्रवाह गर्न निर्देशन दिन्छु।

वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने कार्य सुरूवात भइसकेको छ। यसलाई प्रभावकारी गराउँदै गन्तव्य मुलुकमा समेत उपलब्ध सामाजिक सुरक्षाका योजनाहरूमा श्रमिक आवद्ध हुने व्यवस्था मिलाउन प्रभावकारी भूमिका खेल्नुपर्दछ। केही समयभित्रै विदेशमा रहेका सम्पूर्ण श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने सरकारको लक्ष्य रहेकोमा उक्त लक्ष्य हासिल गर्न क्रियाशील रहन सम्पूर्ण राजदूतज्यूहरूमा निर्देशित गर्दछु।

दुईपक्षीय श्रम सम्झौता पुनरावलोकन र विस्तार, मागपत्रको प्रमाणीकरण, कानुनी प्रतिरक्षा, घरेलु कामदारसँग सम्बन्धित समस्याको सम्वोधन, सुरक्षित आवास, अभिलेख नभएका श्रमिकहरूको अभिलेखीकरण लगायतका विषयमा तत्काल कार्ययोजना बनाई यहाँहरूले कार्यप्रारम्भ गर्नुहुनेछ।

विदेशस्थित नेपाली दूतावासको कार्यक्षमताको कमि, साधनस्रोतको अभाव र नेपाली श्रमिकहरूको उद्दारका लागि समेत कठिनाइ भएका लगायतका विषय गम्भीर छन्। यस अन्तरक्रियामा महामहिम राजदूतज्यूहरूले जे–जति विषयहरू उठाउनुभएको छ, ती सबै विषयहरू मैले गम्भीरतापूर्वक सुनेको छु, महत्वका साथ टिपोट पनि गरेको छु। यी विषयहरूलाई सरकारले गम्भीरतापूर्वक लिई समस्या समाधानको पहल गर्नेछ। हिजो र आजको छलफलबाट हामी केही महत्वपूर्ण विषयमा निष्कर्षमा पुगेका छौँ। यस विषयहरूलाई सबै निकाय र पदाधिकारीहरूले पूर्णरूपमा कार्यान्वयनमा लैजान निर्देशित गर्दछु।

यस अन्तरक्रियामा उठेका विषयहरूलाई समेटेर परराष्ट्र मन्त्रालयले कार्य सम्पादन सूचक तयार गरी कार्य सम्पादन सम्झौता हुने प्रवन्ध मिलाउनु हुनेछ। परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय तथा नेपाल सरकारका मुख्यसचिवबाट आवश्यक समन्वय तथा नियमित रूपमा अनुगमन र सुपरीवेक्षण गरी प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। त्यसका आधारमा सरकारले समग्र मूल्यांकनसहित कार्ययोजना बनाएर अगाडि बढ्नेछ।

श्रम गन्तव्य मुलुकमा रहेका तपाई राजदुतहरू तथा यहाँ रहेका मन्त्रालय तथा निकायहरूबीच यस प्रकारको अन्तरक्रियाले श्रम आप्रवासनमा रहेका समस्या सम्वोधन गर्न महत्वपूर्ण सहयोग पुग्नेछ। आगामी दिनमा समेत यस प्रकारको अन्तरक्रियालाई निरन्तरता दिनेछौँ।

अन्त्यमा, दुई दिवसीय अन्तरक्रियाले विदेशमा रहेका नेपाली श्रमिकहरूका समस्या समाधान गर्न, नेपालको कुटनीतिक क्षमतालाई सुदृढ र बिस्तार गर्न, देशभित्र विदेशी लगानीको वातावरण सिर्जना गर्न एवं नेपालको बहुआयमिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दछु, धन्यवाद।

All reactions:

319Madan Bhul and 318 others


नेम्वाङको निधनमा एमालेले तीन दिनसम्म शोक मनाउने, झन्डा आधा झुकाउने

नेम्वाङको निधनमा एमालेले तीन दिनसम्म शोक मनाउने, झन्डा आधा झुकाउने


काठमाडौं, २६ भदौ ।  नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनको शोकमा एमालेले तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ ।
पार्टी कार्यालय च्यासलमा बसेको आकस्मिक सचिवालय बैठकले पार्टीको झण्डा तीन दिन आधा झुकाउने निर्णय गरेको हो । यस्तै, पार्टी र जनवर्गीय संगठनका सम्पूर्ण औपचारिक कार्यक्रमसमेत तीन दिनका लागि स्थगित गरिएको छ । बैठकले पार्टीको तर्फबाट असोज २ गते श्रद्धाञ्जली सभाको आयोजना गर्ने निर्णय पनि गरेको छ ।
 



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom